३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

‘व्यापक परिवर्तनको अनूभुति दिलाउने छौं’ –अध्यक्ष फूलवती राजवंशी



गाैरीगंज २६, माघ/
फूलवती राजवंशी गौरीगञ्ज गाउँपालिका अध्यक्ष हुनुहुन्छ । लामो समयदेखि राजनीतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील राजवंशी गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा लोकप्रिय मतसहित अध्यक्षमा निर्वाचित हुनुभएको हो । गौरीगञ्ज गाउँपालिकाले अघिल्लो पटक अध्यक्ष र उपाध्यक्ष दुवै पदमा पुरुष नेतृत्व पाएकोमा यसपटक भने ति दुवै पदमा महिला नेतृत्वलाई पाएको छ । गाउँपालिकाले यतिबेला आर्थिक बर्ष २०७९÷०८० का योजना तथा कार्यक्रमहरुको कार्यान्वयनलाई महत्व दिदैं आएको छ । प्रस्तुत छ गाउँपालिकाको नेतृत्वमा अनुभव, समग्र विकास, निर्माण र भावी लक्ष्य आदिका बिषयमा केन्द्रित भएर गरिएको कुराकानीको सार ः

गाउँपालिकामा तपाइँहरुले नेतृत्व लिएको ९ महिना बितिसकेको छ कस्तो अनुभव गरिरहनु भएको छ ?

हो आज भोली भन्दै चुनाव भएको ९ महिना पुगिसकेछ । तर हामीले जेठ १२ गते पदभार ग्रहण गरेका हौं । अनुभव त धेरै लिन बाँँकीनै छ । हामीले बर्षायामको प्राकृतिक विपत्तीको अनुभव गरिसकेका छौं । हुन त व्यक्तिगत रुपमा यसपटक मात्रै होइन यही भुगोलको मान्छे, यहींको राजनीति, सामाजिक क्षेत्रमा पदमा हुँदा पनि नहुँदा पनि क्रियाशील नै छु । ता पनि जनप्रतिनिधिको जिम्मेवारीसहितको अनुभव अलि फरक नै हुन्छ । चुनाव सकिएर हामी भेटघाट र धन्यवाद दिने कार्यक्रमहरुमा व्यस्त भएकै बेला हामीले चौतर्फी रुपमा खोला नदीमा आएको बाढीको सामना गर्नुपर्यो । त्यस लगत्तै हामी राष्ट्रिय निर्वाचनमा पनि केन्द्रीत भयौं । त्यसले हाम्रो काम कार्यक्रम अलि धिमा गतिको भयो कि भन्ने कुराहरु पनि आए तर यि सबै काम, कार्यक्रमका सिलसिलामा हामी जनता माझनै छौं । गाउँपालिकाको आधिकारिक बुलेटिन भएको कारण म यसैमार्फत आम गौरीगञ्ज गाउँबासीहरुमा धन्यवाद पनि दिन चाहन्छौं कि यहाँहरुले प्रकट गर्नुभएको मत यहाँहरुको चेतनास्तरको उपज हो । यहाँको आवश्यकताले मागेको नेतृत्व चयन गर्नुभएको छ । हामी महिलाले नेतृत्व गर्ने अवसर पाएका छौं । यो देशमै उदाहरणीय हो भन्ने पनि हामीलाई लागेको छ ।

तपाइँको नेतृत्व छ गौरीगञ्ज गाउँपालिकामा सुशासन र पारदर्शीताको बिषय निक्कै चर्को रुपमा उठेको छ यसलाई कसरी लिनु भएको छ ?

यो कुरामा हामी सहमत छौं । गाउँपालिकामा अहिले जति पनि बेरुजुका बिषयहरु बाहिर आएका छन । विभिन्न समयमा भएका अनियमितताका कुराहरु पनि बाहिर आएका छन । त्यसलाई उजागर गरिदिनु भएकोमा सम्बन्धित पक्षलाई म धन्यवाद दिन चाहन्छु । पहिले पहिलेका कमि कम्जोरी औंल्याइदिनु भएकै कारण अबका दिनमा ति कमी कम्जोरी हुन पाउँदैनन । जहाँ सम्म हामीले यहाँँ गाउँपालिकाको नेतृत्व सम्हालेपछिको यथार्थ अवस्था त्यस्तो छैन र हुन पनि दिदैंनौं । हामी जनप्रतिनिधिदेखि कर्मचारीहरु सम्मबाट अपनाउनुपर्ने सबै सतर्कता र सावधानी अपनाउन हामीले निर्देशन गरेका छौं । गाउँँपालिकाबासीको सेवालाई नै मुख्य लक्ष्य बनाएर हामी आएका छौं । यस कुरामा हामी आम गौरीगञ्जबासीलाई विश्वस्त दिलाउन चाहन्छौं । अहिलेनै धेरै कुरा पनि गर्नु राम्रो हुँदैन भन्ने लाग्छ । समय बाँकी छ हाम्रो कार्यकालका गतिबिधिहरुलाई नजिकबाट नियाल्नुहोस हामी पहिलाको तुलनामा व्यापक परिवर्तनको अनूभुति दिलाउँछौ ।

परिवर्तनको अनुभुति दिलाउन के कस्ता कार्यक्रमहरु अघि सारेको छ गाउँपालिकाले ?

हुन त अहिले हामी शुरुवाती चरणमा छौं मैंले अघि पनि भनें । भर्खरै निर्वाचन सकिएको छ । अब हाम्रा निर्धारित कार्यक्रमहरु कार्यान्वयन गर्दै जाने र भावी योजना तथा कार्यक्रमहरुलाई समावेश गर्दै जाने समय शुरु भएको छ । पहिलो कुरा त हामी शहरोन्मुख यो गौरीगञ्ज गाउँपालिकाको सबै भुगोलमाथि समान व्यवहार गर्छौ । ग्रामिण क्षेत्रलाई माथि उठाउने हाम्रो योजना छ । हामीकहाँ भौतिक पूर्वाधारका थुप्रै योजनाहरु छन । भौतिक पूर्वाधारको बिकास मात्रैले हाम्रो ठाउँको बिकासमा पूर्णता दिलाउन सक्दैन । मानव बिकास, सामािजक बिकासलाई जनसमुदाय सम्म पुरयाउनेछौं । बाल बच्चादेखि बृद्धबृद्धासम्म गौरीगञ्ज बासीहरुलाई छुने कार्यक्रम हामीले ल्याएका छौं । सुत्केरी महिलाका लागि पोषण कार्यक्रम, निशुल्क प्रसुती सेवा, प्रसुती यातायात सुविधा, दिर्घरोगी तथा जटिल किसिमका रोग लागेका बिरामीहरुको लागि सहायताका कार्यक्रमहरु हामी कार्यविधि बनाएर पारदर्शी र न्यायोचित ढंगटबाट कार्यन्वयन गरिरहेका छौं ।

हामीले गाउँघरमा जाँदा सबैभन्दा धेरै चासो र चिन्ताको बिषयका रुपमा शिक्षा र स्वास्थ्यको बिषय भएको पाएका छौं । हुन पनि यो जायज हो । सामुदायिक बिद्यालयको गुणस्तर सुधारमा हामीले स्पष्ट खाका र योजना बनाएर अघि बढेका छौं । यसमा हाम्रो कार्यपालिकाको सिंगो टिम लागेको छ । आकाशे पानीका भरमा खेती गर्नुपर्ने बाध्यताका किसानलाई बैकल्पिक सिचाइँको योजनाहरु पनि हामीले ल्याएका छौं । अहिले जनप्रतिनिधि र यो व्यवस्थाप्रतिनै जुन किसिमको वितृष्णा पैदा गर्ने गराउने काम भएको छ यसलाई रोकेर सकारात्मक परिवर्तनका लागि हामी अघि बढेका छौं । यसमा गाउँपालिकाबासी सबैले सहयोग गर्नुहुनेछ भन्नेमा हामी आशावादी छौं ।

गौरीगञ्ज गाउँपालिका भौगोलिक रुपमा समेत खोला नदीबाट बढी प्रभावित क्षेत्र हो यसको समधानका लागि तपाइँहरुको भुमिका के रहन्छ ?

हो हाम्रो गाउँपालिका क्षेत्र भित्र देशभरमै चर्चा हुने गरेको ठुलो प्रभाव पार्ने कन्काई देखि ससाना खोला नदी समेत ७ वटा खोला नदीहरु प्र्छन । यहाँ बर्षेनी २÷४ जना मानिसहरुको ज्यानै जाने गरी खोला नदीले दुख दिने गर्छ । सयौं विगाहा खेतीयोग्य जमिन वगर बनिरहेको छ । डुबानको समस्याले सयौं परिवारको उठिवास लाग्ने गरेको छ । यहाँ समस्याहरुको चाङ छ । हामी चुनौतीहरुको सामना गर्न तयार भएर नै यहाँका जनताको प्रतिनिधित्व गरेर आएका हौं त्यसकारण हामी भन्दा माथिल्लो तहमा पनि सरकार छन । हाम्रो स्थानीय सरकारले यि समस्याहरुमा माथिल्ला सरकारहरु सम्म पुलको भुमिका निर्वाह गर्ने हो । अभिभावकीय भुमिका खेल्ने हो । त्यसमा हामीबाट कुनै कञ्जुस्याइँ हुँदैन ।

यो गाउँपालिकाको भुगोलले राष्ट्रिय व्यक्तित्वहरुलाई सरकारको उच्च तहमा पाएको छ के अपेक्षा गर्नुहुन्छ ?

हो हाम्रो गाउँपालिकाको २ वटा वडा बाहेक सबै भुगोल झापाको क्षेत्र नं ५ मा पर्छ । यो क्षेत्रका बासिन्दा भित्रै पर्छन गौरीगञ्ज गाउँपालिकाका बासिन्दा पनि । यहाँका जनताको प्रतिनिधित्व गरेर प्रतिनिधि सभामा प्रतिनिधित्व गर्नुहुने माननीय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ । प्रदेश सरकारको मुख्यमन्त्री पनि यो क्षेत्रले पाएको छ । यहाँका जनताले पाएका छन । त्यसकारण अब यहाँको समस्याहरुको सम्बोधनका लागि हामीले उहाँहरु –माथिल्लो सरकार) सम्म पूलको काम गर्ने हो म एउटा पालिका अध्यक्षको हैसियतले उहाँहरुलाई बधाइ पनि दिन चाहन्छु । साथसाथै यहाँका समस्याहरुलाई नजिकैबाट बुझनु भएको छ, देख्नु भएको छ र समाधानका लागि के गर्नुपर्छ ? हामीले निर्वाह गर्नुपर्ने भुमिकामा कुनै कमि हुँदैन तर यि ठुला समस्याहरु, यहाँका नदीहरुको तटबन्धन, पक्की पूल, व्यवस्थित शहरको बिकास, यहाँको भन्सारको स्तरोन्नती लगायत यहाँका नागरिकहरुको अधिकतम समस्या समाधानमा हामीले अघि सारेका योजनाहरुमा आवश्यक बजेट उपलब्ध गराउन यहाँहरुको भुमिका हुनेछ भन्नेमा विश्वस्त छु ।
गाैरीगंज बुलेटिनबाट साभार

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  १० : २८ बजे