१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सुकुम्बासी बनेका दाता डोमालाल राजवंशी परिवारलाई घर बनाइदिने अभियान



झापा, २६ फागुन / विर्तामोड नगरपालिका–३ स्थित डोमालाल रङ्गशालालाई १४ बिघा जग्गादान गर्ने स्व डोमालाल राजवंशीका परिवार घरबारविहीन बनेपछि खेलप्रेमीले सहयोग जुटाएर दाता परिवारलाई घर बनाउने अभियान सुरु गरेका छन् । जग्गादाता स्व डोमालालका पत्नी र दुई छोरा गजेन्द्र र दीपेन्द्रको मृत्यु भइसकेको छ । हाल डोमालालकी एक छोरी ८५ वर्षीया सम्पता राजवंशी र दुई नाति भीम तथा छवि दान दिएकै जग्गामा कच्ची छाप्रो बनाएर आश्रय लिइरहनुभएको छ । दाता परिवारले सुकुम्बासी जीवन बिताइरहेको घटनाबाट भावुक बनेका झापा गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले ११४ औँ नारी दिवसका अवसर पारेर घर बनाइदिने अभियानको घोषणा गर्नुभएको हो । उहाँले दाता परिवारको घर निर्माणका लागि रु ५१ हजार दिने घोषणा गर्दै थप रकम जुटाउन आर्थिक सहयोगको अपिल गर्नुभयो । अभियानको घोषणा भएकै दिन रु सात लाख आर्थिक सहयोगको प्रतिबद्धता आएको बस्नेतले जानकारी दिनुभयो । रु १० लाख सहयोग जुटाएर स्व डोमालालकी छोरी सम्पताको घर निर्माण गरिने उहाँले बताउनुभयो । “सार्वजनिक हितका लागि १४ बिघा जग्गादान दिनुहुने दानवीर डोमालालका सन्तान घरबारविहीन भएको अमिलो दृश्यले हामी सबैको मन भत्भती पोलिरहेको थियो”, अभियानको नेतृत्व गरिरहनुभएका बस्नेतले भन्नुभयो, “उहाँहरूका लागि केही त गर्नै पर्दछ भन्ने लाग्यो र घर निर्माण गरिदिने अभियान सुरु गरेका हौँ ।” ठेलाले गुजारा चलाउँछन् नाति विर्तामोड–३ का भीम र छवि आफ्ना हजुरबुवा डोमालालले दान दिएको जग्गाको एउटा कुनोमा अलग–अलग झुपडी हालेर परिवारसँग बसोबास गर्दै आउनुभएको छ । डोमालालकी छोरी सम्पताको पनि त्यहीँनेर अर्को छाप्रो छ । छाप्रोमा एक्लै बस्दै आउनुभएकी सम्पताको जीविकाको माध्यम सरकारले दिने वृद्धाभत्तामात्रै हो । “केही वर्ष अघिसम्म उहाँ बजारमा सागसब्जी व्यापार गरेर पेटपालन गर्नुहुन्थ्यो”, स्थानीय प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी भन्नुहुन्छ, “बुढेसकालले च्याप्दै लगेपछि व्यापार छाड्नुभयो ।” उहाँका अनुसार दानवीर डोमालालका नाति छविले बिर्ताबजारमा तीनचक्के ठेला चलाएर परिवारको जीविका धान्दै आउनुभएको छ । अर्का नाति भीम स्थानीय फ्याक्ट्रीमा मजदुरी गर्नुहुन्छ । डोमालालकी छोरी सम्पता र दुई नातिले झुपडी बनाएर ओगटेको जग्गा तीन कठ्ठा जति छ । उहाँहरूको नाममा कुनै जग्गा छैन । दान दिएकै जग्गामा सम्पताका लागि आर्थिक सहयोग जुटाएर घर बनाउने खेलप्रेमीको योजना छ । सहयोगी हातहरु बढ्दै सुकुम्बासी बनेका दाता परिवारलाई घर बनाउने अभियानमा सहयोगी हात बढ्दै गएका छन् । दुई दिनमा रु सात लाख सहयोगको प्रतिबद्धता जुटिसकेको छ । युवा व्यवसायी राजीव तेघ्रे धिमाल र अर्जुन चुडालले रु एक–एक लाख सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ । विर्तामोडका व्यवसायी किरण श्रेष्ठ, सुधार कुमार, रविन श्रेष्ठ र समिल राईले रु २५–२५ हजार सहयोगको घोषणा गर्नुभएको छ । पत्रकार गणेशमान मुखिया, इन्द्रजित मुखिया र भूमिका सुब्बाले रु ११–११ हजार सहयोग दिने बताउनुभएको छ । रासस

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ९ : ५८ बजे