१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

माटोमा भगवान !



आत्माराम राजवंशी /

गौरीगंज १९, भदौ / मानिसले हरेक कुरालाई गहिराइमा पुगेर यसको अर्थ र महत्व बुझ्न सक्यो भने जीवनमा नाम मात्रै होइन, दाम कमाउन पनि कठीन छैन । जीवनमा कलाले रंग मात्र भर्दैन, प्राण पनि थप्छ ।
गौरीगंज गाउँपालिका वार्ड नं. ४ अल्तावारी निवासी मोहनदेव माली जो जीवन मात्रै बाँचिरहेका छैनन्, उनका सुन्दर कलाहरुमा कालान्तर सम्म जीवन्त बाँचिरहनेछन् । मूर्तिकलामा अब्बल मोहनदेव कलामा व्यावसायिकता समेत अँगाल्ने कम पात्र मध्येमा पर्नुहुन्छ । माटोमा उर्वरा हुन्छ, जीवन हुन्छ तर त्यति मात्र होइन माटोमा त ‘भगवान’ पनि भेटिँदो रहेछ १ उमेरले वर्ष ४३ को मोहनदेवले भने।
यतिवेला उनीसंग गफै मात्र गर्न उनको घर पुग्यो भने त्यसै फर्कनु पर्ने हुन्छ । धेरै आफन्त, छिमेकी र साथीभाइ यसैकुराको गुनासो गर्छन् । तर उनलाई कुनै प्रवाह छैन । यतिवेला उनलाई मुर्ति बनाउन भ्याई नभ्याई छ ।
विहान ६ बजे उठेदेखि माटोको मुर्ति बनाउन खटिन्छन् । उनलाई मंगलवार दिउसो ११ बजे भेट्दा मुर्तिमा रङ्ग लगाउन व्यस्त थिए ।
‘ ओर्डर दिएका सबै विश्वकर्मा भगवानको मुर्ति विहान सम्म दिईसक्नु पर्छ उनले भने, – गफ गर्ने टाईम नै छैन।’

लहरै कृष्ण भगवानको मुर्तिमा रङ्गरोगन गर्न बाकी रहेका उनको हात तीनै मुर्तिमा थियो । ब्रसले रङ्ग लगाईरहेका मोहनदेवको खानदानी पेशा भए पनि उनको बाउ बाजेले भने मुर्ति बनाउने कार्य गरेनन् । कतिपय युवा पुस्ताले खान्दानी पेशालाई छोडेर कमाई गर्न विदेशी गईरहेको अवस्थामा मोहनदेवले भने बाबुवाजेको खान्दानी पेशा छाडेनन् ।

‘ दुः ख व्यक्त गर्दै उनले भने– ‘मेरा बाउ बाजेले खान्दानी पेशा नगरे पनि मैले यसलाई निरन्तरता दिएको छु , यसैमा गर्व छ ।’
गौरीगंज गाउँपालिका वार्ड नं.३ गौरीगंज चौक नजिक कोठा भाडामा लिएर मोहनदेव मुर्तिकलाकार सेन्टर खोलेका छन् । गाउँ घरमा २० वर्षको उमेरदेखि आफै माटोको मुर्ति बनाउने अभ्यास गर्दै सिकेका मोहनदेव विभिन्न भगवानको आकर्षक माटोको मुर्ति बनाउन अभ्यस्त भईसकेका छन् । विश्वकर्मा, काली, सरस्वती, विष्णु, दुर्गा, कृष्ण, राधा, छठ मैयालगायत दर्जनौ भगवानका आकर्षक मुर्तिहरूले उनको कोठा भरिभराउ छ ।
‘यी सबै ओर्डर दिएका मुर्तिहरू हुन् उनले देखाउदै भने, – ‘सिजनमा मुर्तिको ओर्डर बुकिङ्ग गर्न भ्याईन भ्याई हुन्छ ।’‘
सामान्य आकारको एउटा मुर्ति बनाउन २ हजारदेखि ३ हजार रूपैयाँसम्म लिने गरेका मोहनदेव बर्षमा ३ लाख रूपैयाँ जति कमाई हुने गरेको उनले बताए ।

लगातार काम गर्यो भने एउटा सानो मुर्ति बनाउन ३ दिन लाग्ने बताउँदै उनले एउटा मुर्तिमा ५ सयदेखि ७ सय रूपैयाँ खर्च हुने बताए ।
पराल र चिम्ठिलो माटोबाट बनाउदै आएका मुर्तिलाई आकर्षक बनाउन उनले भगवानको रूप अनुसार रङ्ग भर्छन् । भगवानको रूप , आकार र भेषभुषा अनुसार मुक्ताझुना रङ्ग भर्ने गरेको उनले बताए ।
सरस्वती पुजा, दुर्गा पुजा, विश्वकर्मा पुजा, काली पुजा, विवाहको सिजनमा दमक, गौरादह, गौरीगंजलगायत झापाको विभिन्न स्थानबाट विशेष ओर्डर आउने गरेको उनले सुनाए ।
काममा उनकी श्रीमती सुनिता मालीले सघाउँछिन् ।
छोराछोरीसहित ४ जनाको परिवारलाई खाना, लुगाफाटालगायत घरधन्दा गरेर बचेको समयमा सुनिता श्रीमानको काममा सघाउन पाउँदा खुशी लागेको बताईन् । उनले भनिन्, ‘जग्गा जमिन छैन यहि पेशा गरेर अहिलेसम्म बालबच्चालाई पढाईलेखाई देखि घर व्यावहार चलाउदै आएका छौ, राम्रै छ । ’
मुर्ति बनाउने पेशासंगै मोहनदेवले आदिवासी तथा मधेसी समुदायको विवाह समारोहमा बेहुला र बेहुलीले टाउकोमा लगाउने एक विशेष प्रकारको फुलको टोपी , फुलघोडा, ठाकुर व्रह्माणी फुल, तिहारमा टांङ्ने आकास तारा, रङ्गी विरङ्गी फुलझडी बनाउने गर्छन् ।

कसरी बन्छ त मूर्ति ?
माटोबाट सम्पूर्ण शरीरयुक्त मूर्ति एकै पटकमा तयार गर्न सकिँदैन । त्यसमा लागि टाउको, जिउ छुट्टाछुट्टै तयार गर्नुपर्छ । टाउको माटोबाट मात्रै तयार गरे पनि जीउ बनाउन काट, बाँस, पराल, डोरीआदी प्रयोग गर्नुपर्ने मोहनदेव बताउँछन् । भन्छन्, – ‘जीउ आकर्षक र बलियो देखियोस् भनेर पराललाई डोरीले कसेर आकृति तयार पारिन्छ । काठ र पराल कसेर तयार पारेको आकृतिमा माटो पोतेर मूर्ति बनाउनुपर्छ ।’
उनी थप्छन्, – ‘एउटै मूर्ति बनाउन महिनादेखि डेढ महिनासम्म समय लाग्छ । फेरि झरी र शीतबाट जोगाउन सकिएन भने मूर्ति काम नै लाग्दैन, साह्रै गाह्रो छ हजुर मुर्ति बनाइसक्न ?’
माटो सुकेपछि नफुटोस् भनेर निकै मेहनत गरेर मुछ्नुपर्ने बताउँदै मोहनदेव भन्छन्, ‘माटोमा धानको भुससमेत मिसाइएको हुन्छ । माटोमा भुसको मात्रा मिलाउन जानिएन भने मूर्ति चिल्लो र आकर्षक बन्दैन । त्यसैले निकै चनाखो हुनुपर्ने उनीहरू बताउँछन् । त्यसरी तयार भएको मूर्तिलाई देवीदेवता अनुसारको रंग रोगन समेत गर्नुपर्छ । रंग पोतेर मात्रै हुँदैन, बुट्टा हाल्ने र कलात्मक चित्रहरू ९जस्तै देवीको मूर्तिमा नरमुण्डमालाआदि पनि बनाउनुपर्छ ।
मूर्ति पूर्ण रूपमा तयार भइसके पछि दश देखि २० हजार रुपैयाँ मूल्य तोकिने उनको भनाइ थियो । आफूलाई सम्पूर्ण देवी देवताको मूर्ति बनाउन आउने बताउँदै उनले भने, “यहाँ मेला, महोत्सव, धार्मिक अनुष्ठान, सप्ताह पुराण, दसैं, तिहार, विश्वकर्मा पूजा, राम नवमी, शिवरात्री आदी चाडपर्वमा देवी देवताको मूर्ति खोज्न आउँछन्, हामी त्यही अनुसार बनाउँछौँ ।”

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  १२ : ५८ बजे