११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

दमक – १० को एकै परिवारका तीन जनामा जटिल रोग



दमक १०, / झापाको दमक नगरपालिका वडा नं १० शान्ति टोलका ४८ बर्षिय धनबहादुर श्रेष्ठसहित उनको परिवारका तीन जना जटिल किसिमको रोगबाट पीडित भएका छन । दुई बर्ष अघि छठ पर्वको समयमा दमकको मावा नदी किनारमा भएको घटनामा १४ बर्षिय छोरा समेत गुमाएका धनबहादुर पुत्र वियोगको पीडासँगै अहिले बोनम्यारोको क्यान्सर रोगसँग मुकाबिला गरिरहेका छन । दुई साता अघि स्वास्थ्यमा अचानक समस्या आएपछि विराटनगरस्थित नोबल अस्पतालमा पुगेका धनबहादुरको प्रारम्भिक स्वास्थ्य परिक्षणमा बोनम्यारोको क्यान्सरसँग मिल्दोजुल्दो लक्षण देखिएपछि भारतीय अस्पतालमा नमुना परिक्षणका लागि पठाइएको थियो । यसैसाता उनको स्वास्थ्य परिक्षण रिपोर्ट चिकित्सकहरुको अनुमानसँग मेल खाएको र उनलाई बोनम्यारोको क्यान्सर पुष्टि भइसकेको छ । श्रेष्ठकी श्रीमती र दुई छोरी छन । धनबहादुरका दाजु रामकुमार श्रेष्ठको पनि एउटा मिर्गौला १७ बर्षअघिनै खराब भएर फँयाकिसकिएको छ । रामकुमार अहिले एउटा मिर्गौलाको भरमा मात्रै बाँचिरहेका छन । उनले शरिरको एउटा अंगनै नभएको अवस्थामा कडा परिश्रम गर्न र जिवनयापनमा निक्कै कठिनाई ब्यहोर्नु परिरहेको सुनाए । धनबहादुर र रामबहादुरका ७२ बर्षिय बुबालाई पनि चिकित्सकहरुले मिर्गौला खराब भएको बताउँदै उपचारका लागि विर अस्पताल काठमाडौं लैजान सुझाव दिएपछि गत शुक्रबार बाबुछोरा दुवैलाई एकैसाथ एउटै एम्बुलेन्समार्फत काठमाडौं लगिएको छ । धनबहादुरको जाउलाखेलस्थित ब्लड एण्ड मल्टिस्पेशियलिष्ट अस्पतालमा डा. विशेष पौडेलको निगरानीमा उपचार भइरहेको छोरी दिपिका श्रेष्ठले जानकारी दिइन । धनबहादुरका बुबाको भने बिर अस्पतालमा उपचार भइरहेको छ । बुबा धनबहादुरको उपचारको प्रारम्भिक प्रकृया मात्रै अघि बढेको छ । विस्तृतमा थप रिपोर्टहरु आएपछि मात्रै थाह हुने चिकित्सकलाई उदृत गर्दै छोरी दिपिकाले बताएकी छिन । बिरामले अहिले सम्म पारेको प्रभावका आधारमा ३ देखि ६ महिना सम्म अस्पतालमै बसेर उपचार गर्नुपर्ने प्रारम्भिक सल्लाह डाक्टरहरुले दिएका छन । उपचारको क्रममा बोनम्यारो प्रत्यारोपण वा अन्य बिधि भन्ने बिषय अहिलेनै निक्र्याल नभएपनि यो जटिल रोग हो भन्ने निधो भइसकेको छ । ढाड दुखाई धेरै छ , यस्तो बेलामा किडनीमा पनि असर पर्ने, निमोनिया हुने जस्ता सम्भावनाहरु बढी हुनेभएकाले साबधानीपूर्वक उपचार प्रकृया अघि बढाउनुपर्ने यसक्रममा अस्पतालमै बस्नुपर्ने चिकित्सकहरुको सुझाव रहेको बाबुको उपचारमा संलग्न छोरी दिपिकाले भनिन । पीडित श्रेष्ठ परिवारमाथी एकपछि अर्को बज्रपात जस्तै परिरहेको छ । यस्तो अवस्थामा उदार मनका धनीहरुको खोजी धनबहादुरको परिवारले गरिरहेको छ । हामीले यो अवस्थाको कल्पनानै गरेका थिएनौं आफना आमा बाबालाई बचाउने इच्छा कुन छोराछोरीको हुँदैन र ?धनबहादुरकी छोरी दिपिकाले भनिन । दमक १० का वडाध्यक्ष राजेन्द्र भण्डारी आफनो वडामा यस किसिमको एकै परिवारमाथी यति अप्ठयारो र संकटपूर्ण परिस्थितीको सिर्जना भएको यो पहिलो घटना भएको बताउँछन । वडाध्यक्ष भण्डारी भन्छन– पोहोर परार १४ बर्षको छोरा÷नाती गुमाउनु भयो, अहिले आफैं बाबुछोरानै अस्पतालको बेडमा हुनुहुन्छ। इता दाजु एउटा मिर्गौलाको भरमा हुनुहुन्छ । यो भन्दा दुुख लाग्दो र पीडादायी अवस्था के हुन सक्छ र ? भण्डारीले भने– श्रेष्ठ परिवारमाथी एकपछि अर्को गर्दै परेको यस्तो परिस्थितीको सामना गर्न परिवार एक्लैले नसक्ने भएका कारण स्थानीय जनप्रतिनिधि, युवा साथीहरु सबैले सहयोगको लागि जुटने निधो गर्नुभएको छ । भण्डारीले भने– सबैले यो परिवारमाथी परेको यो समस्यालाई आफनै समस्याका रुपमा लिएर आआफनो ठाउँबाट सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएका छौं, हामी हाम्रो तर्फबाट पनि सक्दो पहल गर्नेछौं । पीडित धनबहादुरको उपचारमा सहयोगका लागि दाताहरुले बिरामीका परिवारको नाममा रहेको निम्न क्यूआर कोडमार्फत प्रत्यक्ष , अप्रत्यक्ष रुपमा आर्थिक सहयोग गर्न सकिनेछ भने सम्बन्धित परिवारको मोवाइल नम्बर ९८१७३२७९३९ मा सम्पर्क गर्न सक्ने परिवारले जनाएको छ ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ८ : ५५ बजे