४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

कांग्रेसले झापा ५ का दुवै प्रदेश सभा क्षेत्रबाट गर्यो उम्मेदवार सिफारिस, एउटै क्षेत्रबाट ११ जनाको नाम



बायाँबाट क्रमश: अनिलकृष्ण प्रसाईं, जीवन राई , राजन ढुंगाना

दमक १६, भदाै / नेपाली कांग्रेसले झापा क्षेत्र नं ५ अन्तर्गतका प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ र ‘ख’ दुवैबाट उम्मेदवार सिफारिस गरेको छ ।
‘क’ बाट प्रत्यक्ष तर्फ तीन जनाको नाम सिफारिस भएको हो भने ‘ख’बाट एक दर्जन जति उम्मेदवार सिफारिस गरेपछि हल्ला खल्ला मच्चिएको छ ।

‘क’बाट सिफारिस भएका तीन जना उम्मेदवारहरुमा प्रदेश सभा क्षेत्र ‘क’का सभापति जिवन कुमार राई, अघिल्लो निर्वाचनमा सोही क्षेत्रका प्रत्यासी अनिलकृष्ण प्रसाइँ र अघिल्लो निर्वाचनमा क्षेत्र ‘ख’का प्रत्यासी राजन बहादुर ढुंगाना रहेका छन् ।
सो क्षेत्रमा सिफारिस भएका तिनै जनालाई सक्षम र जित्न सक्ने सम्भावना बोकेका नेताका रुपमा हेरिएको छ । राजनीतिमा अनुभव र खारिएकादेखि युवा पुस्ताको भावना समेटने जुझारु , सक्रिय नेताका रुपमा क्षेत्र ‘क’बाट प्रत्यक्ष तर्फ सिफारिस भएका उम्मेदवारहरुलाई हेरिएको छ । उनीहरूकाे नाम सिफारिस गर्दा क्रमागतरूपमा नाम नलेख्ने सर्वसम्मत सहमति भएकाे र समान हैसियतमा उम्मेदवारहरूकाे नाम लेख्ने निर्णय भएकाे छ ।

यता ‘ख’बाट सिफारिसमा परेका नेताहरुको नामको सूची निक्कै लामो छ । पार्टीको सर्कुलर तीन जना सम्मको नाम सिफारिस गर्नुपर्ने भनिएको भएपनि यो क्षेत्रबाट प्रत्यक्ष तर्फनै ११ जनाको नाम उम्मेदवारका लागि सिफारिस भएको बुझिएको छ ।

पार्टीको प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’को समितिले नाम सिफारिसका लागि समय कम भएको भन्दै फेसबुकमार्फत नै उम्मेदवार हुन चाहने नेताहरुलाई नाम टिपाउन सुचित गरेको थियो । सोही अनुसार प्रदेश सभा क्षेत्रीय समितिको सम्पर्कमा आएर इच्छा व्यक्त गरेका ११ जनाको नाम सिफारिस गरेको पाइएको हो ।
उम्मेदवार सिफारिस गरिएका नेताहरुको नामको सूची लामो भएपछि सिफारिस गर्दा कसको नाम कति नम्बरमा राख्ने भन्ने बिषयको टुंगो लगाउन पनि निक्कै हम्मे हम्मे परेको बुझिएको छ । सधैंका चुनावमा भन्दा यसपटक गठबन्धन भएका कारण पार्टीको भागमा यो क्षेत्र परेको खण्डमा चुनाव जित्न सहज हुने भन्दै आकांक्षीहरुको सूची लामो भएको हो ।
सिफारिस गरिएको प्रत्यक्ष तर्फको सूचीमा पहिलाे नम्बरमा पार्टीका झापा क्षेत्र नं ५ का क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीको नाम छ भने दोश्रो नम्बरमा पूर्व महासमिति सदस्य दिलबहादुर बुढथोकी, तेस्रो नम्बरमा प्रदेश समिति सदस्य चन्द्रा खडका, ४ नम्बरमा पार्टीका जिल्ला उपसभापति शेरबहादुर भटटराई र पाँचौं नम्बरमा पूर्व महासमिति सदस्य टिकाराज सापकोटाको नाम सिफारिस भएको छ । त्यस्तै छैठौं नम्बरमा पूर्व जिल्ला कोषाध्यक्ष देवी प्रसाद दाहाल, ७ औं नम्बरमा प्रदेश प्रतिनिधि तथा तत्कालिन लखनपुर गाउँ सभापति राजकुमार न्यौपाने, ८ औं नम्बरमा शान्ति पौड्याल , ९ औं नम्बरमा महाधिवेशन प्रतिनिधि विक्रम अधिकारी, १० औं नम्बरमा पूर्व महाधिवेशन प्रतिनिधि घनेन्द्रराज सुब्बा र ११ औं नम्बरमा प्रदेश सभा क्षेत्र उपसभापति सुरेन्द्र केसीको नाम सिफारिस गरेपछि कांग्रेस वृत्तमा खैलाबैला मच्चिएको छ । सिफारिस गरिनु पर्ने निश्चित संख्या भन्दा झण्डै चौगुणा धेरै नाम उम्मेदवारका लागि सिफारिस गरिएको र सिफारिसका क्रममा पार्टी मर्यादाको रोलक्रम समेत मिचिएको गुनासाेे छ । अस्वभाविक ढंगबाट उम्मेदवार सिफारिस भएका कारण कतिपय सिफारिसमा परेका उम्मेदवारहरुले नै आफनो नाम समावेश नगर्न भन्दै पार्टी नेतृत्वमा हारगुहार गरिरहेका बुझिएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहिबार  ७ : ३९ बजे