५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

‘कांग्रेसमा रूपान्तरण र सुदृढीकरणका लागि मेराे उम्मेदवारी’ – हुकुमसिं राई





दमक / हुकुमसिं राई नेपाली कांग्रेस झापाका युवा नेता हुन । बिद्यार्थी कालमा नेविसंघबाट राजनीति शुरु गरेका उनले एक ताका कांग्रेस महाधिवेशनमा सबैभन्दा कान्छो महाधिवेशन प्रतिनिधिका रुपमा सहभागी भएर विशेष चर्चा कमाएका थिए । २०७४ सालमा भएको स्थानीय निर्वाचनमा पनि उस्तै चर्चा कमाए । झापाको कमल गाउँपालिका वडा नं ५ का स्थायीबासिन्दा युवा नेता राईले गाउँपालिकाको अध्यक्षमा एमाले नेतृ मेनुका काफलेसंगको चुनावी प्रतिस्पर्धामा बराबर मत पाएपनि गोलाप्रथाबाट अध्यक्ष चुनिन सकेनन ।

वामपन्थीहरुको लाल किल्लाका रुपमा रहेको तत्कालिन तोपगाछी र लखनपुर गाविसको समायोजनपछि बनेको कमल गाउँपालिकामा कांग्रेसका उम्मेदवार राई र एमालेकी काफलेले गाउँपालिका अध्यक्षमा क्रमश: ८,२७५ ८,२७५ मत पाएपछि उनको लोकप्रियता कांग्रेसजनमा मात्रै नभएर झापामै देखियो । यसैको परिणामस्वरुप कांग्रेस झापाले उनलाई जिल्ला सदस्यमा मनोनित गर्दै आदिवासी जनजाती विभाग झापाको प्रमुखको विभागीय जिम्मेवारी समेत दियो । स्थानीय मंगलमया माविको व्यवस्थापन समिति अध्यक्ष, सगुन युवा क्लबको अध्यक्ष लगायतका जिम्मेवारी सम्हालेर स्थानीयस्तरमा नेतृत्वको अभ्यास गरेका उनले राजनीतिसंगै सामाजिक क्षेत्रमा पनि आफनो पहिचान छोडेका छन ।

गरीब विपन्नहरुका घर निर्माणदेखि, उपचार सहायता र विभिन्न प्रकोपहरुको समयमा राहत तथा उद्धार कार्यमा स्थानीय निर्वाचनको परिणाम पछि पनि उनले देखाएको सक्रियताले सामाजिक क्षेत्रमा उनको कदलाई अझ बढाएको छ । दुई बर्ष अघि कमल ५ का आगलागी पीडित परिवारलाई नगद ५० हजार रुपैयाँ राहत सहयोग गरेर आफनो जन्मदिन मनाएका राईकै नेतृत्वमा कमल ६ मा आगलागीका कारण जलेर उपचार अभाव झेलिरहेकी कूलमाया बस्नेतको उपचारका लागि अन्तिम घडी सम्म प्रयत्न गरिएको थियो । देश विदेशबाट समेत उनलाई सो कार्यमा प्रोत्साहन गर्दै युवाहरुले गरेको सहयोगका बाबजुद कूलमायालाई बचाउन नसकेपनि राईकै नेतृत्वमा उनको परिवारलाई जग्गाको व्यवस्थापन गरि पक्की घर निर्माण गरेर हस्तान्तरण गरिसकिएको छ । त्यसैगरी कमल ५ को टुकुरे बस्तीकी एकल महिला संगिता राईको परिवारलाई घर बनाएर दिएको खुशीले होस वा कमल १ का बाढी पीडितहरुमाझ खाद्यान्न राहत को व्यवस्थापन उनकै नेतृत्वमा भएको थियो ।

गाउँपालिका अध्यक्षमा गोलाप्रथाबाट बाहिरिनु परेपछि राईले सामाजिक तथा राजनीतिक क्षेत्रमा बढाएको सक्रियताले उनको राजनीतिक भविष्य अझ माथि उठने अनुमान राजनीतिक बृत्तमा छदैछ ।

यसबीचमा नेता राईले कांग्रेसको १४ औं महाधिवेशनमा आफूलाई प्रतिनिधित्व गराउन झापा क्षेत्र नं ५ बाट खुल्ला तर्फ आफनो उम्मेदवारी घोषणा गरेका छन । दशैंपछि हुने तय भएको क्षेत्रीय अधिवेशनमा उनले आफूलाई कांग्रेस भित्रका विकृतिहरुको व्यापक सुधारका लागि भन्दै महाधिवेशन प्रतिनिधि बन्ने निधो गरेका हुन । उनको उम्मेदवारीले क्षेत्र नं ५ को ग्रामिण क्षेत्र गौरीगञ्जदेखि दमक सम्म फरक किसिमको चर्चा पाएको छ । पारिवारिक पृष्ठभुमी समेत कांग्रेससंग जोडिएका राईलाई पार्टी भित्र स्पष्ट विचार राख्ने, हक्की र विपक्षी दलहरुसंग कडा टकराव गर्न सक्ने युवा नेताका रुपमा चिनिन्छ । नेपाली कांग्रेसको गाउँ ÷ नगर तह सम्मको अधिवेशन सम्पन्न हुँदै गर्दा पार्टीमा युवा वर्गको प्रतिनिधित्वले कांग्रेसको १४ औं महाधिवेशनका लागि तय भएको उत्साह, एकता र रुपान्त्रणको नारालाई सार्थक बनाउन केन्द्र तह सम्म युवापुस्ताको प्रतिनिधित्व आवश्यक देखेको उनको भनाई छ । राई भन्छन– कांग्रेसमा युवाहरुको ठुलो जमात आफनो भविष्य खोजिरहेको छ, फरक आस्था, विचार र सिद्धान्तमा हिंडेका नेता कार्यकर्ताहरु पनि कांग्रेसप्रति आकर्षित भएका छन यो यथार्थ अवस्थालाई अबको कांग्रेसले आत्मसाथ गर्नुपर्छ । कमलका युवाहरुमा कांग्रेसप्रतिको आकर्षण उनकै सक्रियताका कारण बढेको र सधैं युवा पुस्तालाई पार्टीमा उचित स्थान हुनुपर्छ भन्ने मान्यता उनले राख्दै आएका छन ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ११ : ०६ बजे