२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

‘हाम्रो कार्यकाललाई सफल कार्यकालको रुपमा नै लिनुपर्छ’ : वडा अध्यक्ष राजवंशी



अघनु प्रसाद राजवंशी : गौरीगञ्ज गाउँपालिका वडा नं २ का वडाध्यक्ष

अघनु प्रसाद राजवंशी गौरीगञ्ज गाउँपालिका वडा नं २ का वडाध्यक्ष हुन । चार बर्ष अघि स्थानीय तहको निर्वाचनपछि संघीयता कार्यान्वयनको पहिलो चरण शुरु भएको थियो । संघीयताको मर्म र भावना अनुसार बनेका स्थानीय सरकारबाट नागरिकहरुले धेरैनै अपेक्षा राखेका थिए । के नागरिकहरुका सबै अपेक्षा पूरा गर्न गौरीगञ्ज गाउँपालिका वडा नं २ सफल भएको छ त ? के कस्ता समस्याहरुका बीच के कति योजना र कार्यक्रमहरु सफल भए ? प्रस्तुत छ यि र यस्तै बिषयमा केन्द्रित भएर वडाध्यक्ष राजवंशीसंग गरिएको कुराकानी ः
तपाइँको चार बर्षको कार्यकाल कसरी बिताउनुभयो ?

जनप्रतिनिधि भएपछिका चार बर्ष मेरा लागि मात्रै होइन देशैभरका जनप्रतिनिधिहरुका लागि सिकाईको कार्यकाल भए जस्तो लाग्छ । हामीले नेपालको संविधान २०७२ को कार्यान्वयन गर्ने महत्वपूर्ण चरणका रुपमा यो कार्यकाललाई लिनु पर्छ । कानुनी बाधा अडचन, यहाँको भौगोलिक विकटता र समग्र बस्तुस्थितिलाई हेरेर हामीले हाम्रो कार्यकालको समिक्षा गर्नुपर्छ । हामीले शुरुका बर्षहरुमा भौतिक पूर्वाधारसंगै यहाँको सामाजिक बिकास, कृषिमा आधुनिकीकरण तथा व्यवसायीकरणका लागि काम अघि बढायौं । यद्यपी कतिपय कार्यक्रमहरु अहिले पनि जारी छन् । हामी माझ गत बर्षदेखि महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण हाम्रो समग्र विकासका लागि बाधक जस्तै बन्यो तथापी हाम्रो कार्यकाललाई सफल कार्यकालको रुपमा नै लिनुपर्छ भन्ने मलाई लाग्छ ।

गौरीगंज गाउँपालिका वार्ड नं. २ को कार्यालय

यो वडा अधिकतम किसानहरु भएको वडा हो किसानहरुका लागि तपाइँहरुले के कार्यक्रम ल्याउनु भयो ?
हो, वास्तवमै हाम्रो वडा पूर्ण कृषि क्षेत्र भएको वडा हो भने पनि हुन्छ । म आफैं स्वयं एउटा किसान परिवारको सदस्य । म किसानको छोरा हुँ । किसानका हर समस्याहरुका बारेमा म अनभिज्ञ छुइन । आधा जिवन कृषि कर्ममा नै बिताइसकेको छ हाम्रो पुस्ताले । समस्या कृषि क्षेत्रमा धेरै छन । खासगरी हाम्रो वडा सुख्खा क्षेत्र बढी भएको वडा हो । प्राकृतिक रुपमा पनि यहाँको जमिन अलि सुख्खा खालको छ । त्यसकारण यहाँँका किसानको खेतबारीमा सिचाइँको अभाव छ हामीले यो समस्यालाई मध्यनजर गरेर बढी भन्दा बढी किसान लाभान्वित हुने गरी सिचाइँका लागि बिद्युतीय मोटर वितरणको कार्यक्रम ल्यायौं । यो बर्षको मात्रै कुरा गर्दा हामीले ७६ वटा मोटर किसानका लागि वितरण गरेका छौं । बिषादीलाई न्यूनिकरण गर्ने हाम्रो लक्ष्य हुँदा हुँदै पनि विभिन्न किसिमका किरा र विभिन्न रोगको प्रकोपका कारण खेतबारीमा औषधि छिटनै पर्ने बाध्यता छ । हामीले यो वडामा ७५ थान स्प्रे टेंकी वितरण गरेका छौं भने सिचाइँ समस्यालाई मध्यनजर गर्दै १० जना किसानका लागि बोरिङको व्यवस्था गरेका छौं । त्यस्तै ६ वटा डिजल पम्प प्रदान गरेका छौं । यि सबै कृषि उपकरणहरु हामीले किसानलाई न्यून लागत सहभागितामा प्रदान गरेका हौं ।

वडामा तपाइँको कार्यकालमा संघ र प्रदेश सरकारबाट के कस्ता योजनाहरु परेका छन ?
हाम्रो वडालाई संघ र प्रदेश सरकारबाट आएका कार्यक्रमहरु पनि चित्त बुझदो नै छन् । हाम्रो पहल र प्रयत्नबाट वडाबासीलाई अधिकतम लाभ हुने किसिमका योजनाहरु यो वडामा ल्याउन सकिएको छ । जस्तै यहाँको सिमसार गौरीगञ्ज गाउँपालिकाकै एउटा प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्यमा हामीलाई विगत दुई बर्ष यता प्रदेश र संघीय सरकारबाट सहयोग प्राप्त भइरहेकै छ । यसबाहेक सरकारले ल्याएको विपन्न परिवारको सुरक्षित आवासका गत बर्ष ६० परिवारलाई छनौट गरेका थियौं । उहाँहरुलाई सुरक्षित आवासका लागि ३० हजार रुपैयाँका दरले रकम प्रदान गर्योै । आउने बर्षका लागि ८२ घरलाई यो बर्ष जस्तापाता प्रदान गरिँदैछ । त्यसैगरी नेत्र राजवंशीको घरदेखि किस्नी खोला सम्मको सडक ग्राभेल २० लाख रुपैयाँको लागतमा सम्पन्न गरेका छौं । फूर्वा राजवंशीको घर पश्चिम तर्फको सडक गाउँपालिकाको १२ लाख रुपैयाँको लागतमा ग्राभेल गरिएको छ । तुलाचन एनसेल टावर सडकमा पनि संघीय सरकारको सहयोग छ । वडामा रहेको प्रमुख कृषि हाट बजार स्तरोन्नती ( ड्रेनसहित नाला) निर्माण कार्यमा पनि शहरी विकासबाट ३० लाख रुपैयाँ प्राप्त गरेर यो बर्षको काम सम्पन्न गरिसकेका छौं ।
संघीय सरकारकै तराई मधेस समृद्धी कार्यक्रम अन्तर्गत शिशुकल्याण प्राविको भवन निर्माण सम्पन्न भएको छ । त्यस्तै जयगुरु मन्दिरमा ९ लाख, किस्नी खोलामा तटबन्धनका लागि १५ लाख रुपैयाँको लागतमा काम भइरहेको छ । आमगाछी फुलबहादुर राजवंशीको घर पश्चिम बस्ती जोडने ९६० मिटर सडक स्तरोन्नती गरिएको छ । यस्ता थुप्रै कार्यक्रमहरु छन पालिका र हाम्रो पहलमा यहाँको बिकासले फडको मारेको हामीले अनुभव गरेका छौं ।

यो वडा सीमा क्षेत्र पनि यहाँका नागरिकहरुको सुरक्षाका लागि चाहिं के गरिएको छ ?
सीमासंग जोडिएको यो वडा सुरक्षाको दृष्टिकोणबाट संवेदनशील नै छ । खुल्ला बोर्डर भएकै कारण मानिसहरुको आवतजावत हुनु स्वभाविकै हो । तर पनि वडा कै पहलमा स्थानिय समाजसेवी कृष्ण राजवंशी, कैचु राजवंशीलगायतले सशस्त्र सीमा सुरक्षा बलको भवनका लागि ७ कठ्ठा जग्गा उपलब्ध गराउनु भएको छ । अब भवन निर्माणका लागि प्रदेश सरकारलाई वजेटको व्यवस्था गर्न माग गरेको छु । त्यहाँ अहिले अस्थायी रुपमा टहरा बनाउने कार्य जारी छ । घेराबेराका लागि पनि आवश्यक वजेट विनियोजन गर्ने तयारीमा छौं ।
आर्थिक वर्ष २०७७/७८ सकिनै लागेको छ । विनियोजित वजेट मध्ये कति वजेट अर्थात योजनाहरु सम्पन्न भएका छन् ?

हामी यो चालु आर्थिक वर्षको वजेट र योजनाहरु मध्ये अधिकांश योजनाहरु सम्पन्न भएका छन् । प्रतिशतमा भन्नु नै पर्दा ९५ प्रतिशत योजना तथा कार्यक्रमहरु सम्पन्न भएका छन् । कोरोना भाइरसको महामारीका कारण सोचेजति कामहरु गर्न सकेनौ । तर पनि वडाको जनप्रतिनिधि साथीहरु र कर्मचारीहरुको सक्रियता र साथ सहयोगले वडाको धेरै कामहरु गर्न सफल भएका छौं । भौतिक पूर्वाधार, भवन निर्माण, विजुली विस्तार, सडक वत्ती, कल्भर्ट निर्माण, कृषकलाई मोटर, पम्पसेट, स्प्रे टेंकी वितरण, उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई साइकल वितरण, कृषि वजारमा नाला निर्माणलगायत दर्जनौ कामहरु वडामा भएका छन् । वडाको सिमित स्रोत र साधनले वडावासीको असिमित आकांक्षा र अपेक्षा गर्नु पर्ने बाध्यता छ । हामीले सकभर वडालाई उन्नत , समृद्व र नमुना वडाको रुपमा अगाडी बढाउन प्रयत्नशिल छौ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ८ : ४७ बजे