१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

तथ्य र तथ्याङकले भन्छ–ओलीको क्षेत्रमा एमालेलाई चुनाव जित्नै मुस्किल





दमक / आसन्न मसिंर ४ गते हुने निर्वाचनमा झापा ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित दुवै प्रदेश सभा सदस्यका उम्मेदवारलाई चुनाव जित्न चुनौती देखिएको छ । एमालेले एक्लै चुनाव लडने उदघोष गर्दै आएको एमालेले चुनौतीको सामना एक्लैले गर्न सकेन ।
फलस्वरुप अहिले एमालेले ठाउँ ठाउँमा अरु दलहरुसंग पनि गठबन्धन गरिसकेको छ ।
बाहिर कार्यकर्ता र आम मतदातालाई आश्वस्त पार्न एमालेले आफनो संगठन बलियो रहेको तर्क पेश गर्ने गरेको भएपनि यथार्थमा एमालेले ओलीको गृह जिल्ला झापा र विशेष गरी ओलीले निर्वाचन जित्नकै लागि राप्रपासंग झापामै दुई वटा प्रदेश सभा सदस्य र एउटा संघीय निर्वाचन क्षेत्र राप्रपालाई दिइसकेका छन ।
एकातिर भर्र्खरै सम्पन्न भएको स्थानीय तह निर्वाचनमा ओलीको क्षेत्रमा खास गरी ओलीका विश्वास पात्र भनिएकाहरुबाटै भएको अन्तर्घात, स्थानीय बिकासका एजेण्डाहरुमा एमालेले गरेको चरम राजनीतिकरण, योजनाहरुमा परेको पार्टी भित्रैका डनवादको प्रभाव र त्यही प्रभावका आधारमा ओलीका आसेपासेहरुले गरेको एक्लौटी रजगजका कारण ओलीको क्षेत्रमा एमालेप्रतिको जनविश्वास घटदो छ ।
निर्वाचन क्षेत्र झापा ५ मा रहेका पालिकाहरुमा भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा पालिका प्रमुखमा एमाले इतरले पाएको कुल मत भन्दा एमालेले पाएको मत नै कम भएबाटै ओलीलाई चुनाव जित्न कठिन पर्ने तथ्याङकलेनै पुष्टि हुन्छ ।
यो क्षेत्र अन्तर्गतका चार पालिका मध्ये एउटा गौरादह नगरपालिका बाहेक अन्य पालिकामा एमालेले गएको निर्वाचनमा नेतृत्व गुमाइसकेको छ । दमक, गौरादह , कमल र गौरीगञ्ज गरी चारवटै पालिकाको प्रमुखमा एमालेले पाएको कूल मत ४२ हजार ७ सय ९८ छ भने यिनै पालिकामा एमाले इतरमा रहेको कांग्रेस , माओवादी र राप्रपाले पाएको मत ४७ हजार ५ सय ६६ रहेको छ ।
पालिका प्रमुखमा एमाले गठबन्धन भन्दा करिब ५ हजार मतले पछाडी छ भने यो तथ्याकंमा दमकमा एमाले इतरमा कांग्रेस, माओवादी र राप्रपा समेतले पाएको मत समावेश छ ।
अहिले एमालेसंगको राप्रपाको गठबन्धन भएपनि भर्खरैको स्थानीय चुनावमा राप्रपाले दमकमा मेयर पद जित्न एमाले इतर मुख्य गरी कांग्रेस र माओवादीकै साथ पाएका कारण तत्कालै राप्रपाका मतदाताहरुले कांग्रेस – माओवादीले मेयर पदमा राप्रपाका राम थापालाई मत दिएर लगाएको गुन बिर्र्सिइ हालेका छैनन ।
राप्रपाका कार्यकर्ताहरु एमाले विरुद्धको ६ महिना अघिको त्यो चुनावी रस्साकस्सीलाई बिर्सिएर अहिलेनै एमालेलाई मत हाल्न तयार नरहेका कारण एमालेले दमकबाट राप्रपाको मत लिन सक्ने आधार छैन ।
कमल गाउँपालिका अध्यक्षमा कांग्रेस, माओवादीसहित पाँच दलीय गठबन्धनले पाएको मत एमालेको भन्दा ३ हजार २ सय १५ ले बढी छ । यसमा राप्रपाले पाएको ७ सय ८२ मत मध्ये एमालेलाई आधा हिस्सा मुस्किलले जाने देखिन्छ । त्यस्तै गौरादहमा राप्रपाले १ हजार ५ सय ९० मत पाएको थियो । त्यहाँ पनि राप्रपाको शत प्रतिशत मत एमालेले पाउने देखिँदैन । राप्रपाको मुल एजेण्डा र एमालेको एजेण्डा फरक फरक भएका कारणपनि यहाँको समेत राप्रपाको आधा मत मात्रै एमालेले पाउनेछ । पालिकाको चुनाव गौरीगञ्जमा गठबन्धनरहित चुनाव भएको थियो । जहाँ कांग्रेसले ५ हजार ६ सय ८९ मत ल्याएर अध्यक्ष पदमा जितेको थियो । सो पालिकामा एमालेले ३ हजार ३ सय ३० ल्याएर दोश्रो भएको थियो भने राप्रपा ३ हजार ३ सय ७ ल्याएर तेस्रो भएका थिए । यो पालिकाका २ वटा वडा भने ओलीको क्षेत्रमा पर्दैनन ।
यो तथ्य र तथ्याङकसंग एमाले भित्रका बौद्धिक र तथ्यमा विश्वास गर्ने नेता, कार्यकर्ताहरु सहमत छन तर अध्यक्ष ओलीको वरिपरी घुम्ने र गुमराहमा राख्न उद्यत एमाले भित्रकै एउटा समुहले भने ओलीको जित सहज रहेको भन्दै नेतृत्वलाई गुमराहमा राखिरहेको छ ।
बिकासमा यसरी गरे विभेद
यो भुगोलबाट एमाले २०४८ साल यता संसदमा प्रतिनिधित्व गर्ने अवसर बारम्बार पाएको छ । अहिलेको क्षेत्र नं ५ अंकमा कहिले कहिं घटबढ भएपनि यो भुगोलबाट चुनिँदै संसदमा पुगेर मुलुकको प्रधानमन्त्री समेत भइसकेका छन एमाले अध्यक्ष ओली ।
उनको नेतृत्वमा मुलुकले दुई तिहाईको सरकार पनि पायो । तर यही क्षेत्रका आम नागरिकमाथि समान र न्यायपूर्ण व्यवहार हुन सकेन । ७ सय बढी चिहान उत्खनन गरेर आदिवासी रंगशाला तथा स्मृति पार्क बनाउने एमाले, कांग्रेस माओवादीसहितका दल रसरोकारवालाहरुबीच भएको सहमति उल्टाउँदै कमल ५ मा निर्माणको चरणमा रहेको आदिवासी रंगशालाको नाममा उनै ओलीले बखेडा झिके र मदन भण्डारी रंगशाला बनाउने प्रयास गरे ।
सरोकारवालाहरुले राखेको सहमति कार्यान्वयनको मागलाई वेवास्ता गर्दै योजनानै दमक तर्फ सारे । यसरी ओलीले आफनै क्षेत्रमा पर्ने कमलका सर्वसाधारणहरुमाथि अन्याय गरे । त्यति मात्रै होइन राष्ट्रिय विभूती महागुरु फाल्गुनन्दको अपमान गर्दै महागुरुको नाम जोडेर दमकमा बन्दै आएको फाल्गुनन्द सभा गृहको नाममा आफू नेतृत्वको सरकारले बजेट दिन नमिल्ने भन्दै यो सभा गृहको नाम पनि फेरेर दमक सभा गृह बनाउन लगाए । यहाँ रतुवा र कन्काई सम्म दाहसंस्कारस्थल बनाउने योजना अघि सारे तर किराँतहरुको समाधिस्थलनै मास्न अघि सरे ।
एक महिना अघि कमल गाउँपालिकामा आफनै पार्टीका कार्यकर्ताहरुले दमकलाई वासिङटन जस्तो र कमललाई श्रीलंका जस्तो बनाउन खोजेको भनि ओलीमाथि कडा प्रहार गरेका थिए । दमकमै उनका अघि पछि लाग्ने र अनावश्यक चाकडी गर्नेहरुले विपक्षीसंगको चुनावमा अन्तर्घात गरेर पनि अवसरहरु लिन छोडेका छैनन भने ओली निकट भएर काठमाडौंमा बस्दै आएका ठेकेदार मदन अधिकारीले ओलीसंगको पहुँचकै कारण रतुवा खोला तटबन्धनको ठेक्का वापत अढाई करोड बढी रकम पेश्की लिएर पनि कमल तर्फको भागमा अझै काम गरेका छैनन ।
यसको असर पनि यो चुनावमा एमालेले ब्यहोर्नुपर्ने देखिन्छ भने ओलीले शिलान्यास गरेको चिनियाँ लगानीमा बन्ने भनिएको औद्योगिक पार्कको शिलान्यासपछि कुनै काम अघि बढेको छैन । त्यहाँ बरु एमालेका नेता, कार्यकर्ताहरुले खोला कुदने जग्गा सस्तोमा खरिद गरी आफना नाममा ल्याएर मुआब्जा बापत करोडौं रुपैयाँ राज्यकोषबाट लिएका छन ।
दमकमा बनेका अधिकांश कालोपत्रे सडक यहाँका नगरबासीहरुको प्रत्यक्ष खर्चमा बनेका हुन । नगरपालिकाले नगर बिकास कोषबाट लिएको ऋण र नगरबासीहरुले घर घरबाट प्रतिफुटका हिसाबले खर्चिएको रकमबाट यहाँका धेरै सडकहरु कालोपत्रे र चिल्ला बनेका छन । यिनै सडकलाई देखाएर केपी ओलीले सोझा सिधा सर्वसाधारणलाई आफूले बनाएको बाटो भन्दै झक्याउने गरेपनि आगामी चुनावमा यहाँका मतदाताले उनलाई झड्का दिने योजना बनाएका स्थानीयस्तरमा चर्चा परिचर्चा हुने गरेको छ ।
प्रदेश सभा सदस्यलाई पनि उस्तै चुनौती
दमक र लखनपुरको भुगोल समेटिएको प्रदेश सभा निर्वाचन क्षेत्र खमा एमालेबाट उम्मेदवार रहेका होमबहादुर थापा र संयुक्त गठबन्धनका गगन पुरीबीच धेरै अन्तर देखेका छन यहाँका मतदाताले । युवा उमेरका पुरी माओवादी केन्द्रका प्रदेश कोषाध्यक्ष हुन भने एमालेका थापा प्रदेश कमिटी सचिवालय सदस्य हुन । थापाको तुलनामा पुरी यहाँका स्थानीय मतदाताहरुमाझ परिचित अनुहार हुन । यहाँका बिकासे मुद्धाहरुमा थापा भन्दा पुरी निक्कै परिचित र जानकार मात्रै होइनन बिकासे मुद्धाका योजनाकारनै पुरी भएका कारण पनि माओवादी, कांग्रेस मात्रै होइन यहाँका बिकासप्रेमी युवा, पाका सबै पुस्ताका अधिक सर्वसाधारणले पुरीको सक्रियता र योगदानको चर्चा गर्न थालेपछि एमाले भित्र अहिले खटपटी बढेको छ । साविक तोपगाछी , गौरादह र गौरीगञ्जको आशिंक भुभाग समेटिएको प्रदेश सभा क्षेत्र कमा समेत एमालेका हिक्मत कार्की कमजोर उम्मेदवारका रुपमा देखिएका छन । यसअघि समेत यो क्षेत्रबाट निर्वाचित भएर एक नम्बर प्रदेश सरकारको शक्तिशाली मन्त्रालय सम्हाल्दा समेत उनले यो भुगोलमा पर्याप्त बिकासका योजनाहरु भित्रयाउन नसकेको, प्रदेशको नामाकरण गर्न समेत असफल भएको , चुनाव जितेपछि अधिकांश समय जिल्ला बाहिरै बिताएको , आफनै नगर र क्षेत्रमा पार्टी नेतृत्वलाई पारदर्शी र सक्रिय ढंगले चलाउन नसकेको जस्ता आरोप कार्कीमाथि छ । उनका प्रतिस्पर्धीका रुपमा कांग्रेसका युवा नेता तथा उद्योगी व्यवसायीहरुको समेत नेतृत्व गरिसकेका गौरादह बजारका रैथाने उम्मेदवारका रुपमा जिवन राई गठबन्धनको साझा उम्मेदवारका रुपमा छन । विभिन्न सामाजिक संघ संस्था मार्फत आफनो क्षेत्रका गरीब, दुखि, असहाय र पीडितहरुका दुख सुखका सारथी बनेका राईलाई सो क्षेत्रमा साझा र २४ घण्टे एम्बुलेन्स उम्मेदवारका रुपमा क्षेत्रबासीहरुले लिएका कारण कार्कीलाई चुनाव जित्न चुनौती देखिएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ७ : २३ बजे