१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

लाेक सांस्कृतिक पर्व भाक्का दिवस




दिपेश राजवंशी /
 आज पुर्वी नेपालमा राष्ट्रिय भाक्का दिवस हर्षोल्लासका साथ मनाइदै छ। विशेष गरि राजवंशी, ताजपुरिया, गन्गाइ लगायतका आदिवासी समुदायहरुको बसोबास रहेको झापा, मोरङ, सुनसरिमा आज छैठौं राष्ट्रिय भाक्का दिवस मनाइदै छ। आदिवासी समुदायको पहिचान संरक्षण साथै सामाजिक एवं सांस्कृतिक सद्भाव कायम गर्ने उद्देश्यका साथ कोचिला गाभुर फ्रन्ट सामाजिक सस्थाले वि.स २०७४ सालदेखी  हरेक वर्षको पौष २९ गते राष्ट्रिय भाक्का दिवस मनाउने निर्णय गरेको हो । झापा र मोरङको विभिन्न स्थानमा कार्यक्रमको आयोजना गरिए पनि ,कोचिला गाभुर फ्रन्ट केन्द्रिय  समिती र राजवंशी समाज विकास समितिको केन्द्रिय समितिको संयुक्त आयोजनमा विगतझै यस वर्ष पनि बिर्तामोडको सिटि सेन्टरमा सांस्कृतिक , श्रष्टा सम्मान, लोक कला साहित्य ,लोक पहिरन तथा गहना प्रदर्शनी, निशुल्क भाक्का लगायत विविध कार्यक्रम गरि राष्ट्रिय भाक्का दिवस मनाइदै छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको कलाकार तथा विशिष्ट व्यक्तित्वहरुको आतिथ्यता रहने कार्यक्रममा दस हजारभन्दा बढिको सहभागिता रहने आयोजकले जनाएको छ ।
               
 राजवंशी समाज विकास समितिका केन्द्रिय अध्यक्ष अभय राजवंशीका अनुसार ,”राजवंशी समुदायको लोक सास्कृतिक पर्व र खानपानको संरक्षण र प्रबर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष पौष २९ गते ‘भाक्का दिवस’ मनाउने निर्णय गरिएको हो। यस उत्सवले नयाँ पुस्तामा पनि आफ्नो संस्कार र समुदाय प्रतीको प्रेम र मौलिकता पुस्तान्तरण अवस्य हुन्छ। विविधताले भरिएको हाम्रो देशमा यो भाक्का दिवसले अवस्य पनि नेपाली समाजको सांस्कृतिक सम्पन्नता अझ मजबुत तुल्याएको  छ”।
                
 भाक्का, विशेष गरि जाडो मौसममा एकदमै रुचाइने खाध्य परिकार हो। यो राजवंशी समुदायको एउटा मौलिक परिकार हो । भाक्कालाई  राजवंशी समुदायले परम्परागत  खानपान अन्तर्गत खाने गर्दछन् । तर यतिबेला यसको स्वाद अनि स्वच्छताले सबैको मन र जिब्रो दुवै लोभ्याएको देखिन्छ। “भाक्का” बच्चा देखि बृद्धसम्म सबैले खान मिल्ने र रुचाउने गरेको हुनाले यसको लोकप्रियता दिनप्रती दिन बढ्दै गइरहेको छ।
    चामलको पिठोलाइ पानीको बाफमा पकाएर भाक्का बनाउने गरिन्छ। भाक्कालाई स्वास्थ्यको दृष्टिकोणले एकदमै स्वास्थ्यवर्दक मानिन्छ। राजवंशी समुदाय भित्र यसलाई कसैले चिया र चट्नीसंग खाजाको रुपमा लिने गर्छन् त कसैले बेलुकी भोजनको रुपमा खाने गर्दछन् । राजवंशी समुदायमा हिउँदे बाली घर भित्रियाएर ढुक्क भएपछी आनन्दले नयाँ चामलको पिठोको भाक्का खाने चलन भएकाले यसलाई फुर्सदको खाना पनि भन्ने गरिन्छ। बिर्तामोड ७, गरामुनी निवासी वृद्ध खिरमनी राजवंशीका अनुसार,”भाक्का राजवंशीहरुको परापुर्वकालदेखी खादै आएको मौसमी खान्गी हो जुन जातिय पहिचानसंग जोडिएको छ”। भाक्कालाई राजवंशी समुदायभित्र अतिथी सत्कारका लागि पनि खुवाउने गरिन्छ। भाक्कासंग बुवाली माछाको बेजोड स्वादले जो कोहिको मुख रसाउन सक्छ।  यसरी विविध तरिकाले भाक्का खाने चलन पुर्ख्यौली भए पनि अहिलेको नयाँ पुस्ताले पनि यसलाइ उत्तिकै रुचाउने गरेको देखिन्छ ।
भद्रपुर १० निवासी ७८ वर्षीय वृद्ध हरेन राजवंशीका अनुसार, भाक्का संगै पिठ पनि खाने चलन छ। “पिठ” चामलको पिठोबाट विशेष प्रकारले डल्ला बनाइ पानीमा उमालेर बनाइने एक परम्परागत परिकार हो। यसरी बनाइएको पिठ धेरै दिन सम्म राख्न मिल्ने भएकाले यसलाई इच्छा अनुसार आगोमा पोलेर वा अरु सब्जीको भाजी जस्तै पकाएर पनि खाने गरिन्छ।
         
भाक्का राजवंशी, ताजपुरिया, गन्गाइ आदि समुदायको भान्सामा मात्र सिमित नभएर आजभोली  गाउँ गाउँका हाटबजार अनि शहरका गल्ली देखी ठुला ठुला रेस्टुरेन्टहरुमा ग्राहकको मन पर्ने परिकार बन्न सफल भएको छ। यसरी भाक्का सबै उमेर अनि समुदायको मानिसहरुलाई स्वादको एक शुत्रमा बाँध्न सफल भएको छ । अर्कोतिर धेरै आदिवासी महिला दिदीबहिनीको मौसमी व्यवसाय बनेको छ, भाक्का व्यवसाय । यस्तो मौलिकता बोकेको “भाक्का” लाई संरक्षण र सम्बर्द्धन गर्दै नेपाली समाजको एकतालाई मजबुत बनाउन यस वर्ष छैठौं राष्ट्रिय भाक्का दिवसको अवसरमा झापा, मोरङ्को विभिन्न ठाउँमा कार्यक्रम आयोजना गरिएको बताउछन् , कोचिला गाभुर फ्रन्टका कार्यवाहक अध्यक्ष हंस नारायण राजवंशी ।  

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ६ : ०१ बजे