१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजका ६ सय १० घरधुरी बाढीकाे उच्च जाेखिममा, विपद् व्यवस्थापनकाे पुर्व तयारी गर्दै



गाैरीगंज २२, जेठ/ गाैरीगंज गाउँपालिकामा ६ सय १० घरधुरी बाढीकाे उच्च जाेखिममा रहेकाे एक तथ्यांकले देखाएकाे छ ।

विपद् जाेखिम न्युनिकरण तथा व्यवस्थापनमा स्थानिय तहकाे भूमिका विषयमा एकदिने अन्तर्क्रिया कार्यक्रममा कन्काई, कमल बनियानी र रतुवा खाेलाकाे बाढीले उच्च जाेखिममा रहेकाे उत्त तथ्यांकले देखाएकाे हाे ।
कन्काई नदीले गाैरीगंज गाउँपालिका वार्ड नं. १ र २ टुनुबस्ती, चाैरी, टप्पु, हाेकलवारी, हेम्नाडाँगी, भाकुरमारीलगायतका बस्तीका ४ सय घरधुरी उच्च जाेखिममा रहेकाे आकडा कार्यक्रममा प्रस्तुत गरिएकाे थियाे भने कमल बनियानी नदीबाट गाैरीगंज गाउँपालिका वार्ड नं. १ र २ का टुनुबस्ती, चाैरी, टप्पु, हाेकलवारी, रंगीयाथान, भन्सार टाेलका करिब १ सय ३० घरधुरी उच्च जाेखिममा रहेकाे र रतुवा खाेलाबाट गाैरीगंज गाउँपालिका वार्डनं. ५ स्थित श्यामटाेली बस्तीका ८० घरधुरी रहेका छन् ।
नेपाल रेडक्रस साेसाईटी झापाकाे आयाेजना र गाैरीगंज गाउँपालिकाकाे समन्वयमा सम्पन्न कार्यक्रमकाे अध्यक्षता गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले गरेकी थिईन् ।
कार्यक्रममा विपद् व्यवस्थापन अन्तर्गत विपद्काे पूर्व तयारी, पूर्व चेतावनी प्रणाली, न्युनिकरण/ अल्पिकरण, राेकथाम र पुरसंचना, उद्वार तथा राहतका विषयमा छलफल भएकाे थियाे ।
गाउँपालिकाकी उपाध्यक्ष पुजन न्याैपाने कुवँरले स्वागत गरेकाे कार्यक्रममा नेपाल रेडक्रस साेसाईटी झापाका अध्यक्ष लाेकराज ढकाल, कार्यक्रम अधिकृत हरिचरण खड्काले कार्यक्रमकाे सहजीकरण गरेका थिए ।
कार्यक्रममा झापा जिल्ला अन्तर्गत उच्च जाेखिममा परेका पालिकाहरूमा झापा, गाैरीगंज, कचनकवल, बाह्रदशी, कमल, शिवसताक्षी र भद्रपुर रहेकाे बताईएकाे थियाे । त्यसैगरी मध्य जाेखिममा परेका पालिकाहरूमा गाैरादह, मेची, अर्जुनधारा, दमक, कन्काई र विर्तामोड रहेका छन् भने न्युन जाेखिममा हल्दिवारी र बुद्वशान्ती परेका छन् ।
गाैरीगंज गाउँपालिकाकाे प्रकाेप जाेखिमकाे स्तरिकरण अनुसार पहिलाे जाेखिम बाढी दाेस्राेमा सडक दुर्घटना, तेस्राेमा जनावर आतंक, चाैथाेमा चट्याङ, पाचौंमा आगलागी र छैठाेमा शितलहर रहेका छन् । कार्यक्रमकाे सञ्चालन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्ताेष श्रेष्ठले गरेका थिए ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  १० : २१ बजे