९ जेष्ठ २०८१, बुधबार | Thu May 23 2024

संथाल समुदायको सबै भन्दा ठुलो पर्व सोहराय भव्यरूपमा मनाइयो, कसरी मनाईन्छ सोहराय पर्व ?



गौरीगंज २४, पुस / नेपाल आदिवासी सन्थाल उत्थान संघ गौरीगंजले संथाल समुदायको सबै भन्दा ठुलो पर्व सोहराय पर्वको अवसरमा विविन्न सांस्कृति नृत्यसहित कार्यक्रमको आयोजना गरि भव्यरूपमा मनाएको छ ।
गौरीगंज गाउँपालिका वार्ड नं. २ बघाहाचौधरीमा आयोजित कार्यक्रमकी प्रमुख अतिथि तथा गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले संथाल समुदायको उत्थानका लागि आफ्नो सदैव साथ सहयोग रहने बताईन् ।
नेपाल आदिवासी सन्थाल उत्थान संघका केन्द्रिय अध्यक्ष सुन्दर बेस्राले नेपालमा आदिवासी जनजाति समुदाय भित्र पनि संथाल समुदाय पिछडिएको जाति भएकोले राज्यले संथाल समुदायलाई राज्यको मुलधारमा ल्याउन सरकारले आवश्यक पहल कदमी लिनु पर्ने आफ्नो धारणा राखका थिए । नेपाल आदिवासी सन्थाल उत्थान संघका केन्द्रिय उपाध्यक्ष मनोज वास्कीले संथाल समुदायको भाषा, धर्म, संस्कृति, पहिरन, खानपान, रितीरिवाज यो देशको सम्पति र गहना भएकोले त्यसको जगेर्ना गर्नु आवश्यक रहेको बताए ।
कार्यक्रममा आदिवासी जनजाति महासंघ गौरीगंजका अध्यक्ष गंगा प्रसाद राजवंशी, कार्यपालिका सदस्य रिता तामाङ वडा सदस्य नेत्र राजवँशी पुर्व वडा सदस्य अरुण राजवँशी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।संथाल जातिय सांस्कृतिक उत्थान समितीका अध्यक्ष जेठा मुर्मुको अध्यक्षतामा भएको कार्यक्रममा स्थानिय संथाल संस्कृती झल्किने बिभिन्न सांस्कृतिक प्रस्तुतीहरु रहेको् थियो ।

कसरी मनाईन्छ सोहराय पर्व ?

यतिखेर आदिवासी सन्थाल समुदाय आफ्नो महान् पर्व ‘सोहराय’ मा रमाइरहेका छन् । ६ दिनसम्म मनाइने यो पर्वमा सांस्कृतिक रूपले पूजाआजा गर्दै मीठो परिकार खाएर रमाइलो गर्ने गरिन्छ । आदिवासी सन्थाल समुदायको बसोबास रहेको गाउँघरमा यतिखेर सोहराय पर्वको रमझम छ । गाउँका गल्ली, सडकदेखि घरहरू सिंगारिएका छन् । के युवा के वृद्ध, सबै सोहरायको रङमा रंगिएका छन् ।

पृथक सनातन ‘विदिन धर्म’ मान्ने सन्थाल समुदायले पारम्परिक सांस्कृतिक विधिअनुसार ‘गड’ पूजा गरी यो पर्व मनाउन सुरू गर्छन् । प्रत्येक वर्ष ९ जनवरीदेखि ६ दिनसम्म मनाइने यो पर्वको प्रत्येक दिनको बेग्लाबेग्लै महत्त्व हुने गरेको संथाल जातिय सांस्कृतिक उत्थान समितीका अध्यक्ष जेठा मुर्मुले बताए । ‘पत्येक वर्ष यसरी नै ६ दिनसम्म यो पर्व हामीले मनाउँदै आएका छौं,’ उनले भने, ‘सबै दिनका आ–आफ्नै महत्त्व छन् ।’ सोहराय पर्वको पहिलो दिनलाई ‘उम‘ भनिन्छ । यस दिन सन्थाल समुदायका मानिसहरू नुहाईधुवाई घर आँगन सफा गरेर चोखिने काम गर्छन् । यसै दिन समुदायको मुख्य पुजारी नाइकीले गाउँको बाहिरपट्टि बनाइएको खुल्ला ठाउँमा विधिपूर्वक ‘गड’ पूजा गर्छन् ।‘गड’ पुजामा मराङ बुरू, गोसाई ऐरा र जाहेर ऐरा देउतालाई चामलको पिठो, मेथी, सुपारी, लड्डु र जाँड चढाएर पूजा गर्ने गरिन्छ ।यो पर्वको दोस्रो दिनलाई ‘दाका’ भनिन्छ । दाकाकै दिन चेलीबेटी र पाहुनाहरूलाई निमन्त्रणा गरिएको हुन्छ र उनीहरूले ल्याएका कोसेली बितेका पूर्वजहरूलाई चढाइन्छ ।

सोहराय पर्वको तेस्रो दिनलाई ‘खुन्टोव’ भनिन्छ । यस दिन समुदायका मानिसहरूले विशेष गरी गाईगोरूसहित अन्य वस्तुभाउलाई जिस्काउँदै खेल्नुका साथै पूजापाठ गर्छन् ।सोहरायको चौथो दिन गाउँका मुखियासहित समुदायका मानिसहरू समूह बनाएर घरघरमा गएर जाँड खाने चलन छ । यो दिनमा जाली काम गरिने भएकाले सोहरायको चौथो दिनलाई ‘जाली’ नामकरण गरिएको बताइन्छ ।

सोहरायको पाँचौं दिनलाई ‘हाकुकाट्कोम’ को रूपमा मनाइन्छ । यस दिन स्थानीय खोलानाला तथा पोखरीबाट माछा र गंगटो मारेर ल्याउने र खाने गरिन्छ । यो पर्वको छैटौं तथा अन्तिम दिन शिकार गरेर मासु खाने चलन रहेको पुर्व जनप्रतिनिधि जेठा मुर्मुले बताए ।
पहिलापहिला जंगलमा गएर शिकार गर्ने चलन रहे पनि पछिल्लो समय यो चलन लोप हुँदै गएर अहिले गाउँघरमै भएका जनावरलाई शिकार गरेर बाँडिचुँडी खाने चलन । ‘साकरात’का रूपमा मनाइने यस दिन गाउँबाहिरको खुला ठाउँमा केराको थम्मा गारेर तीर हान्ने चलन छ । सो ठाउँमा नायकीको विशेष उपस्थितिमा पूजापाठ र मनोरञ्जन गरेपछि यो पर्व समापन हुने गर्छ ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ९ : ०२ बजे