१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

चन्द्रगढीमा पहिचानवादीहरुको विरोध प्रदर्शन, आठराईमा पनि ओली जाने भएपछि विरोध




दमक/ कोशी प्रदेश नामाकरणको चर्को विरोध गर्दै पहिचानसहितको प्रदेश नामाकरणको माग गरिरहेका पहिचानवादीहरुको समुहले आज शुक्रबार जिल्ला सदरमुकाम चन्द्रगढीमा शक्ति प्रदर्शन गरेका छन ।
प्रदेश पुनःनामांकन संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा जिल्लाका विभिन्न ठाउँहरुबाट सयौं प्रदर्शनकारीहरु सहभागी भएका छन ।
बुद्धशान्तिमा दुई दिन अघि एमाले अध्यक्ष केपी शर्मा ओली आउने कार्यक्रममा विरोधका कार्यक्रम गर्ने भन्दै प्रदर्शनकारीहरुको समुहले आक्रमण प्रयास गरेपछि समातिएका आफना दुई जना आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरी कारवाहीको दायरामा ल्याएपछि थप आक्रोशित बनेका उनीहरुले पक्राउ कार्यकर्ताहरुको निशर्त रिहाईको माग समेत गर्दै नाराबाजी समेत गरेका छन । बुद्धशान्तीमा भएको घटनापछि आन्दोलनकारी समुहका मित्र लिङदेन र बुलेट राईलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाहीको प्रकृया अघि बढाएको जनाइएको छ । पक्राउ आन्दोलनकारीहरुलाई रिहा गर्ने बिषयमा झापाका प्रमुख जिल्ला अधिकारीसँग बिहिबार भएको वार्ता निष्कर्षहिन भएपछि आन्दोलनमा पहिचान पक्षधर समर्थक शुभेच्छुकहरुको स्वतस्फूर्त सहभागिता बढेको जनता समाजवादी पार्टी झापाका अध्यक्ष समेत रहेका आन्दोलनका अगुवा दिपेनवाला राईले बताए ।
यसैबीच पहिचान पक्षधरको आन्दोलनका बाबजुद पूर्वी पहाडी जिल्लामा पार्टी संगठनको गतिबिधि बढाउँदै निस्किएका एमाले अध्यक्ष ओली शुक्रबार तेह्रथुमको आठराईमा जाने पूर्व सूचना पाएका प्रदर्शनकारीहरु दिनभर जसो कोशी प्रदेश नामाकंनको विरोधमा उत्रिए । यद्यपी शुक्रबार ओली त्यहाँ एउटा खानेपानी आयोजनाको उदघाटनका लागि जान लागेकाे बताइएको छ ।
प्रदर्शनकारीहरुले त्यहाँ सुरक्षाका लागि खटिएका प्रहरी सुरक्षाकर्मीहरुमाथि आक्रमण गर्ने आफूहरुको कुनै कार्यक्रम नभएकाले आफनो शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप नगर्न आव्हान गरिरहेको श्रव्यदृश्य सामग्रीहरु बाहिर आएका छन । ओलीसँगै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ पनि पूर्वी पहाडी जिल्लाका पार्टी सम्बद्ध कार्यक्रमहरुमा व्यस्त छन ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ५ : ४८ बजे