१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंजमा सुत्केरी सेवा लक्षित कार्यक्रम, ५६ जनाले लिए सुत्केरी पोषण



दमक/  गौरीगञ्ज गाउँपालिकाले प्रसुती सेवालाई प्रभावकारी रुपमा सञ्चालन गरेको छ ।
गाउँपालिका भित्र सरकारी स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य परिक्षण गराई प्रसुती सेवा लिन चाहने महिलाहरुलाई आवश्यकता अनुसार प्रसुतीका लागि सुत्केरी यातायात सेवामा लाग्ने खर्च ब्यहोर गर्दै आएको छ ।

चालू आर्थिक बर्षको पहिलो चार महिनामा यो सेवा ४१ जना महिलाले लिएका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी दिए । त्यस्तै सुत्केरी पोषण कार्यक्रम गाउँपालिकाका सबै वडामा चालू राखिएको छ । सुत्केरी पोषण कार्यक्रम अन्तर्गत गत वैशाख ४ गतेदेखि ५६ जना सुत्केरी महिला लाभान्वित भएका छन । वडाहरु मार्फत गाउँपालिकाभरिका महिलाले यो सुविधा लिएका हुन ।

यस अन्तर्गत सुत्केरी महिलाले जनही १ हजार ५ सय रुपैयाँ सुत्केरी पोषण खर्च पाउँदै आएका छन । गाउँपालिका अध्यक्ष फूलवती राजवंशीले सर्वसाधारण महिलालाई गर्भवती जाँच र सुत्केरी सेवा लिन सरकारी स्वास्थ्य संस्थामा आकर्षण बढाउने उद्धेश्यले सरकारले दिदैं आएको एक हजार रुपैयाँमा गाउँपालिकाको तर्फबाट ५ सय रुपैयाँ थप दिने व्यवस्था मिलाइएको बताइन ।
त्यसैगरी गौरीगञ्ज अस्पतालमा सञ्चालित निशुल्क प्रसुती सेवा गत बैशाख ४ गते यता १६ जना महिलाले लिएका छन । सोही अवधिमा सो अस्पतालमा आएर पनि प्रसुती सेवाका लागि अन्य ठुला अस्पतालमा रेफर गरिएका प्रसुती गराउने महिलाको संख्या २५ रहेको स्वास्थ्य शाखाले जनाएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष पूजन न्यौपानेले सर्वसाधारणलाई सरकारले ल्याएका कार्यक्रमहरुको बारेमा पर्याप्त जानकारी नहुँदा अझै पनि यस किसिमका सेवा लिनबाट बञ्चित भइरहेको हुन सक्ने तर्फ सबै जनप्रतिनिधि र कर्मचारीहरुले ध्यान दिन आवश्यक रहेको बताउँछिन ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  १ : ५५ बजे