४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

आज महाशिवरात्री र अन्तरराष्ट्रिय नारी दिवस मनाइदै



गौरीगंज / हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि आज (फागुन २५ गते) शुक्रबार, भगवान् शिवको पूजाआजा गरी मनाइँदैछ। विहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा दर्शनार्थीहरूको घुइँचो छ।

शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व हरेक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइन्छ। यस पर्वलाई पुराणमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा वर्णन गरिएको छ।

यस पर्वका दिन उपवास गरी ‘ऊँ नमः शिवाय’ मन्त्र जप्ने गरेमा सर्वसिद्ध भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ। निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन्। शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुने प्राचीन जनविश्वास छ।

विशेष गरी यस दिन पशुपतिनाथमा दर्शन गर्न हरेका वर्ष भारत लगायतका देशहरुबाट सयौंको संख्यामा भक्तजनहरु आउने गरेका छन्। यस्तै, केदारनाथको शिरको रुपमा पुजिने भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा पनि दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ।

त्यसैगरी, आजकै दिन ११३ औँ अन्तरराष्ट्रिय महिला दिवस पनि मनाइँदैछ। हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ।

यस वर्षको नारी दिवसको नारा ‘इन्स्पायर इन्क्लुजन’ रहेको छ। यसको अर्थ लैगिंक समावेशितालाई प्रेरित गरौँ भन्ने हो।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ७ : २४ बजे