१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कांग्रेस नेता एवं पूर्व मन्त्री बुढाथोकीको निधन, राजनीतिक इतिहास – पञ्चायतदेखि संविधान सभा हुँदै  मन्त्रीसम्म



दमक/ नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ ।    झापा शनिश्चरेका स्थायीबासिन्दा नेता बुढाथोकी केही समय यता अस्वस्थ भई बिराटनगरमा उपचाररत हुनुहुन्थ्यो ।
उहाँको गएराती साढे ११ बजे बिराट मेडिकल कलेज विराटनगरमा निधन भएको कांग्रेस नेताहरुले जनाएका छन  ।

 पञ्चायतदेखि संविधान सभा हुँदै  मन्त्री सम्म
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारमा सामान्य प्रशासन मन्त्री बनेका केशवकुमार बुढाथोकी झापा क्षेत्र नं.५ बाट सांसद संविधान सभामा दुई पटक निर्वाचित भएका थिए ।
उनी ७ बर्ष अघि सामान्य प्रशासन मन्त्री बनेका थिए । बुढाथोकीको राजनीतिक यात्रा झण्डै पाँच दशक अघि शुरु भएको हो । २०२४ सालमा, विद्यार्थी आन्दोलन मार्फत राजनीतिमा प्रवेश गरेका उनी विद्यार्थी आन्दोलनका क्रममा आफ्ना दाइ, मामाहरू निर्वासनमा गएपछि त्यसबाट प्रेरित भई प्रजातान्त्रिक आन्दोलनमा लागेको बताउने गरेका थिए ।
सो क्रममा उनले नौ महिना जेल जीवन बिताए ।
पञ्चायतमा लागेर युवक संगठनको झापा जिल्ला सभापति हुँदै राष्ट्रिय पञ्चायतमा समेत विजयी बुढाथोकीलाई बहुदलको वकालत गरेको कारण राजा वीरेन्द्रले राष्ट्रिय पञ्चायत सदस्यबाट निष्कासित गरेका थिए । बुढाथोकीले जिल्ला पञ्चायत झापाको सभापतिको जिम्मेवारी समेत सम्हालि सकेका छन् ।

२०५१को संसदीय निर्वाचनमा झापा क्षेत्र नं. ७ ( हालको ५) बाट नेपाली कांग्रेसका उम्मेदवार बुढाथोकीले पहिलो र दोश्रो संविधानसभाको निर्वाचनमा भने झापा क्षेत्र नं. ५ बाट बिजयी हाँसिल गरे । उनले २०६४ मा माओवादीका हर्क खडकालाई र एमालेका लालप्रसाद साँवालाई हराएर संविधान सभामा निर्वाचन जितेका थिए ।
भारत, दार्जीलिङ्मा अध्ययन गरेका बुढाथोकीका दुई छोरा र दुई छोरी छन् । निडर र हक्की स्वभावका बुढाथोकी गत साउनमा बसेको नेपाली कांग्रेस केन्द्रिय समितिको बैठकमा कडा रुपमा प्रस्तुत भएर कांग्रेस भित्र थप चर्चामा आएका थिए ।
बुढाथोकीको जन्म शनिश्चरे २ झापामा बिसं २००१ असोजमा भएको हो । बुढाथोकी २०४१ सालमा राष्ट्रिय पञ्चायतको सदस्य पनि रहेका थिए ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति झापाका सदस्य, सगरमाथा अञ्चलको संयोजक समेत भइसकेका उनी गत बर्ष भएको कांग्रेसको १४ औं महाधिवेशनबमा केन्द्रिय सदस्य निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ८ : ५० बजे