१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरादहमा अचाक्ली कर बढाएको भन्दै नेपाली कांग्रेससहित रास्वपाद्वारा ध्यानाकर्षणपत्र



गौरादह २८, साउन / गौरादह नगरपालिकाले आर्थिक बर्ष २०८० /०८१ बाट लागु हुनेगरी कर बढाएको प्रति यहाँका दुई राजनीतिक दलले नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । नगरपालिकाभित्र क्रियाशील नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) ले आइतबार नगरप्रमुख छत्रपति सुवेदीलाई छुट्टाछुट्टै भेटी ध्यानाकर्षण पत्र बुझाएका हुन् । नेपाली कांग्रेसले गौरादहका ९ वटै वडा र नगरपालिकामा ध्यानकर्षण पत्र बुझाएको हो । गौरादह नगरपालिकाका निवर्तमान नगरप्रमुख रोहितकुमार साहको नेतृत्वमा तीन बुंदे ध्यानकर्षण पत्र बुझाएको हो । कांग्रसले बुझाएको पत्रमा भूमिकर तथा सम्पति कर संशोधन गर्नुपर्ने, भूमिको अबैज्ञानिक वर्गीकरण व्यवस्थित गर्दै बैज्ञानिक बनाउनुपर्ने र बाटोको प्रकृति अनुसार भूमिकर लिने प्राबधान अबैज्ञानिक भएकाले उत्पादकत्व अनुसार भूमिकर कायम गरिनुपर्ने माग गरिएको छ । पत्र बुझाउने क्रममा निबर्तमान नगरप्रमुख साहले जनभावना विपरीत काम भएकाले नगरपालिकाले गरेको कर वृद्धि तत्काल फिर्ता लिनुपर्ने बताए । प्रत्येक वडामा कांग्रेस वडासभापतिहरुले पनि ध्यानाकर्षणपत्र बुझाएका छन् ।

त्यसैगरी रास्वपाका गौरादह नगर सभापति जगत अधिकारीको नेतृत्वमा गएको टोलीले ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । पत्रमा मालपोत कार्यालयमा ५००० वर्गमिटर भन्दा बढी क्षेत्रफललाई कृषि क्षेत्रमा गणना हुने तर नगरपालिकाले पक्की बाटो छोएको जग्गाको जतिसुकै क्षेत्रफल भए पनि सहरी, आवासीय क्षेत्र भनि बर्गिकरण गरि सम्पति कर लिएको उल्लेख छ । यस्तै, एकीकृत सम्पति करमा घरले चर्चेको क्षेत्रफललाई दोब्बरसम्म र घरको मोलसमेत जोडी पुन: उक्त कित्ताको सम्पूर्ण क्षेत्रफलको मोलसमेत कोडी सम्पति कर लिँदा एकै जग्गाको घरले ओगटेको क्षेत्रफलको दोहोरो कर लिएको, भूमि मालपोत करमा बृद्वी भएको, घरबहाल कर २% बाट बढाएर ६% बनाएको, नगर र वडाले प्रदान गर्ने सिफारिस शुल्कमा व्यापक बृद्वी गरेको उल्लेख गरिएको छ । यस्तै, सो पार्टीले राजस्व परामर्श समिति र जनप्रतिनिधिको भूमिका प्रयाप्त नदेखिएको, महारानीझोडा अनतर्गतको भूमि समस्यालाई हल गरेपछि मात्र बृहत कर प्रणाली लागु गर्नुपर्ने माग गरेको छ । रास्वपाले बुझाएको पत्रमा नगरको आम्दानीका स्रोत बढाउन तीन बुंदे सुझाव समेत समेटेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ८ : २० बजे