३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

रतुवा पुल निर्माणले गति लियो



झापा, १ पुस / रतुवा खोलामाथि निर्माण हुन लागेको पुलको भौतिक प्रगति ४० प्रतिशत रहेको छ । एकवर्ष अघि यो पुलको पुनः ठेक्का लागेको थियो । हुलाकी राममार्ग निर्देशनालय योजना कार्यालय इटहरीका सूचना अधिकारी प्रभातकिरण राईका अनुसार पुलको निर्माण तीव्र गतिमा भइरहेको र चालु आर्थिक वर्षमै सम्पन्न हुनेछ । डेढ दशकदेखि अलपत्र अवस्थामा रहेको पुल निर्माणसँगै झापा–मोरङ गर्न हुलाकी राजमार्गबाट सहज हुने राईले जानकारी दिनुभयो । विसं २०७९ चैतमा तीन वर्ष अर्थात् विसं २०८२ असार मसान्तमा निर्माण सम्पन्न गर्ने गरी रु २१ करोडमा देव एण्ड सायर–समता आशिष सन्दिप जेभीले ठेक्का लिएको थियो । विगत १५ वर्षअघि निर्माण कार्य अलपत्र पारिएको पुलको झापातर्फ २५ मिटर र मोरङतर्फ ५० मिटर निर्माण गरेसँगै दुई सय ८० मिटरको पुल बन्ने सूचना अधिकारी राईले बताउनुभयो । यसअघि विसंं २०६४/६५ मा कालिका–ओसिए जेभीले २०५ मिटर निर्माण गरेर अलपत्र अवस्थामा पुललाई छोडेको थियो । कार्यालयका सूचना अधिकारी राईका अनुसार हुलाकी राजमार्ग अन्तर्गतका झापा खण्डका पुलमध्ये कनकाई नदीको पुल बन्न बाँकी रहेको छ । उहाँले भन्नुभयो, “झापा सडक खण्डका आठ पुलमध्ये छ वटा निर्माण सम्पन्न भइसकेका छन् भने बाँकी दुई वटा पुलको काम धमाधम भइरहेको छ ।” कनकाई नदीको पुल भने निर्माणमा ढिलासुस्ती भइरहेको सूचना अधिकारी राईले बताउनुभयो । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको राजमार्गको झापा खण्ड ४८ किलोमिटर छ । सडक निर्माणको काम भने गतवर्ष सकिएको कार्यालयले जनाएको छ । पूर्व–पश्चिम राममार्गको विकल्पको रुपमा निर्माण भएको हुलाकी राजमार्गमा पर्ने रतुवा खोलाको पुल निर्माणसँगै कोशी प्रदेशको राजधानी पुग्न दक्षिण झापाका बासिन्दालाई सहज हुनेछ । हुलाकी राजमार्गको पूर्वमा मेचीदेखि पश्चिममा कञ्चपुरको दोधारा चाँदीसम्मको कूल लम्बाई एक हजार आठ सय ८७ किलोमिटर रहेको छ । रासस

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ७ : ५७ बजे