३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

राजवंशी जातिमा छाेरी बस्न थाले काेरा, १३ औं दिनकाे सुध्याई कर्म (धमाली)मा पनि राजवंशी महिला सरिक



बिर्तामोड,फागुन २४ । छोरा नभए भाइ भतिजाले काजक्रिया गर्ने परम्परा रहेको राजवंशी जातिमा एकजना छोरी आफ्नो बुवाको कोरामा बसेकी छन् ।

बिर्तामोड ४ मेघावारी टोल निवासी चन्द्रबहादुर राजवंशीको निधनपछि उनकी जेठी छोरी पूर्णवती राजवंशीले आफ्नो बुवाको काजक्रिया गरिरहेकी हुन् । चन्द्रबहादुरको फागुन १४ गते ५५ वर्षको उमेरमा निधन भएको थियो । चन्द्रबहादुरका छोरा छैनन् । चारजना छोरी मात्र छन् । जेठी छोरी पूर्णवती , माइली रीना , साइली रिता र कान्छी प्रमिलामध्ये जेठी पूर्णवतीले ११ दिनदेखि बाबुको कर्मकाण्ड गरिरहेकी छन् । बाबुआमाप्रति छोरासरह छोरीहरुको पनि माया , श्रद्धा र दायित्व हुने भएकाले आफूले काजक्रिया गरिरहेको पूर्णवतीले बताइन् । पहाडे मूलका जातिमा छोरा , बुहारी र छोरी सबैले कोरा बस्ने परम्परा छ । तर, राजवंशी जातिमा छोरीहरुलाई त्यो अधिकार दिइएको छैन । छोरा हुने बाबुआमाको छोराले र छोरा नहुने बाबुआमाको भाइ भतिजा र अन्य बंशले काजक्रिया गर्ने चलन परम्परादेखि चल्दै आएको छ ।

आफूहरुले पनि अन्य जातिसरह बाबुआमाको काजक्रिया गर्न पाउनु पर्छ भन्ने जातीय मान्यता विकास गर्न कोरामा बसेको उनले बताइन् । पूर्णवतीले आज कपाल खौरिएर ११ औं दिनको कर्म गर्ने भएकी छन् । पूर्णवतीकी आमा सनावती राजवंशीले धेरै वर्षअघि राजगढमा राजवंशी जातिमा एकजना छोरीले बाबुको काजक्रिया गर्दा उनलाई गाउँसमाजले अप्ठ्यारोमा पारेको घटना सुनाइन् । त्यसैगरी गाैरीगंज गाउँपालिका वार्ड नं.६ स्थित खजुरगाछीकाे एक राजवंशी परिवारमा १३ अाै दिनकाे शुध्याई कार्यक्रम धमालीमा राजवंशी महिलाहरू सहभागी भएका थिए । राजवंशी जातिमा १३ अाै दिनमा कपाल खाैरिएर दिवंगत आत्माकाे चिरशान्तीका लागि र सुध्याई कर्म गर्न परिवाजनहरूले दिईने धमालीमा पुरूषहरूसंगै राजवंशी महिलाहरू सहभागी भए । राजवंशी जातिमा महिलाहरू पुरूषहरूसंगै धमाली दिएकाे याे सम्भवत पहिलाे घटना हाे ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ९ : ४७ बजे