१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

केन्द्रीय सदस्यका उम्मेद्वार डा. खगेन्द्र पाण्डव अधिकारी






डा. खगेन्द्र पाण्डव अधिकारी २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा झापा क्षेत्र नं. ५ मा नेपाली कांग्रेसका तर्फबाट एमाले अध्यक्ष केपी ओलीलाई काउण्टर दिन उठाइएका उम्मेदवार हुन । झण्डै दोब्बर मतान्तरले ओलीसंग पराजयको पीडा ब्यहोरेका डा. अधिकारी झापा क्षेत्र नं. ५ बाट अत्यधिक मतले दाेस्राे स्थानमा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित अहिले उनी सर्वाधिक चर्चामा छन् ।
डा. अधिकारी जब कांग्रेसलाई झापा क्षेत्र नं ५ को भुगोलबाट एमाले अध्यक्ष केपी शर्मा ओलीसंग चुनावी प्रतिस्पर्धाको लागि उम्मेदवारको खाँचो पर्यो तब कांग्रेसको हेड क्वार्टरकै रोजाईमा परे । २०७४ सालको संघीय निर्वाचन क्षेत्रको निर्वाचनमा एमाले अध्यक्ष ओलीलाई काउण्टर दिनका लागि डा. अधिकारीलाई कांग्रेसले यहाँ उम्मेदवारको रुपमा खडा गरेको थियो ।
कांग्रेसले राजनीतिक रुपमा भन्दा पनि बौद्धिक, प्राज्ञिक तथा स्पष्ट दृष्टिकोण भएको नेताका रुपमा डा. अधिकारीलाई ओलीसंगको चुनावी प्रतिस्पर्धामा उनलाई प्रयोग गर्यो जसका कारण यस क्षेत्रमा असली कांग्रेसका मतदाताले रुखको विकल्प खोज्नु परेन । पार्टीप्रति इमान्दार नेता कार्यकर्ताहरुले यो क्षेत्रमा बैचारिक रुपमा फरक मत राख्ने उम्मेदवारलाई मत खसाल्नु पर्ने बाध्यता डा. अधिकारीले टारिदिए ।
एकातिर प्रतिस्पर्धी दलको उम्मेदवार हाइप्रोफाइल ( विशिष्ट श्रेणी)को हुनु त्यसमाथि तिनै उम्मेदवार बैचारिक , सैद्धान्तिक रुपमानै फरक तीन वटा पार्टीको संयुक्त उम्मेदवारका रुपमा रहनुले डा. अधिकारीका लागि २०७४ को चुनाव फलामको चिउरा सावित हुन पुग्यो । कति पनि विचलित नभई डा. अधिकारी ओलीसंगको प्रतिस्पर्धाका लागि आफनो तर्क र विचारहरु जनमानसमा राख्दै मतदाताको घरदैलोमा पुगेका नेता हुन । त्रिचन्द्र कलेज काठमाडौंको प्रध्यापन पेशालाई छोडेर डा. अधिकारी उम्मेदवारीका लागि तयार रहनुबाट उनी अदम्य साहसी र हिम्मतीला नेताका रुपमा लिन सकिन्छ ।

राजनीतिक इतिहास
नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा अनुमोदित डा. अधिकारी २०४९ सालमा केन्द्रीय क्याम्पस हात्तिसारमा नेविसंघका सभापति थिए । नेपाली कांग्रेसको केन्द्रीय अनुसन्धान तथा अभिलेख विभाग सदस्य, केन्द्रीय राज्य प्रशासन विभाग सदस्य र साढे १७ वर्ष त्रिवि प्रध्यापन सेवाको लामो अनुभव बटुलिसकेका डा. अधिकारी सौराष्ट्र युनिभर्सिटीबाट पिएचडी गरेका हुन् । कांग्रेसको महाधिवेशनका सन्दर्भमा डा. अधिकारी भन्छन–
पार्टीको आन्तरिक निर्वाचनमा कसैको हार र कसैको जित हुदैन । केबल जिम्मेवारी कसले लिने भन्ने विषय मात्र हो । जिम्मेवारी पाउनेले सबैको उचित कदर गर्नुपर्छ ।’ झापा क्षेत्र नं. ५ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधी खुल्लातर्फ निर्वाचित डा. अधिकारीले आपसी प्रतिस्पर्धा आवश्यक होइन चुनावमा कम्युनिस्टहरूलाई धुल चटाउनु पर्ने यहाँको आवश्यकता भएकाे धारणा राख्छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ५ : ५६ बजे