११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

दमकबाट गायिका बन्न काठमण्डौ पुगेकी बीना भट्टराईको संघर्षको कथा



विष्णुप्रसाद पोखरेल

दमक २७, साउन / झापा दमक वडा नं. ९ स्थायी बासिन्दा बीना भट्टराईलाई सानै उमेरदेखि राम्रो गायक बन्ने सपना थियो । बिद्यालयमा जाँदै देखि उहाँ नाँच्ने र गाउने गर्नुहुन्थ्यो । आफ्नै साथी र शिक्षक/ शिक्षिकाले हौसला दिएपछि उहाँलाई एकदिन आफु साच्चिकै राम्रो गायक बन्छु भन्ने लागेको रहेछ ।

आमा अम्बिकादेबीले आफुलाई सानै उमेरदेखि गाउन हौसला दिनु भएको भट्टराई सम्झनुहुन्छ । पुख्र्यौली घर ताप्लेजुङ्ग भएपनि सानै उमेरदेखि दमकमा नै बस्नु भयो । दमकमा नै कक्षा १० अर्थात माध्यमिक तहसम्म अध्ययन गर्नु भयो र संगितप्रतिको रुचिका कारण उच्च शिक्षाका लागि काठमण्डौ जानु भयो ।

काठमण्डौ पुगेपछि गुरु चण्डिप्रसाद काफ्लेसंग संगित सिक्न शुरु गरेको र श्री संगित पाठशालामा ८ बर्ष निरन्तर संगित सिकेको भट्टराई बताउनु हुन्छ । आफुले २०६५ सालमा पहिलो पटक बाध्यता एल्बममा ‘झुक्याएर पासो थापि…’ भन्ने गीत गाएको बताउनु हुन्छ । मीन गुरुङ्गको संगित र उर्वशी थापाको शब्द रहेको थियो ।

आफुले गितहरु पनि लेख्ने गरेको उहाँ बताउनु हुन्छ । त्यसपछि लगातर गरेर आफुले १५० भन्दा बढि गीत गाएको उहाँको भनाई छ । हामी मोफसलका मानिसहरुलाई काठमण्डौ गएर स्थापित हुन समस्या हुने रहेछ, उहाँले गुनासो गर्नु भयो । यहाँसम्म आइपुग्न धेरै नै संघर्ष गर्नु परेको छ, उहाँले भन्नुभयो ।

आफुले लोक गित, आधुनिक गितहरु गाएको भट्टराई बताउनु हुन्छ । छक्कै परे..,बुढेशकालको लौरी..,सुन्तलाको फल.. लगायतका गितहरु गाउनु भएको छ । आफुले लेखेको साडी मलमल..को गीत निक्कै नै चलेको उहाँले जनाउनु भयो । गाउनेमात्र होइन म गित लेख्नेपनि गर्छु, भट्टराई भन्नुुन्छ ।

आफुलाई गायिका बनाउनका लागि बुबा मनप्रसाद भट्टराईले हलगोरु र घरको दुध दिने भैसि बेचेको सम्झदा अहिले पनि आँशु झर्ने उहाँ बताउनु हुन्छ । आमाले आफ्ना गरगहना बेचेर आफुलाई यस क्षेत्रमा लाग्न आवश्यक खर्च जुटाइदिएको भट्टराईको भनाई छ ।

२०७७ सालमा बुबा खसेपछि दमक आइ आमाको साथ बसेको र आफ्नो संगित यात्रा केहि समय रोकिएको जनाउनु भयो । बुबाको पनि निधन भयो र कोरोना संक्रमणले गर्दा त्यो समयमा केही पनि गर्न सक्ने अवस्था रहेन, उहाँले भन्नुभयो । अब नयाँ गीत तथा एल्बम निकाल्ने तयारी गर्दैछु, गायिका भट्टराइले सुनाउनु भयो । एकदिन अघिमात्र अन्जु श्रेष्ठसंगको तीजको लहर बोलको नयाँ गीत सार्वजनिक भइसकेको छ ।

२०७५ सालमा रेडियो नेपालमा स्वर परिक्षा पास गर्नु भएकी भट्टराईले नेपाल आइडलमा प्रारम्भिक छनोटमा निर्णायकको भुमिका पनि खेल्नु भएको थियो ।

छाँयादेवी तिज म्यूजिक अवार्ड २०७५, सगरमाथा म्यूजीक अवार्ड २०७६,राष्ट्रिय राप्ती म्यूजिक अवार्ड लगायतका बिभिन्न अवार्डबाट पुरस्कृत तथा सम्मानित भट्टराई अहिले पनि त्रिभुवन बिश्वबिद्यालय ललितकला कयाम्पसमा संगीत बिषय अध्ययनरत रहनु भएको छ । ३ वटा स्थानीय बिद्यालयमा संगीत शिक्षा पढाउनुपनि हुन्छ ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  २ : ३३ बजे