२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024

झापामा अपाङ्गता भएकाहरु भोकै बस्नुपर्ने अवस्था राहतका लागि खाद्यान्न, प्याड, मास्क र सेनिटाइजर दिन अपिल




बिर्तामोड, साउन २७/ कोभिड–१९को बढ्दो संक्रमण र महामारी नियन्त्रणका लागि सरकारले जारी राखेको निषेधाज्ञाका कारण झापामा अपाङ्गता भएकाहरु भोकभोकै बस्नुपर्ने अवस्था आएको सम्बन्धित क्षेत्रका अगुवाहरुले बताएका छन् ।
अपाङ्गता भएकाहरु र उनीहरुका आश्रित परिवार अहिले खाद्यान्न र आधारभूत स्वास्थ्य सामग्रीको अभाव झेलिरहेको बताइएको छ । मंगलवार बिर्तामोडमा संवाद समूह झापाको संयोजनमा कोभिड–१९ महामारीमा अपाङ्गता भएकाहरुले भोग्नुपरेका समस्या र समाधानका उपाय विषयमा भएको छलफलमा त्यस्तो बताइएको हो ।
सडकपेटीमा गीत सुनाएर माङजुङ गरी पेट पाल्दै आएका नेत्रहीनहरु तथा आफ्ना उत्पादन बजारमा लगेर विक्री गर्ने, मजदुरी गर्ने र रोजगारी गर्ने अपाङ्गता भएकाहरुको रोजी–रोटी कोभिड–१९को संक्रमण र निषेधाज्ञाका कारण खोसिएकोले भोकै बस्नुपर्ने अवस्था आएको बताइएको छ ।
बिर्तामोड अपाङ्गता स्वावलम्बन संस्थाका अध्यक्ष दीपक थापाले जिल्लामा तत्कालै पहिलो चरणमा अपाङ्गता भएका एक सय ५० परिवारलाई खाद्यान्न र आधारभूत स्वास्थ्य सामग्री पु¥याउन आवश्यक भएको बताए । थापाले खाद्यान्न, मास्क, सेनिटाइजर, अपाङ्गता भएका महिलाका लागि सेनिटेरी प्याडको चरम अभाव भएको बताए । उनले नियमित औषधि सेवन गर्नेहरुका लागि रकम अभाव, त्यहाँ घर भाडा तिर्न र खाना पकाउने ग्यास खरिद गर्न पनि कतिपयले समस्या झेलिरहेको बताए ।
नेत्रहीन संघ झापाका उपाध्यक्ष चन्द्रप्रसाद भट्टराईले कोभिड–१९का कारण नेत्रहीन बालबालिकाहरु शिक्षाबाट पूर्ण रुपमा बञ्चित भएको बताए ।  झापाका २६ जना नेत्रहीन बालबालिका इन्टरनेट र डिभाइस खरिद गर्न नसक्दा अनलाइन शिक्षाबाट समेत बञ्चित भएको बताए । उनले अपाङ्गता भएकाहरुले आफ्ना सहायक सामग्रीहरुको समेत अभाव झेलिरहेको बताए । अहिले मर्मत गर्ने र नयाँ खरिद गर्ने अवस्था नभएको हुँदा सेतो छडी, ह्वील चियर, श्रवण यन्त्र, जुत्ता लगायतका सहायक सामग्रीको अभाव झेल्नु परेको बताए ।
अपाङ्गता स्वावलम्बन संस्थाका कोषाध्यक्ष पद्म अधिकारीले यातायात अभावमा अपाङ्गता भएकाहरुलाई अत्यावश्यक काममा हिंड्डुल गर्न समेत समस्या भएको बताए । उनले स्थानीय सरकार र जिल्ला स्वास्थ्य कार्यालयले जारी गर्ने कोरोना संक्रमित र मृतकको तथ्यांकमा अपाङ्गता भएकाहरुको छुट्टै संख्या समेत उल्लेख गर्न आग्रह गरे ।
नेत्रहीन संघ झापाका सचिव भोजकुमार तामाङले नेत्रहीनहरु माग्न जान ठाउँ नभएपछि भोकभोकै बस्नुपर्ने अवस्था आएको बताए । उनले स्थानीय सरकार र सरोकारवालालाई आफ्नो पीडा बुझिदिन आग्रह गरे ।  तामाङले अपाङ्गता भएकाहरुलाई मनोसामाजिक परामर्श पनि आवश्यक भएको बताउँदै उनीहरु संक्रमित भएको खण्डमा उपचारमा विशेष ध्यान दिन सरकारलाई आग्रह गरे ।
कनकाई अपाङ्गता समावेशी संस्थाकी अध्यक्ष सृजना बरालले डेरा गरी बस्ने अपाङ्गता भएकाहरुलाई घर भाडा छुट दिन र त्यसका लागि पहल गरिदिन स्थानीय सरकारलाई आग्रह गरिन् । झापामा तीन जना नेत्रहीन कोरोनाबाट संक्रमित भएको पनि उनले बताइन् । अपाङ्गता भएकाहरुले उत्पादन गरेका फिनेल, हार्पिक, अगरवत्ती, कुचो जस्ता सामग्री विक्री गर्ने ठाउँ नहुँदा भोकै बस्नुपर्ने अवस्था आएको बरालले सुनाइन् ।
हल्दिवारी अपाङ्ग उत्थान समूहका अध्यक्ष दिलकुमार राजवंशीले सार्वजनिक यातायातका कर्मचारीले अपाङ्गता भएकाहरुलाई गाडीमा चढ्न नदिने, गाडी नरोकिदिने र हेला गर्ने गरेको बताए । यस्तो समस्या मुख्य राजमार्गमा भोग्नु परेको उनले बताए । कोभिड–१९को अहिलेको समयमा किनमेल र बैंकमा जाँदा अपाङ्गता भएकाहरुलाई प्राथमिकता दिनुपर्ने उनले बताए । आफूहरुले खरिद गर्ने सामग्रीको सूची पसलका कर्मचारीलाई दिँदा उनीहरुले नै उक्त सामान झोलामा हालेर दिने व्यवस्था गर्न सके संक्रमणको जोखिम कम हुने राजवंशीले बताए ।
छलफलको सहजीकरण संवाद समूहकी कमला भट्टराईले गरेकी थिइन्

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ८ : ०५ बजे