१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

‘एज’ले होइन, एजेन्डाले पार्टीलाई रुपान्तरण गर्न सकिने : महामन्त्री विश्वप्रकाश शर्मा



विर्तामोड ७, पुस / नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रुपान्तरित काङ्ग्रेसमा जोड दिएका छन् । 

उनले १४औँ महाधिवेशनमा पुस्तान्तरणको प्रक्रिया सुरु भए पनि पूर्ण नभएको बताएका छन् । उनले व्यक्तिको प्रतिनिधित्व ठूलो कुरा नभएको तर्क गरे । 

उनले भने, ‘ठूलो कुरा काङ्ग्रेसको रुपान्तरण हो, मेरो कार्यकाल त्यसमै खर्चन्छु ।’ महामन्त्री शर्माले बिपीले स्थापित गरेको संस्कारअनुसार पार्टीको आन्तरिक चुनाव भएको बताएका छन् । चुनावपछि सबै तिक्तता हटाएर अगाडि बढ्न सक्नुपर्ने बताए ।

उनले काङ्ग्रेसमा चार कुरा आवश्यक भएको बताए । महामन्त्री शर्माले भने, ‘भ्रातृसंस्थाको सही व्यवस्थापन, प्रवृत्तिमा रुपान्तरण, प्रविधिको प्रयोग र पुस्तान्तरणको प्रक्रियालाई टुङ्गोमा नपुर्‍याई केही हुन्न ।’ 

महामन्त्री भएपछि पहिलो पटक गृहजिल्ला आएका शर्माले कुनै पनि हालतमा राजसंस्था नफर्कने बताए । उनले भने, ‘कोही कसैमा भ्रम नराख्नुस् र कसैले पनि भ्रम नपाल्नुस् राजसंस्था फर्कदैन ।’

विचार प्रचार अभियानले आयोजना गरेको कार्यक्रममा शर्माले आफू बधाई दिन नभई झापा र झापालीलाई आभार व्यक्त गर्न आएको बताए । उनले हिजो र आजको सोचलाई एकाकार बनाएर अघि बढ्नु आवश्यकता भएको औँल्याए । उनले पार्टीको आन्तरिक प्रतिस्पर्धा सकिएको र सबै कुरा बिर्सेर काममा फर्कन आग्रहसमेत गरे । आफू शालीन र संयमित भएर अघि बढ्ने उल्लेख गरेका उनले आवश्यक परे विद्रोह गरेर अघि बढ्न पनि पछि नपर्ने बताए । 

‘एज’ले होइन, एजेन्डाले पार्टीलाई रुपान्तरण गर्न सकिने तर्क गरेका उनले अग्रजको अनुभव, युवाको तागत र जोसलाई साथमा लिएर पार्टी रुपान्तरणमा आफूले समय खर्चने विश्वास दिलाए । पार्टी र माटोप्रति सधैँ बफादार रहने उद्घोष गरेका शर्माले झापामा नेता कृष्ण सिटौलाको नेतृत्वमा पाँचवटै क्षेत्रमा चुनाव जित्ने गरी अघि बढ्ने बताए । उनले जिल्ला पार्टी नेतृत्वलाई अघि लगाएर हिँड्न र सहयोग गर्न कार्यकर्तालाई निर्देशन दिए ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ६ : ४९ बजे