१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

युवा संघद्वारा गौरादह नगरपालिकालाई १६ बुँदे ध्यानाकर्षण पत्र



गौरादह ८, असार / राष्ट्रिय युवा संघ नेपाल गौरादह नगरकमिटिले युवाहरुलाई लक्षित गरी वजेट बनाउन गौरादह नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
युवाहरुलाई स्वरोजगार, सहभागिता र नेतृत्व विकासका लागि नगरपालिकाको आगामी आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रममा समावेश गरी वजेटको व्यवस्था मिलाउन आज मंगलवार १६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।
युवा संघ नेपाल गौरादह कमिटिका अध्यक्ष विपिन ओझा, उपाध्यक्ष बुबुल सुब्बा, सचिव केवल कुमार कटुवाल र सदस्य डिल्ली प्रसाद शिवाकोटीले संयुक्तरुपमा उक्त १६ बुँदे ध्यानाकर्षण पत्र नगरपालिकाकी उपमेयर गिता भेट्वाललाई बुझाएका हुन् ।
पत्रमा समग्र जनसंख्याको ४० प्रतिशत भन्दा बढी हिस्सा ओगट्ने युवाहरुलाई जिविकोपार्जनका लागि योग्यता र क्षमताको आधारमा राष्ट्रिय युवा नीति २०७२ र युथ भिजन २०२५ का निर्देशन सिद्वान्त, रणनीति र योजना अनुसार नीति तथा कार्यक्रम र बजेट बनाउनु पर्ने माग गरिएको छ ।
गौरादह नगरपालिका अन्तर्गतका हरेक तह र तप्ताका युवाहरुलाई लक्षित गरी ‘युवाहरुलाई व्यवसायिक कृषिः नगरको उत्पादन वृद्वि’ भन्ने नारा तय गरी गाई–भैसी पालन, बंगुरपालन, मौरी पालन, कुखुरा पालन, तरकारी खेतीमा सहयोग गर्न बजेटमा व्यवस्था मिलाउन पत्रमा माग गरिएको छ ।


युवा संघका अध्यक्ष विपिन ओझा र सचिव केवल कुमार कटुवाल हस्ताक्षरित ध्यानाकर्षण पत्रमा नगर स्तरीय एक सुधार केन्द्र स्थापना, युवा रोजगार प्रवर्धन केन्द्र स्थापना, सुचनाको हक सम्बन्धि तालिम, युवा प्रतिभा प्रोत्साहन कोष स्थापना, नगरस्तरीय युवा सम्मेलन एवंम युवा महोत्सवको आयोजना , युवा स्वयंसेवक परिचालन कार्यविधि निर्माण गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातीप्राप्त खेलाडीहरुलाई सम्मान कार्यक्रमको आयोजना र युवा आइटी पार्क स्थापना गर्न माग गरिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै उपमेयर गिता भेटवालले नगरपालिकाको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम तयार भइरहेको अवस्थामा युवाहरुलाई स्वरोजगार बनाउने र उनीहरुको क्षमता र सीपको आधारमा कार्यक्रम समावेश गर्ने प्रतिवद्वता जताइन् । चालु आर्थिक वषर्मा कोभिड १९ को महामारीले सोचे अनुसार कार्यक्रम गर्न नसकेको बताउँदै उपमेयर भेटवालले आगामी वर्षमा युवाहरुको लागि आवश्यक वजेट विनियोजन गरी ध्यानाकर्षण पत्रमा उल्लेखित मागहरुको सम्बोधन गर्ने बताइन् ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ६ : ३९ बजे