१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सीमाबासीसँग सशस्त्र प्रहरीका एआईजी पौडेल, गौरीगंजका एक जना छात्रालाई निशुल्क शिक्षा प्रदान गर्ने



गौरीगंज १९, चैत / सशस्त्र प्रहरी बलले सीमा क्षेत्रका बासिन्दाको समस्या र गुनासा सुन्नका लागि गौरीगंजमा सीमावासीसंग सशस्त्र प्रहरी कार्यक्रमको आयोजना गरेको छ । ‘सीमाबासीसँग सशस्त्र प्रहरी’ नामक अभियान अन्तर्गत उक्त यात्रामा सुरक्षाकर्मी र जनप्रतिनिधिहरुले सीमाका बासिन्दासँग प्रत्यक्ष अन्तर्क्रिया गरेका थिए ।
गौरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित खजुरगाछी माविको प्राङ्गणमा आज सोमवार सम्पन्न कार्यक्रमको प्रमुख अतिथि सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक नारायण दत्त पौडेल रहेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी, उपाध्यक्ष पुजन न्यौपाने कुवँर, गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदी, दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई,डिआइजी अन्जनी कुमार पोख्रेल, सशस्त्र प्रहरी बल २ नं. गणका गणपति कविन्द्र राई, नेपाल प्रहरीका प्रहरी उपरीक्षक मिलन केसी,सशस्त्र सिमा सुरक्षा वल गौरीगंजका डिएसपी राज बस्नेत लगायत झापा गाउँपालिकाका, गौरादह नगरपालिका र गौरीगंज गाउँपालिकाका स्थानीय वडाका जनप्रतिनिधि र सीमाबासी सहभागी थिए । उत्त कार्यक्रम अन्तर्गत राजश्व चुहावट तथा सीमा अपराध नियन्त्रण सम्बन्धि अन्तरक्रिया भएको थियो । कार्यक्रममा अधिकांश सहभागीहरुले झापा गाउँपालिका स्थित छोटी भन्सार, गौरीगंज गाउँपालिका अन्र्तगत कुञ्जिवारी छोटी भन्सार र आठमौजा छोटी भन्सार साथै लागुऔषधका विषयमा बोलेका थिए । झापा जिल्लामा बाहुनडाँगीदेखि गौरीगञ्जसम्म १४४ किलोमिटर लामो सीमा क्षेत्र छ । हरेक किलोमिटर क्षेत्रमा सशस्त्र प्रहरीले सुरक्षा पोस्ट राखेर सीमाको निगरानी गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले सीमामा बासिन्दाहरु वास्तविक सीमा रक्षक भएको हुँदा उनीहरुको गुनासाको सम्बोधन गर्न राज्य सकारात्मक रहेको बताए । उनले सीमामा तैनाथ सुरक्षाकर्मीहरुलाई उच्च मनोबलका साथ खट्न निर्देशनसमेत दिए ।

सशस्त्र प्रहरी दिवसको अवसर पारेर सशस्त्र प्रहरी बलले सीमाका बासिन्दासँग सहकार्य अघि बढाउने उद्देश्यले ‘सीमाबासीसँग सशस्त्र प्रहरी’ नामक अभियान घोषणा गरेको थियो ।अभियानका क्रममा सीमाबासीलाई आर्थिक, सामाजिक र शैक्षिक सहयोग पुर्याइने सशस्त्र प्रहरी बल २ नं. गणका गणपति कविन्द्र राईले जानकारी दिएका थिए ।

यसैक्रममा सशस्त्र सिमा सुरक्षा वलले गौरीगंज गाउँपालिका वार्ड नं. ४ बाह्रसुद्यी बस्ने रानी ऋिशिदेवलाई कक्षा ४ देखि कक्षा १० सम्म निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ । आज उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सशस्त्र सिमा सुरक्षा वलका सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक नारायण दत्त पौडेलले छात्रवृति पाउने १० वर्षिया रानी ऋिशिदेवलाई सम्मानसंगै बधाईसमेत दिएका थिए । अति विपन्न परिवारका रानी गौरीगंज गाउँपालिका वार्ड नं. ४ बाह्रसुदी स्थित गौरीया प्राविमा कक्षा ४ मा अध्ययनरत छिन् । उनका बुबा र आमाको निधन भई हाल दिदी र भेनाजुसंग बस्दै आएकी छिन् । भेनाजु श्याम ऋिशिदेवसंग बस्दै आएकी रानी अति लगनशिल र मेहनति छिन् । कोशी प्रदेश भरिबाट सिमासंग जोडिएका दुई जना छात्र र छात्रालाई निशुल्क शिक्षा प्रदान गर्ने घोषणा अनुसार सशस्त्र सिमा सुरक्षा वल कोशीले रिशिदेवलाई छनौट गरेको हो । यसैक्रममा सशस्त्र सिमा सुरक्षा वलले खजुरगाछी माविका विद्याथीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले इलाका प्रशासन कार्यलय गौरीगंजको भवन निर्माण गर्न जग्गा प्रदान गर्ने गौरीगंज गाउँपालिकाका पूर्व अध्यक्ष बाबुराजा श्रेष्ठलाई दोसल्ला ओढाएर प्रमाणपत्रसहित सम्मानित गरेको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ९ : ४८ बजे