१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दमकमा मिडियाकप व्याडमिन्टन – आँगनलाई हराउँदै हरप्रहरले जित्यो उपाधि




दमक/ नेपाल प्रेस युनियनले दमकमा आयोजना गरेको पाँचौ अन्तर मिडियाकप डबल व्याडमिन्टन प्रतियोगिताको उपाधि हरप्रहर मिडियाले जितेको छ ।
दमक ६ स्थित दमक व्याडमिन्टन क्लवको कभर्ड हलमा आइतवार सम्पन्न प्रतियोगिताको फाइनलमा हरप्रहरले बिर्तामोडको आँगन एफएमलाई हराउदै जित हासिल गरेको हो । हरप्रहरबाट सुसन राई र कविराज राई तथा आँगनबाट इन्द्रजित मुखिया र उमाकान्त खनाल सहभागि थिए । विजेता टिमले २१–१७,१३–१७ र २१–१७ को अन्तरले जित हासिल गरेको थियो ।
उपाधिसंगै विजेता टिमले नगद १० हजार, प्रमाणपत्र र मेडल प्राप्त गरयो भने उपविजेतामा चित्त बुझाउनुपरेको आँगन एफएमले नगद ६ हजार,मेडल तथा प्रमाणपत्र पाएको थियो ।
विजेता,उपविजेता खेलाडीहरुलाई नेपाली कांग्र्रेसकी नेत तथा संघीय संसद सदस्य महेन्द्रकुमारी लिम्बूले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेकी थिइन् । प्रतियोगितामा झापाका १४ वटा सञ्चार संस्थाले सहभागिता जनाएका थिए ।
नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समितिले वडादशै,दिपावली ,छैठ पर्वको अवसर पारेर बर्सेनी आयोजना गरिआएको खेलकुद कार्यक्रम अन्तर्गत यसवर्ष अन्तरमिडिया कप डवल व्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको हो ।
यूनियनका क्षेत्रीय समिति अध्यक्ष बिष्णु सुब्बाले सञ्चारकर्मीहरुको बीचमा शुभकामना आदनप्रदान तथा मित्रतालाई अझ बढी सौहार्द बनाउने र खेल क्षेत्रमा पत्रकारहरुलाई अभ्यस्त बनाउन सहयोग पुरयाउने उद्धेश्यले सो प्रतियोगिता आयोजना गरिएको हो । सो अवसरमा सांसद लिम्बुले गत बर्षको दशैं पूर्ण रुपमा कोरोनाका कारण उल्लासमय हुन नसकेपनि यो बर्ष कोरोना विरुद्धको खोप अधिक नेपालीले लगाइसकेका कारण तुलनात्मक रुपमा सहज भएपनि अझै सावधानी अपनाउन भने आवश्यक रहेको बताइन ।
अध्यक्ष सुब्बाको अध्यक्षतामा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा यूनियनकी जिल्ला अध्यक्ष इन्दु पूर्वेली , नेपाल पत्रकार महासंघ प्रदेश समितिका कोषाध्यक्ष बिमल लामिछाने लगायतले बोलेका थिए । त्यस्तै कार्यक्रममा महासंघका जिल्ला सचिव डिकेश लामा, संघीय प्रेस नेपालका उपाध्यक्ष कमन देवान, संघीय लिम्बूवान पत्रकार संघका अध्यक्ष दिलकुमार लावती , प्रेस चौतारीका गोपाल झापाली, पत्रकार पत्रकार मञ्च दमकका पूर्व अध्यक्ष विष्णु पोखरेल, नारी सञ्चार गृह झापाकी सचिव भूमिका सुब्बा लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा नेपाली कांग्रेसका नवनिर्वाचित नगर सभापति प्रकाश प्रसाइँ, उपसभापति युवराज खनाल ( सागर) लगायतको पनि उपस्थिती रहेको थियो ।
दमक व्याडमिन्टन क्लवको व्यवस्थापन तथा नेपाली कांग्रेसका नेता तथा विभिन्न संघ संस्थाहरुको विशेष सहयोगमा सञ्चालित सो प्रतियोगितामा दमक ब्याडमिन्टन क्लबले प्राविधिक सहयोग उपलब्ध गराएर सहकार्य गरेको खेल संयोजक विष्णु पौडेलले जानकारी दिए । कार्यक्रमको सञ्चालन यूनियनका जिल्ला उपसभापति गिरीराज भट्टराईले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ६ : ४७ बजे