१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

लैगिंक हिंसा विरूद्व विभिन्न नारासहित गाैरीगंजमा र्याली



गाैरीगंज २०, मंसिर / सभ्य समाजको पहिचानः लैगिंक हिंसा विरुद्धको अभियान भन्ने मूल नाराका साथ लैगिंक हिंसाको १६ दिने अभियान अन्तर्गत आज गाैरीगंज गाउँपालिकाले विभिन्न नारासहित र्याली निकालेकाे छ । मंसिर ९ गते देखि सुरु भएको ३१ औँ लैगिंक हिंसाको अभियान मंसिर २४ गतेसम्म जारी रहनेछ । 
लैगिंक हिंसा अभियानको अन्तर्गत आज गाैरीगंज गाउँपालिकाले बजार परिक्रमा गरि जनचेतना मुलक र्याली निकालेकाे छ । गाैरीगंज गाउँपालिकाले ईलाका प्रहरी कार्यालय गाैरीगंज र राष्ट्रिय महिला सशक्तीकरण गाैरीगंजकाे सहयाेगमा लैगिंक हिंसा सम्बन्धि जनचेतना फैलाउने उदेश्यले लैगिंक हिंसा विरूद्वकाे विभिन्न नारासहित र्याली निकालेकाे हाे ।
गाैरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीकाे अध्यक्षतामा भएकाे समापन कार्यक्रममा उपाध्यक्ष पुजन न्याैपाने कुवँर, प्रमुख प्रशासकिय अधिकृत मणिराम खतिवडा, वार्ड नं ३ का अध्यक्ष श्रवण गिरी, कार्यपालिका सदस्य राधा अधिकारी, ईलाका प्रशासन कार्यालय गाैरीगंजका प्रमुख चुडामणी अाँपगाई, ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरी निरीक्षक जितेश दाहाल, राष्ट्रिय महिला सशक्तीकरण गाैरीगंजकी अध्यक्ष नाैताली राजवंशी, एसएन जेडीकी प्रतिनिधि रिता दाहाललगायतले मन्तव्य राखेका थिए ।
गाैरीगंज गाउँपालिकाले लैगिंक हिंसा विरूद्वकाे अभियानलाई कसरी प्रभावकारी बनाउने र अन्त्य गर्ने भन्ने विषयमा साेच्नु पर्ने बक्त्ताहरू बताएका थिए ।

गाैरीगंज गाउँपालिकाकि अध्यक्ष फुलवती राजवंशीले महिला पुरूषकाे बराबर सम्मान गर्दै गाउँपालिकाले गाउँपालिकाकाे न्यायिक समिति मार्फत पक्षपातरहित न्याय दिलाउने बताईन् ।
हाम्राे समाज पुरूष प्रधान भए पनि महिलाकाे न्यायकाे लागि जहिल्यै सकारात्मक रहने बताउदै घरबाटै छाेरा र छाेरीकाे भेदभावकाे अन्त्य गर्नु पर्ने अध्यक्ष राजवंशीले बताईन् । छाेरा बराबरकाे हक छाेरीकाे पनि लाग्ने बताउँदै समतामुलक समाजकाे निर्माणका लागि हामी आफैबाट शुरूवात गर्नु पर्ने अध्यक्ष राजवंशीले बताईन् । महिला हिंसा विरूद्वकाे कार्यक्रमका लागि तालिम हाेस् वा हिंसामा परेका महिलाहरूकाे न्यायका लागि हाेस् वा जिविकाेपार्जनका लागि हाेस् त्यसका लागि आवशयक बजेटकाे व्यवस्था गाउँपालिकाले गर्ने अध्यक्ष राजवंशीले बताईन् ।
गाउँ देहातमा लैगिक हिंसा विरूद्व जनचेतना फैलाउन सकिरहेकाे छैन । महिला हिंसा, याैन हिंसालगायत घरेलु हिंसा सम्बन्धि कुनै पनि घटना भए गाउँपालिकाकाे न्यायिक समितिमा निवेदन दिन गाउँपालिकाकी उपाध्यक्ष पुजन न्याैपाने कुवँरले अाग्रह गरिन् ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ३ का वडा अध्यक्ष श्रवण गिरीले लैगिंक हिंसा विरूद्व कुनै घटना भए खुलेर सम्बन्धि निकायमा सुचना दिन आग्रह गरेका छन् ।
गाउँपालिकाले महिला हिंसा सम्बन्धि कार्यक्रम शहरमा मात्र हाेईन गाउँ गाउँमा देहात बस्तीमा कार्यक्रम गर्न आग्रह गर्दै त्यसकाे कार्यान्वयनमा आफू लागी पर्ने कार्यपालिका सदस्य राधा अधिकारीले बताईन् । राष्ट्रिय महिला सशक्तीकरण गाैरीगंजकि अध्यक्ष नाैताली राजवंशीले गाैरीगंजमा नेपाल राष्ट्रिय महिला सशक्तीकरणले विभिन्न समुहहरू गठन गरी लैगिंक हिंसा विरूद्वकाे अभियानमा काम गरिरहेकाे बताईन् ।
गाउँपालिकाले यस संस्थालाई आवश्यक वजेटकाे व्यवस्था गरेदेखि संस्थाले विभिन्न जनचेतना कार्यक्रम, तालिम र हिंसा विरूद्वकाे कार्यक्रम गर्ने बताईन्।

लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक साँस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरि हुने हिंसालाई लैङ्गिकतामा आधारित हिंसा भनिन्छ । स्रोत, साधन, अवसर, जिम्मेवारि तथा हक, अधिकारको असमान वितरण, सानो उमेरमा वा बालविवाह, महिलालाई घरमा मात्र सिमित राख्नु, महिलाको कामको मूल्याङ्कन नगरिनु जस्ता लिङ्गको आधारमा हुने हिंसाहरू यस अन्तर्गत पर्दछ ।

साथै, लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्ने सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७१ अनुसार “लैङ्गिक हिंसा” भन्नाले सार्वजनिक वा निजी जीवनमा लैङ्गिक आधारमा कसै प्रति शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पुर्‍याउने कार्य सम्झनु पर्छ र सो शब्दले लैङ्गिक आधारमा हुने वा हुन सक्ने कुनै पनि प्रकारको अपमानजन्य, पीडाजन्य वा धम्कीपूर्ण व्यवहार, दवाव, करकाप वा स्वेच्छाचारी रुपमा महिलालाई स्वतन्त्रताको उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समेतलाई जनाउँछ ।

शारिरीक हिंसा

कुटपिट, जबरजस्ती, गर्भपतन गर्न लगाउनु, महिलालाई कामको बोझ थपेर दुःख दिनु वा शारीरिक रुपमा घाऊ, चोटपटक वा क्षति पुग्ने गरि गरिने कुनै पनि प्रकारका हिंसा यस अन्तर्गत पर्दछन् ।

मानसिक हिंसा

शारीरिक यातनाको डर, धाक, धम्की दिने, त्रासपूर्ण व्यवहार गर्ने, गालीगलौच गर्ने, अपशब्द बोल्ने, अरुका अगाडि होच्याउने, तिरस्कार गर्ने, झुठा बात लगाउने, घरबाट निकाला गर्ने, इच्छा विपरित काम गर्न लगाउने साथै बैचारिक, धार्मिक, साँस्कृतिक तथा परम्पराका आधारमा गरिने भेदभावलाई समेत जनाउँदछ ।

सामाजिक साँस्कृतिक हिंसा

सामाजिक संस्कार, धर्म परम्परा वा रीतिरिवाजका आधारमा गर्ने हिंसाहरु जस्तै बालविवाह, बोक्सिको आरोप, झुमा, देउकी, वादी, बोक्सी, बहुविवाह, सुत्केरी तथा रजस्वलाको समयमा गरिने छुवाछुतको व्यवहार वा छाउपडि इत्यादि सामाजिक साँस्कृतिक हिंसा भित्र पर्दछन् ।

यौनिक वा यौन हिंसा

काम गर्ने स्थान, अध्ययन–अध्यापन गर्ने स्थान, सार्वजनिक यातायात वा अन्य सार्वजनिक स्थानमा, घरभित्र वा जुनसुकै स्थानमा गरिने बलात्कार, बलात्कारको प्रयास, यौन दुव्र्यवहार, यौनशोषण, जबरजस्ती संवेदनशील अगंहरु छुने वा छुवाउने जबरजस्ती वा झुक्याएर यौन चित्र फोटो वा फिल्म देखाउने वा जबरजस्ती संवेदनशील चित्र, फोटो वा फिल्म खिच्ने, यौनजन्य कुराकानी वा शब्दहरूको प्रयोग गर्ने वा यस्तै प्रकारका अन्य घटनाहरू यौनिक हिंसा भित्र पर्दछन् । यौनिक हिंसाको धेरै जसो घटनाहरू चिनेजानेकै व्यक्तिहरूबाट हुने गरेको तथ्याङ्कले देखाउँछ ।

आर्थिक हिंसा

सगोल वा निजि सम्पतीको प्रयोग गर्न वा रोजगारी वा आर्थिक श्रोत साधनको पहुंच वा प्रयोगमा बञ्चित गर्ने कार्यलाई जनाउँदछ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ४ : २० बजे