४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

झापा गापाका १२ घर डुबानमा, गौरीगंंजका ९० घर जोखिममा



झापा १२, भदौ /  लगातारको अविरल वर्षाका कारण झापा जिल्लाको जनजीवन प्रभावित बनेको छ ।
वर्षाले जिल्लाका अधिकांश खोला तथा नदीहरूमा पानीको बहाव बढेपछि कतै डुबान भएको छ भने कतै कटानले क्षति पुर्याएको छ । खासगरी दक्षिणी क्षेत्रका पालिकाका बस्तीहरू उच्च जोखिममा पुगेका छन् ।

केही दिनदेखि परेको अविरल वर्षाका कारण झापा गाउँपालिका ५ पन्थापाडाका १२ घर डुबानमा परेका छन् । माथिबाट परेको वर्षाको अन्दाजी २ फिट पानी घरआँगनमा जमेको छ । जमेको पानी निकासको लागि सम्बन्धित निकायसँग समन्वय भईरहेको बताउँदै डिएसपी थापाले उक्त स्थानमा प्रहरी चौकी शरणामतिबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली खटिएको जानकारी दिए ।
त्यस्तै अबिरल बर्षाका कारण गौरीगञ्ज १ रंगियाथानस्थित माईखोलामा आएको बाढीले उक्त खोलामा लगाएको अन्दाजी ३५/४० मिटर बाँध भत्काएको छ ।
बाढी कटान गरी खेतमा आईपुग्न लागेको र पानीको बहाव अझै बढ्न गएमा नजिकै रहेको धान खेतीसँगै करीव ३ किलोमिटर दक्षिण महाभारा तथा कुन्जीबारी क्षेत्रमा रहेका ८०–९० घर डुबानको उच्च जोखिममा रहेका छन् । बाँध बाध्नेतर्फ स्थानीय निकायसंग समन्वय भईरहेको थापाले जानकारी दिए । बस्ती डुबानबाट जोगाउन बाँध बाँध्नका लागि प्रहरी चौकी महाभाराले सम्बन्धित निकायसँग समन्वय गरिरहेको उनले बताए।
अहिलेसम्म बाढीका कारण जिल्लामा कुनै मानवीय र भौतिक क्षति नभएको उनको भनाइ छ । घाग्रा खोलामा आएको बाढीले अर्जुनधारा नगरपालिका–५ स्थित पाण्डवपुर बस्ती जोखिममा रहेको छ ।

खोलामा आएको बाढीले अर्जुनधारा–५ मा तटीय क्षेत्र कटान गरिरहेको रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाका उपसचिव ओमप्रकाश लुइँटेलले जानकारी दिए । तटीय क्षेत्र यसरी नै कटान हुँदै गए त्यस क्षेत्रमा ठूलो क्षति हुन सक्ने स्थानीयको अनुमान छ । स्थानीय देवराज बुढाथोकीको घर छेउसम्म खोलाले कटान गरिरहेको बताइएको छ।
त्यसैगरी कचनकवल– ५ स्थित पाठामारीमा मेची नदीले तटीय क्षेत्र कटान गर्दै नदीको पानी बस्ती नजिकै पुगेको छ । मेची नदीले केही दिनअघि ११२ नम्बर सीमा पिलर बगाएर लगेपछि त्यसका बासिन्दा उच्च जोखिममा रहेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पाठामारीले जनाएको छ।
११२ नम्बर पिलर नजिकै नेपाली र भारतीय दुवै बस्ती रहेको छ । सबैभन्दा बढी जोखिममा भारतीय नागरिक रहेको बिओपी पाठामारीका सई रुद्र श्रेष्ठले जानकारी दिए। नदीमा पानीको बहाव बढेमा बाँकी रहेको तटीय क्षेत्र कटान गर्दै बस्ती बगाउने खतरा रहेको उनले बताए । त्यस्तै कचनकवल– ४ स्थित ११९–२८ नम्बर सानो पिलर बगाउने अवस्थामा पुगेको छ।
जमुना नदीले तटीय क्षेत्र कटान गर्दै पिलर ढल्ने अवस्थामा पुगेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कचनकवलका प्रहरी निरीक्षक भक्त थापाले जानकारी दिए। साथै ११९–२३ नम्बर पिलर पानीमा डुबेको उनले बताए । साथै कचनकवलका अधिकांश स्थान जलमग्न भएको स्थानीयबासीहरु बताउँछन्। अविरल वर्षाले खोला तथा नदीहरूमा पानी बढिरहेकोले जिल्ला विपत् व्यवस्थापन समितिले जिल्लाका १३१ वटा वडाको अवस्था बुझ्न स्वयम्सेवक परिचालन गरिसकेको विपत् व्यवस्थापन समितिका सदस्य लोकराज ढकालले जानकारी दिए । जिल्लाका मेची, निन्दा, माई, कनकाई, मावा, देउनिया, हडिया, अदुवालगायतका खोलामा पानी वहाव बढेको जनाइएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ४ : ५६ बजे