५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

कांग्रेस महाधिवेशन– झापा ५ का यि उम्मेदवार ,जसलाई जनमतको साख जोगाउनुपर्ने चुनौती



दमक/ नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत हुने क्षेत्रीय अधिवेशनमा झापाको क्षेत्र नं ५ अन्तर्गतका आधा दर्जन नेताहरु चुनावी प्रतिस्पर्धामा उत्रिदैंछन । यस क्षेत्रमा जनताबाट अनुमोदित कांग्रेस नेताहरु पार्टी कार्यकर्ताहरुबाट अनुमोदनका लागि आन्तरिक अधिवेशनमा होमिएका हुन ।

यस क्षेत्र अन्तर्गत गौरीगञ्जका ४ वटा वडा र गौरादहको ९ नम्बर वाहेकका सबै वडा र कमल गाउँपालिका र दमक नगरपालिका पर्छन । ति मध्ये कांग्रेसका लागि दमक स्थानीय निर्वाचन परिणाम शुन्य हात लागेको पालिका हो । दमक नगरपालिकाबाहेक सबै पालिकामा कांग्रेसका स्थानीय उम्मेदवारहरुले आंशिक तहमा स्थानीय निर्वाचनमा राम्रो जनमत प्राप्त गर्न सफल भएका थिए । विजेता नेताहरु आफनो कार्यकालको अन्तिम घडीतिर आइपुग्दा र उपविजेताहरु निर्वाचनको परिणामलाई स्विकार्दै पार्टीको आन्तरिक अधिवेशनमा कार्यकर्तामाझ होमिएका हुन । प्रस्तुत छ तिनै पात्र र पार्टीमा उनीहरुको नेतृत्वको आकांक्षाका बिषयमा सक्षिंप्त जानकारी –

रोहितकुमार साह ( मेयर गौरादह नगरपालिका)
रोहितकुमार साह गौरादह नगरपालिकाका निर्वाचित नगर प्रमुख हुन । देशका धेरै स्थानमा स्थानीय निर्वाचनको परिणाम कांग्रेसको पक्षमा आउन नसकिरहेको बेला साह झापाको माइपश्चिम भुगोलमा एक मात्रै पालिका प्रमुखको परिणाम कांग्रेसको पक्षमा पार्न सफल भएका नेता हुन । कांग्रेस जनमुखी पार्टी भएको प्रमाणित गर्न नेता कार्यकर्ताहरु जनताका हरेक दुखसुखमा साथी बन्न आवश्यक रहेको धारणा राख्ने गरेका साह १४ औं अधिवेशनमा कांग्रेस झापाको ध्यान खिच्न सफल मानिन्छन ।
पार्टीको क्षेत्रीय सभापतिमा समेत आन्तरिक रुपमा कार्यकर्ताहरुमाझ चर्चा गरिएका उनी हाल क्षेत्र नं ५ क को सभापति छन । उनी तत्कालिन क्षेत्र नं ६ का सभापति पनि हुन । यसपटकको महाधिवेशनमा उनी लोकप्रिय मतका साथ खुल्ला तर्फ महाधिवेशन प्रतिनिधिका रुपमा निर्वाचित हुने लक्ष्य राखेर चुनावी मैदानमा छन ।

दिपेन्द्र थापा ( उपाध्यक्ष गौरीगञ्ज गापा)
कांग्रेसको तर्फबाट २०७४ को स्थानीय निर्वाचनमा गौरीगञ्ज गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित युवा नेता हुन दिपेन्द्र थापा ।
गौरीगञ्ज ३ का स्थायीबासिन्दा थापा स्थानीय राजनीतिक तथा शैक्षिक व्यक्तित्वका रुपमा समेत चिनिन्छन । ग्रामिण क्षेत्रमा निजी बिद्यालयको स्थापना गरेर आफूलाई शैक्षिक जगतमा स्थापित गराएका उनी एकताका कांग्रेस भित्रै विद्रोह गरेर चर्चामा आएका थिए । कानुनमा स्नातक तथा राजनीति शास्त्रमा स्नाकोत्तर तह हासिल गरेका थापा यथार्थपरक कुरा राख्ने र दुरदृष्टि राखेर निर्णय लिने क्षमता भएको नेताका रुपमा चिनिन्छन । समयको अन्तरालसंगै उनले पार्टी भित्रै अन्तर संघर्ष गर्दै आफूलाई सच्याएर पुन कांग्रेसमा सक्रियता जनाएपछि २०७४ को निर्वाचनमा गौरीगञ्जमा कांग्रेसको साखलाई कायम राख्न सफल भएका नेता मानिन्छन । १४ औं महाधिवेशनमा थापा आफूलाई महाधिवेशन प्रतिनिधिका रुपमा कार्यकर्ताहरु माझ पेश गरिरहेका छन । उनको उम्मेदवारीलाई कांग्रेस वृत्तमा महत्वसाथ हेरिएको छ ।

हुकुमसिंह राई ( अध्यक्ष प्रत्यासी कमल गापा)
२०४६ सालमा नेविसंघबाट राजनीतिक यात्रा प्रारम्भ गरेका झापा कमलका स्थानीय युवा नेता हुकुमसिंह राई २०७४ सालको स्थानीय चुनावमा गाउँपालिकाको अध्यक्षमा बराबर मत पाएर गोलाप्रथाका कारण बाहिरिएका नेता हुन । चुनावी परिणामपछि उनको चर्चा चुलिएको थियो ।
कम्युनिष्टहरुले लालकिल्ला दाबी गरेको एमाले अध्यक्ष केपी ओलीको पकड भएको मानिने झापाको निर्वाचन क्षेत्र नं ५ अन्तर्गतको कमल गाउँपालिकाको अध्यक्षमा एमालेकी प्रतिस्पर्धी मेनुका काफलेसंग बराबर मतको जनादेश प्राप्त गर्न सफल राई जन्मसिद्ध कांग्रेस पार्टीका निष्ठावान र सशक्त कार्यकर्ता हुन । उनी झापा क्षेत्र नं ५ बाट चुनिनु पर्ने खुल्ला तर्फका १० संघीय महाधिवेशन प्रतिनिधिका उम्मेदवार हुन ।
एक ताका नेपाली कांग्रेसको महाधिवेशनमा सबैभन्दा कान्छो महाधिवेशन प्रतिनिधिका रुपमा सहभागी भएर पार्टीको केन्द्र सम्म चर्चामा आएका थिए । स्थानीय निर्वाचनपछिका चार बर्ष आफू कांग्रेसको पार्टी संगठन निर्माणका अतिरिक्त सामाजिक सेवाका कामहरुमा पनि आफूलाई सक्रिय बनाइराखेका राई विभिन्न प्राकृतिक विपत्तीमा गरीब, दुखि र असहायहरुको सहारा बनेर उभिएका छन ।

फुलवती राजवंशी ( प्रत्यासी गौरीगञ्ज गापा)
झापाको दक्षिण पश्चिम भुगोलबाट कांग्रेस झापाको नेतृत्वमा दर्बिलो उपस्थिती जनाइरहेकी नेतृ हुन फुलवती राजवंशी । गौरीगञ्ज निवासी राजवंशीले २०७४ को स्थानीय निर्वाचनमा सो गाउँपालिकाको अध्यक्षमा राप्रपाका बाबुराजा श्रेष्ठसंग कडा प्रतिस्पर्धा गरेर चर्चा कमाएकी हुन । उनले अध्यक्ष पदमा पाएको जनमतले कांग्रेसको गिर्दो साखलाई फर्काउन योगदान गरेको कार्यकर्ताहरुको बुझाई छ । पार्टीमा महिला कार्यकर्ताहरुको सक्रियता अधिवेशन र निर्वाचनहरुमा जस्तै बनाउन जिम्मेवारी प्रदान गर्नुपर्ने उनको धारणा छ । तत्कालिन झापा क्षेत्र नं ६ बाट महासमिति सदस्य भइसकेकी राजवंशी यसपटकको १४ औं महाधिवेशनमा क्षेत्र नं ५ बाट महाधिवेशन प्रतिनिधिकी उम्मेदवार हुन । उनले आफू आरक्षित कोटामा सिमित हुन नचाहेको खुल्ला प्रतिस्पर्धामा उत्रिन तयार रहेको जनाउँदै आएकी छिन ।

हेमन्त कार्की ( वडाध्यक्ष गौरादह २ )
युवा पुस्ता माझ आफूलाई सधैं नेतृत्व पक्तिंमा उभ्याउन सफल हेमन्त कार्की गौरादह नगरपालिका वडा नं २ का निर्वाचित वडाध्यक्ष हुन । २०४२ सालमा नेविसंघमा आवद्ध भएर शुरु भएको उनको राजनीतिक सांगठनिक सक्रियताले निरन्तरता पाईरहेको छ । आफनो राजनीतिक उचाईलाई अग्लो बनाउने सिलसिलामा कार्कीले नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत हुने क्षेत्रीय अधिवेशनमा आफूलाई खुल्ला तर्फको महाधिवेशन प्रतिनिधिको उम्मेदवारका रुपमा उभ्याउने भएका छन ।
मंसिरको दोश्रो साता हुने क्षेत्रीय अधिवेशनमा आफनो उम्मेदवारी पक्कापक्की भएको कार्की बताउँछन । मैंले कांग्रेसको राजनीतिमा आफूलाई एक खुडकिलो माथि बढाउन खोजेको छु मलाई विश्वास छ सबैले साथ सहयोग हुनेछ– कार्कीले भने ।
२०४२ सालमा नेविसंघमा आवद्ध भएका उनी नेविसंघ दमक बहुमुखी क्याम्पसको इकाई समिति सचिव हुँदै कांग्रेस गौरादह नगर सचिव र नगर सभापति समेत भए । हाल गौरादह २ को निर्वाचित वडाध्यक्ष कार्की स्थानीय विकास निर्माणमा सधैं नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएका युवा नेतृत्व हुन । उनी गौरादह नगर खेलकुद विकास समितिको अध्यक्ष पनि हुन । कार्कीले सामाजिक क्षेत्रमा आफूलाई क्रियाशील बनाउने सिलसिलामा नेपाल रेडक्रस सोसाइटी उपशाखा गौरादहको सचिवका रुपमा दुई कार्यकाल विताए । बिद्योदय अंग्रेजी मावि गौरादहको प्रिन्सिपल, शुभलक्ष्मी सहकारी संस्थाको व्यवस्थापक युनाइटेड युथ क्लब गौरादहको अध्यक्ष समेत भइसकेका उनले न्यू पब्लिक कृषि सहकारी संस्थामा प्रवन्ध निर्देशकको रुपमा समेत जिम्मेवारी सम्हालिसकेका छन । आफू वीपि विचारबाट प्रभावित भएर कांग्रेसको राजनीतिमा लागेको कार्की बताउँछन ।

मखना महतो ( गैदार) वडाध्यक्ष गौरीगञ्ज ३
मखना महतो झापाको पश्चिम दक्षिण भुगोलमा राजनीतिक तथा व्यवसायिक क्षेत्रमा परिचित नाम हो । गौरीगञ्ज गाउँपालिकाका हरेक गतिबिधिमा आफूलाई सक्रियतापूर्वक उभ्याइरहेका महतो वडा नं ३ का निर्वाचित वडाध्यक्ष हुन । आसन्न १४ औं महाधिवेशनमा आफूलाई मधेसी समुह तर्फबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवारका रुपमा प्रस्तुत गरेका महतोको उम्मेदवारीले कांग्रेसको यस क्षेत्रमा हलचल पैदा गरिदिएको छ । विशेषगरी आरक्षित समुहका रुपमा रहेको मधेसी समुह कांग्रेसको यस क्षेत्रको आधार समुह जस्तै मानिन्छ । क्षेत्र नं ५ को भुगोलमा यो समुदायको वसोबास उल्लेख्य संख्यामा रहेको र कांग्रेस कार्यकर्ताहरुको ठुलो हिस्सा मधेसी समुदायमा रहेका कारण यो समुहबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवारका रुपमा उभिएका नेता यस क्षेत्रका अन्य नेताहरुको समेत आकर्षण बनेका छन । महतोले लामो समयदेखि आफनो व्यवसायिक यात्राका क्रममा यो क्षेत्रमा आफूलाई निजी क्षेत्रको नेताका रुपमा समेत परिचित गराउन सफल मानिएका छन ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ७ : २८ बजे