१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

इतिहासको संरक्षणले बढाएको दमकको पहिचान






दमक / पूर्वपश्चिम राजमार्गसँगै जोडिएको दमकको रतुवा किनारको दृश्य फेरिँदै गएको छ ।  दमक ७ मा ( साविक वडा नं १२) निर्माण गरिएको एउटा संरचना जसले समग्र मुलुकको सिंगो एउटा राजनीतिक व्यवस्थाको पहिचान दिएको छ ।  यहाँ रहेको पञ्चायत रजत जयन्ती स्मारकले राजनीतिक व्यवस्थाको स्मरण गराइरहेको हो ।   

मुलुकमा   पञ्चायती व्यवस्था २०१७ सालको पुष १२ देखि शुरु भएर २०४६ को चैत सम्म कायम रहेको थियो ।  

३० वर्ष सम्म कायम भएको नेपालको एउटा राजनीतिक व्यवस्थाको स्मरण गराउने यो स्मारक पञ्चायत व्यवस्था शुरु भएको २५ औं बर्षमा तत्कालिन पञ्चायत सरकारले निर्माण गरेको भएपनि संरक्षणको अभाव झेलिरहेको थियो ।

स्तम्भ निर्माणपछि त्यहाँको सार्वजनिक जग्गा अतिक्रमणको चपेटामा पर्नबाट जोगिएको र यस क्षेत्रको सदुपयोग  र सौन्दर्यकरण समेतलाई मध्यनजर गरेर दमक रोज गार्डेन समेत यहाँ स्थापना गरिएको दमक ७ का वडाध्यक्ष भिमप्रसाद पौडेल बताउँछन ।  रोज गार्डेन भित्र पञ्चायत स्तम्भसँगै जोडिएको नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको पक्की भवनमा हालसालै डा. भगवान कोइरालाको नेतृत्वमा दमक किओच बाल अस्पताल सञ्चालनमा आएको छ ।

 पूर्वपश्चिम राजमार्गमा पूर्वबाट दमक प्रवेश गर्ने बित्तिकै देख्न सकिने यो दृश्यले दमकको सौन्दर्यकरण र दमकको पहिचानलाई उचो बनाएको  हो ।

२०४६ को जनआन्दोलनले राजतन्त्रलाई संबैधानिक सुधार गर्न र बहुदलिय संसद बनाउन बाध्य बनाएपछि  नेपालमा पञ्चायती व्यवस्थाको अन्त्य भई बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना भएको थियो ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ५ : ३९ बजे