१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

वडा अध्यक्ष राजवंशीद्वारा एम्बुलेन्स माग




गौरीगंज ११, कार्तिक / झापा जिल्लाको विकासमा प्रवासमा रहेर सहयोग पुरयाउने उद्देश्यले स्थापना गरिएको झापाली समाज अष्ट्रेलियासंग एम्बुलेन्स माग गरिएको छ ।
गौरीगंज गाउँपालिका वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशीले आज शनिवार विर्तामोडमा झापाली समाज अष्ट्रेलियाका अध्यक्ष दिपक ओली र पूर्व अध्यक्ष दिनेश पोख्रेललाई भेटेर एक माग पत्र बुझाउँदै एम्बुलेन्सको माग गरेको हो । झापाली समाज अष्ट्रेलिया र गौरीगंज गाउँपालिकाको साझेदारीमा उपलब्ध हुने उक्त एम्बुलेन्स ग्रामीण क्षेत्रका सर्वसाधारण एम्बुलेन्स सुविधाको अभावमा समयमै अस्पताल पुग्न नपाउने र महँगो खर्च गर्नुपर्ने समस्या रहेकाले उनीहरुलाई राहत पुगोस् भनेर एम्बुलेन्स माग गरिएको वडा अध्यक्ष राजवंशीले बताए । विशेष गरी वडा नं. १ का वडावासी र गाउँपालिकावासीहरुलाई लक्षित गरी सेवा दिने उद्येश्यले एम्बुलेन्स सञ्चालन हुने वडा अध्यक्ष राजवंशीले बताए ।

‘वडा नं.१ सडक सञ्जालले जोडिएको भए पनि पर्याप्त गाडीहरू नहुँदा बिरामीलाई समयमै अस्पताल पुर्याउन नसकिने बाध्यता थियो। अब यहाँका बिरामीहरूलाई ठूलो राहत मिल्ने विश्वास लिएको छु,’ – वडा अध्यक्ष राजवंशीले भने । वडा नं. १ वडा कार्यालयको माग अनुसार गाउँपालिकाले त्यस भोगमा एम्बुलेन्स आवश्यक रहेको र त्यसका लागि एम्बुलेन्स सहयोग माग गर्ने निर्णय गरेको थियो ।
अष्ट्रेलियामा पनि आधिकारिक रुपमा दर्ता गरी समाजको तर्फबाट विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको र झापा जिल्लामा विभिन्न परोपकारी तथा विकास कार्यक्रमहरुमा सहयोग पुरयाउने समाजको लक्ष्य रहेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ७ : ०१ बजे