१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कोशी प्रदेशको सभामुखमा विष्टद्वारा शपथ



मोरङ, २४ पुुस / कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाका नवनिर्वाचित सभामुख अम्बरबहादुर विष्टलाई आज शपथ गराउनुभएको छ । प्रदेश प्रमुख खापुङले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आयोजित एक विशेष समारोहबीच सभामुख विष्टलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । प्रदेशसभाबाट निर्वाचित सभामुख विष्ट प्रदेशसभाको नियमावली–२०७४ को नियम ८ बमोजिम शपथ गराइएको हो । शपथ समारोहमा प्रदेशका मुख्यमन्त्री केदार कार्की, निवर्तमान तथा पूर्वमुख्यमन्त्री क्रमशः हिक्मतकुमार कार्की, उद्धव थापा र राजेन्द्र राई, पूर्वसभामुख, प्रदेशका मन्त्री, प्रदेशसभाका सदस्य, सुरक्षा निकायका प्रदेश प्रमुख र विभिन्न राजनीतिक दलका कार्यकर्ताको उपस्थिति रहेको थियो । यसअघि आज बसेको प्रदेशसभाको बैठकमा प्रदेशसभा नियमावाली, २०७४ (पहिलो संशोधन समेत)को नियम ७ बमोजिम भएको निर्वाचनमा गठबन्धन दल र नेकपा (एमाले)को सहमतिमा सभामुख विष्ट निर्विरोध निर्वाचित हुनुभएको छ । विष्ट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रदेशसभा सदस्य हुनुभएको हो ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ७ : १२ बजे