४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

कांग्रेसको केन्द्रमा झापाली नेताहरुको दाबेदारी, सांसददेखि बिद्यार्थी नेता सम्म आकांक्षी



दमक/ नेपाली कांग्रेसको १४औं महाधिवेशनको उदघाटन भइसकेको छ ।  औपचारिक रुपमा नेतृत्व चयनको कसरतमा जोडतोडका साथ नेताहरु जुटेका छन । प्रदेश तहका अधिवेशनमा अधिकांश ठाउँमा युवा नेतृत्वको वर्चश्व देखिन्छ । निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्ये पनि करीब ६० प्रतिशत युवा पुस्ताका नेताहरु छन ।
कांग्रेसका विभिन्न संगठनहरूमा नेतृत्वदायी भूमिकामा रहेर काम गरेका युवा नेताहरू राष्ट्रिय राजनीतिमा होमिने तयारीमा छन् । त्यसका लागि महाधिवेशनबाट केन्द्रीय कार्यसमिति सदस्य निर्वाचित हुनुपर्छ । झापा कम्युनिष्टहरुले आफना दस्तावेज र औपचारिक , अनौपचारिक कार्यक्रमहरुमा लालकिल्ला अर्थात पकड क्षेत्र भएको जिल्ला हो । यहाँ कम्युनिष्टहरुको वर्चस्व छ । तथापी कांग्रेसको केन्द्रीय प्रवक्ताको भुमिकामा रहेका युवा नेता विश्वप्रकाश शर्मा पार्टीको महामन्त्रीमा आफनो दाबीसहित अघि बढिरहेका छन भने कांग्रेसको तर्फबाट संघीय संसदमा सदस्य रहेकी महेन्द्रकुमारी लिम्बु, झापाको राजनीतिमा लामो समय जिल्लाकै मियो बनेका संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटीदेखि यसअघि कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संगठन, तरूण दल लगायतका संगठनको नेतृत्वदायी भूमिकामा रहेर काम गरेका युवा नेताहरू अहिले पार्टीको केन्द्रीय सदस्य उम्मेदवार बनेर होमिएका छन ।
तिनै उम्मेदवार मध्ये झापाको क्षेत्र नं ५ अर्थात एमाले अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि युवा पुस्ताका नेता केन्द्रीय सदस्यको उम्मेदवारका रुपमा चुनावी मैदानमा छन ।
सांसददेखि सांसद बन्न नपाएका सम्म उम्मेदवार
संघीय संसद सदस्य एवं नेतृ महेन्द्रकुमारी लिम्बुले महिला कोटामा केन्द्रिय सदस्यमा उम्मेदवारी दिने सार्वजनिक गरिसकेकी छिन । कांग्रेसका स्थानीय अर्का नेता एवं चौथो पटक महाधिवेशन प्रतिनिधि निर्वाचित भएर महासमिति सदस्य समेत बनिसकेका सुरेश सुब्बा , महाधिवेशन प्रतिनिधि डा. खगेन्द्र पाण्डव अधिकारी र अनिलकृष्ण प्रसाइँ पनि यो महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार छन । संयोग सांसद लिम्बु, नेता सुब्बा र डा. अधिकारी तिनै जना एमालेका केपी ओलीसंग प्रत्यक्ष तर्फ आलोपालो चुनावी प्रतिस्पर्धा गरेर सांसद चुनिन नसकेका नेता हुन । सांसद लिम्बु प्रत्यक्षमा चुनिन नसकेपनि समानुपातिक कोटामा सांसद बनेकी भाग्यमानी नेतृ हुन । त्यस्तै नेता प्रसाइँ झापा ५ कबाट प्रदेश सभा निर्वाचनका प्रत्यासी हुन । पार्टीमा लामो प्रयास र अनुभव बोकेका यि नेताहरुलाई चुनौती दिदैं केही नयाँ पुस्ताका युवा नेताहरु ( झापा ५ केपी ओलीको निर्वाचन क्षेत्र)मा महाधिवेशन प्रतिनिधि चुनिएका छन । उनीहरुले आफनो केन्द्रीय नेतृत्वमा आफनो उम्मेदवारीबारे यसो भनेका छन –

विकृति हटाएर युवा नेतृत्व– मेदनी सिटौला


झापाका मेदनी सिटौला नेपाल विद्यार्थी संघको केन्द्रीय उपाध्यक्ष, तरूण दलको केन्द्रीय सदस्य र कांग्रेस महासमिति सदस्य समेत भइसकेका युवा नेता हुन् । सिटौला नेपाल विद्यार्थी संघको उपाध्यक्ष हुँदा गगन थापा महामन्त्री थिए । थापाले अहिले पार्टीको महामन्त्रीको उम्मेदवारी घोषणा गरेका छन् भने सिटौलाले यसपटक केन्द्रीय सदस्य बन्ने आकांक्षा राखेका छन् । अहिले सम्म जिवनको उर्जाशील समय पार्टी संगठन र जनसेवाका क्षेत्रमा बिताएर अहिले सम्म अविवाहित रहेका उनी नेपाली कांग्रेसमा देखिएको विकृति विसंगती अन्त्य गरेर प्रतिपक्षसँग खरोरूपमा उत्रन सक्ने पार्टी बनाउनका लागि आफूले उम्मेदवारी दिएको बताउँछन ।
पार्टीमा पुस्तान्तरण हुनुपर्ने तर्क गर्ने सिटौलाले कांग्रेसमा विधि र पद्धतिको कुरालाई जोडतोडका साथ उठाउने गरेका छन् । उनले कानूनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका छन् । उनले अध्ययनसंगै राजनीतिक व्यवस्था परिवर्तन तथा सामाजिक विकृतिहरुका विरुद्धका आन्दोलनहरुमा अग्रमोर्चामा रहेर नेतृत्व गरिसकेका छन ।

तुलसा पन्त – महिला र शिक्षा क्षेत्र प्राथमिकता 

अध्ययनको सिलसिलामा १६ बर्ष अघिदेखि बिद्यार्थी राजनीतिबाट कांग्रेसमा सक्रिय बनेकी नेतृ पन्तले आफू शैक्षिक तथा राजनीतिक आन्दोलनमा होमिएको र जिवनको महत्वपूर्ण समय राजनीतिक क्षेत्रमा नै बितिरहेकाले राजनीतिका माध्यमबाट नै आफू अघि बढन केन्द्रीय सदस्यमा उम्मेदवार बनेको बताइन । पद्यकन्या क्याम्पसमा भर्ना भएकी नेतृ पन्त त्यहाँ स्ववियुको कार्य समिति सदस्य हुँदै उपसभापति सम्म बनेर बिद्यार्थी हकहितको आन्दोलनमा सहभागी भएकी हुन । उनले सो क्याम्पसमा नेविसंघको इकाई सभापतिको जिम्मेवारी समेत सम्हालिसकेकी छिन । उम्मेदवारीको औचित्यबारे नेतृ पन्तले आफू शैक्षिक पृष्ठभुमीबाट राजनीतिमा आएका कारण आफनो पहिलो प्राथमिकता शैक्षिक मुद्धाहरु नै हुने बताइन । उनले भनिन– म बिद्यार्थी आन्दोलनबाट आएकी हुँ शैक्षिक क्षेत्रका समस्याहरुबारे मलाई थोरबहुत अरु भन्दा जानकारी छ त्यसकारण पनि शैक्षिक मुद्धाहरु मेरो पहिलो प्राथमिकतामा हुनेछन ।
उनले पार्टीका साथै सबै निकायमा महिला सहभागिता ३३ प्रतिशत अनिवार्य भएकाले यसको व्यवहारिक रुपमानै कार्यान्वयनका लागि आफूले महिला आन्दोलनको नेतृत्व लिन तयार रहेको पनि बताइन । २०६२ /०६३ को जनआन्दोलनसहित विभिन्न शैक्षिक तथा अधिकार प्राप्तीका आन्दोलनहरुमा अग्रमोर्चामा रहेर नेतृत्व गर्दै आएकी पन्त कांग्रेसको झापा – काठमाडौं सम्पर्क समिति कोषाध्यक्षसहित विभिन्न सामाजिक संघ संस्थाहरुमा पनि सक्रिय छिन ।
म लिनका लागि पार्टीमा आएको होइन – सत्यनारायण चौधरी

झापा ५ मै पछिल्लो समय पार्टीको आन्तरिक निर्वाचनमा साझा उम्मेदवार भएको दाबी गर्दै दोश्रो कार्यकालका लागि मधेसी कोटाबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका दमकका व्यवसायी तथा सामाजिक व्यक्तित्व हुन सत्यनारायण चौधरी । चौधरीले आफनो राजनीतिलाई अगाडी बढाउने सिलसिलामा यस पटक केन्द्रीय सदस्यको उम्मेदवार बन्ने निधो गरेको बताए । उनले कांग्रेसका हरेक नेता कार्यकर्ताहरुको मन भित्र बस्न सकेको महसुस गरेर आफू केन्द्रीय सदस्यमा उम्मेदवार बनेको बताए । मैंले सबैसंग सरसल्लाह र सुझाव लिएर नै उम्मेदवारको योजना बनाएको हुँ । मलाई विश्वास छ सबैले साथ सहयोग गर्नुहुनेछ । कांग्रेसमा आफू यो वा त्यो बहानामा जिम्मेवारीबाट पन्छिने किसिमको कार्यकर्ता नभएको बताउँदै चौधरीले भने–पार्टीलाई आवश्यक परेको बेला जहाँ, जस्तो पनि सहयोग गरेकै छु । मलाई माथिल्लो तहबाट पनि उम्मेदवारी दिने सुझाव आएकोले अघि बढेको हुँ । अब कांग्रेस राजनीतिको यात्रामा रोकिन चाहन्न । पार्टीले सञ्चालन गर्ने हरेक काम, कार्यक्रम होस वा भौतिक पूर्वाधार निर्माणको योजनामा उनको सक्रियता र योगदान रहँदै आएको छ । आफू कांग्रेसको राजनीतिमा आएर कसैको पनि भाग खोस्ने उदेश्यमा नलागेको र पार्टीबाट कुनै नाजायज फाइदा उठाउने उद्धेश्य नरहेको भन्दै चौधरीले भने–जति सक्छु यही समाज, देश र पार्टीलाई सहयोग गर्छु ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ११ : ०७ बजे