६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

कोशी प्रदेशको मुख्यमन्त्रीमा अब को ? के हुन्छ ? 



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने समयावधि मङ्गलबार रातको १२ बजेपछि सकिँदैछ । उनले विश्वासको मत लिने सम्भावना अब लगभग सकिएको छ । गत चैत २६ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रले केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन र विश्वासको मत फिर्ता लिएका थिए । संविधानको धारा १८८ को उपधारा २ अनुसार त्यसदिनदेखि ३० दिनभित्र मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपर्ने थियो । प्रदेशसभाको विशेष अधिवेशनबाट गत वैशाख ७ गते संकल्प प्रस्ताव पारित गर्दै मुख्यमन्त्रीलाई संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत लिन ध्यानाकर्षण गराइसकेको छ । 

संविधानको सो उपधारामा ‘मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नु पर्नेछ,’ भन्ने उल्लेख छ । एमालेले त्यसबेलासम्म सरकारलाई समर्थन गरिरहेको थियो भने माओवादी सरकारमै सहभागी थियो ।कार्की २०८० असोज २८ गते संविधानको धारा १६८ को उपधारा (५) अनुसार मुख्यमन्त्री बनेका हुन् । त्यसबेला उनलाई एमालेका ३९ र माओवादीका ८ सांसदले समर्थन गरेका थिए । उक्त उपधारा अनुसार बनेको सरकारले पटक–पटक विश्वासको मत लिनु नपर्ने मुख्यमन्त्रीको जिकिर छ । एमाले र माओवादीले भने निर्धारित समयमा विश्वासको मत नलिएको कारण कार्की मुख्यमन्त्रीबाट स्वतः कामचलाउमा परिणत हुने दाबी गर्दै आएका छन् । त्यसै अनुसार प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आव्हान गर्नुपर्ने उनीहरूको दाबी छ ।विपक्षी दल एमाले र माओवादीले प्रदेश प्रमुखलाई नयाँ सरकार गठनको आव्हान गर्न दबाब दिइरहेका छन् । प्रदेश प्रमुखको कार्यालयले भने अहिलेसम्म के गर्ने भन्ने ठोस निष्कर्षमा नपुगेको बताइएको छ । जतिबेला जे पनि हुनसक्ने भन्ने प्रदेश प्रमुखको कार्यालयका कर्मचारीहरूलाई तयारी अवस्थामा रहन सचिव छविन्द्र पराजुलीले निर्देशन दिएको स्रोतको दाबी छ । यस्तै प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठन गर्न आव्हान गर्नुपर्ने विपक्षीहरूको दबाब बढिरहँदा मुख्य न्यायाधिवक्ताको कार्यालयलाई आवश्यक राय सुझाव माग गर्ने तयारी गरेको छ । ‘हामीले महान्यायाधिवक्ताको कार्यालयले दिने सुझावलाई नै अन्तिम मानेर जाने हो । त्यही अनुसार सुझाव माग गर्न पत्र ड्राफ्ट गरेर बसेका छौँ,’ प्रदेश प्रमुखको कार्यालय स्रोतले भन्यो, ‘त्यो पत्रका आधारमा प्रदेश प्रमुखज्यू अगाडि बढ्नुहुन्छ ।’

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ६ : २८ बजे