७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर सुधारमा कमल गाउँपालिकामा नमुना अभ्यास



कमल / झापाको कमल गाउँपालिकाले सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर सुधारमा नमुना अभ्यासलाई अगाडी बढाएको छ ।

बिद्यालय तहको शिक्षालाई संविधानलेनै स्थानीय सरकार अन्तर्गत रहने व्यवस्था गरेकाले कमल गाउँपालिकाले २०७९ को वैशाखमा नयाँ नेतृत्व पाएसँगै शिक्षालाई उच्च प्राथमिकतामा राखेर सामुदायिक बिद्यालयका शैक्षिक गुणस्तरमा सुधारका प्रयासहरु अघि बढाएको हो ।

कूल २१ वटा सामुदायिक बिद्यालय रहेको कमल गाउँपालिका अन्तर्गतका सबै सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तरको समान बिकास गर्ने गरि बिद्यालय सुधारका कार्यक्रमहरु ल्याइएको गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको भनाई छ ।

अध्यक्ष राईका अनुसार पालिका भित्रका सबै सामुदायिक बिद्यालयहरुमा सीसि क्यामेरा जडान गर्ने लक्ष्य राखिएको छ ।

पछिल्लो समय सामुदायिक बिद्यालय र आसपासका क्षेत्रमा भईरहेका चोरी, लुटपाट तथा अनैतिक, अवाञ्छित गतिबिधिहरुको निगरानी गर्न र आपराधिक कृयाकलाप नियन्त्रणमा सघाउनका लागि पनि सीसि क्यामेरा जडानलाई प्राथमिकता दिइएको अध्यक्ष राईको भनाई छ ।

सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधारको मुख्य प्रतिबद्धतासहित आफू अघि बढेको बताउँदै अध्यक्ष राईले एक साता भित्रै यहाँ निर्धारित बिद्यालयहरुमा सीसि क्यामेरा जडान गरिने बताए । जडानको काम धमाधम भइरहेको छ, प्राविधिक बिषय भएकाले कतै बाँकी रहेको भए त्यो पुरा हुन्छ– अध्यक्ष राईले भने ।

शैक्षिक सत्र २०८१ को प्रारम्भसँगै यसअघि जडान नभएका माध्यमिक तहका सबै र आधारभुत तहको एउटा बिद्यालयमा सीसी क्यामेरा जडान गर्न शुरु गरिएको शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्यौपानेले बताए ।

कमल ७ स्थित सरस्वती माविका प्रधानाध्यापक रुखमान सुब्बाले सो बिद्यालयमा यसअघिनै अन्य स्रोतबाटनै सीसि क्यामेरा जडान भएकाले गाउँपालिकालाई सोको जानकारी गराइएको बताए ।

कमल ७ बिष्णुकठठस्थित सिंहदेवी आधारभूत बिद्यालयकी प्रधानाध्यापक इन्दिरा खनाल (दाहाल)ले भर्खरै बिद्यालयमा गाउँपालिकाले ७ वटा सीसी क्यामेरा जडान गरेको बताइन् ।

प्रधानाध्यापक खनालले भनिन– “गाउँपालिकाले भर्खरै सीसि क्यामेरा जडान गरिदिएको छ यसले हामीलाई कक्षा ५ भन्दा माथिका सबै कक्षाको गतिबिधि प्रत्यक्ष निगरानी गर्न सहयोग पुगेको छ । कक्षाकोठामा जडान भएका सीसि क्यामेराका कारण बिद्यार्थीको मात्रै होइन पढाउन जानुभएका शिक्षकहरुको कामको पनि मूल्याङकनमा हामीलाई सहज हुनेछ ।” गाउँपालिकाको यो योजना प्रशंसनिय भएको प्रधानाध्यापक खनालले बताइन् ।

यो सँगै गाउँपालिका भित्रका सबै बिद्यालय भवनहरुमा एकै किसिमको रंग प्रयोग गरेर सबै सामुदायिक बिद्यालयलाई आकर्षक बनाउने पालिकाको योजना छ ।

गाउँपालिका भित्रका सबै बिद्यालय भवन अब एकै रंगका हुनेछन । बिद्यालयको भौतिक पूर्वाधार बिकाससँगै शैक्षिक गुणस्तरमा पनि सुधार ल्याउने नीतिगत निर्णयको कार्यन्वयन गर्न गाउँपालिकाले पछिल्लो समय सामुदायिक बिद्यालयहरुलाई निर्देशन गरेको छ ।

गाउँपालिकाले जनप्रतिनिधि, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा पालिका मातहतका कर्मचारीले आफ्ना छोराछोरीलाई चालू शैक्षिक सत्र २०८१ देखि अनिवार्य सामुदायिक बिद्यालयमै पढाउनुपर्ने नीतिको कार्यान्वयनको अवस्थाबारे जानकारी उपलब्ध गराउन भन्दै पत्राचार समेत गरेको छ ।

गाउँपालिकाले यसअघि गत फागुनमा भएको सो सम्बन्धिको निर्णय र सोबारेको लिखित जानकारी पठाइसकिएको स्मरण गराउँदै हाल सोको कार्यान्वयनको अवस्थाबारे नामनामेशीसहित विवरण पठाउन भनेको हो ।

पालिकाले सामुदायिक बिद्यालयहरुमा विभिन्न शीर्षकमा अभिभावकहरुबाट लिदै आएको सहयोग, कक्षागत बिद्यार्थी संख्या र सोबाट प्राप्त मासिक तथा बार्षिक स्पष्ट आय व्यय विवरण, अन्य कुनै शीर्षकमा लिने गरिएको सहयोग भए सोको विवरण साथै त्यस्तो रकम उठाउने सम्बन्धिमा बिद्यालय व्यवस्थापन समितिबाट निर्णय भए नभएको खुलाउन र निर्णय भएको भए प्रमाणित समेत पठाउन सबै सामुदायिक बिद्यालयहरुलाई निर्देशन गरेको छ ।

पालिकाले जारी गरेको सर्कुलरमा अघिल्लो बर्षनै बिद्यालयका प्रत्येक कक्षामा रहेका बिद्यार्थीको अभिभावक समेतको विवरण कक्षाकोठामा फ्लेक्स प्रिन्ट देख्ने गरि १५ दिन भित्र सोको विवरण राख्न कडाइँका साथ निर्देशन गरेको शाखा प्रमुख न्यौपानेले बताए ।

त्यसैगरी गाउँपालिकाले कुनैपनि बिद्यालय वा सोको चमेना गृहबाट २०० मिटर वरपर खैनी, गुट्खा, सूर्ती तथा मदिराजन्य बस्तु र जंक फुडको किनबेचमा पूर्णरुपमा लगाइएको प्रतिबन्ध कार्यान्वयन गर्न गराउन पनि निर्देशन दिइएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ८ : ३८ बजे