रुपा राजवंशी
भोग्नेलाई थाहा हुन्छ पीडा भनेको के हो । म विगत एक सातायता विक्षिप्त छु ।किनकि मेरो परिवारमा नघटेपनि छिमेकीलाई परेको पीडा मेरो मुटुमै गडेको छ । कोरोनाको कारणले पल्लो घरको छिमेकी बसन्ती राजवंशी बितेपछि हल्लिएको मेरो मुटु अझै ठिक ठाउँमा आइसकेको छैन । पापी कोरोनाले आफन्त गुमाउनु पर्दाको चित्कार अनि रोदन कति हृदयबिदारक हुन्छ, भनिसाध्ये छैन ।
छिमेकी बसन्तीकोे कथा र ब्यथा मेरो आँखामा झल्झली आइरहेको छ । आजको मितिबाट झन्डै एक महिना अगाडिदेखि प्रितीकी आमा बसन्ती सामान्य विरामी थिइन् । पेटको समस्या धेरै पहिलादेखि थियो उनलाई । जहिलेतहिले पेटको समस्याले सताइरहन्थ्यो । खान मन नगर्ने । त्यही भएर होला उनको शरीर धेरै कमजोर थियो । तर , आफू नखाएपनि उनी परिवारका सदस्यलाई मीठा मीठा परिकार बनाएर खुवाउने गर्थिन् । उनको श्रीमान, ३ छोरी र आफू गरी पाँचजनाको परिवारमध्ये दुईजना छोरीको कन्यादान गरिसकेकी थिइन् भने कान्छी छोरी प्रिती उनीसँगै थिइन् । छोरीको रोजाई , श्रीमानको रोजाईको खाजा नास्ता अनि खानाको लागि दिनमा कम्तीमा ३–४ पटकसम्म मेरो पसलमा आउने गर्थिन् । सामान लाने गर्थिन् अनि परिवारको यसरी बखान गर्थिन् –एउटालाई यो मन पर्दैन , अर्कोलाई त्यो मन पर्दैन । दिदी हामी तीन जनाको परिवारमा तीन थरिको खाना पाक्छ । ’ ‘यो महँगीमा कसरी पुग्छ भन्नु त ? ’ घरको समस्या सुनाउँथिन् ।
बिर्तामोडको कृष्ण टाकिज सिनेमा हल जाने बाटो जहाँ अहिले वानस्टप मल भएको ठाउँमा श्रीमानको सानो चिया खाजा पसल थियो । पसल राम्रो चलेको हुनाले परिवारमा आर्थिक समस्या थिएन । तर, त्यहाँ मल बनेपछि उनले पसल हटाउनु पर्यो । यहाँहरुलाई अवगत नै होला कि बिर्तामोड बजार क्षेत्रमा सानातिना पसल राख्नेले ठाउँ पाएनन् । बसन्तीका श्रीमानको पनि उठीबास भयो । अब के गर्ने त ? केही त गर्नैपर्यो । घर खर्च त चलाउनै पर्यो । बिर्तामोडमा भर्खर शुरुवात हुँदै गरेको सिटी रिक्सा कुदाउने उनले निर्णय गरे । अलिक दिन मज्जाले कमाइ भयो । दुर्भाग्यबश अटोरिक्सा आइदियो बजारमा । सबैले अटोरिक्सा चढ्न थाले , सिटी रिक्सामा चढ्ने कोही भएन । त्यही भएर श्रीमानको कमाईले अब परिवार चलाउन उनलाई मुश्किल भयो । परिवारको समस्या देखेर कान्छी छोरी प्रिती कलेज छोडेर अलैची काट्न जान थालिन् । अलैची काटेको पैसाले जेनतेन परिवार चलिरहेको थियो । कमाइ थोरै भएका कारणले बसन्तीका श्रीमानले रक्सी पिउन थाले । खाँदा खाँदा विरामी परे ।
परिवारको यस्तो समस्या देखेर बसन्ती झन् कमजोर हुँदै गइन् । मनमा धेरै कुरा खेलाएर होला ,उनी आफै बर्बराउँथिन् डिप्रेसन भएजस्तो । आमाबुवाको यस्तो समस्या देखेर छोरी प्रितीले आफ्नो कलेज पुरै छोड्नु पर्यो । बिर्तामोडका अलैची व्यवसायीहरुलाई म धन्यवाद दिन चाहन्छु किनकि यो व्यवसायले बेरोजगार स्थानीय दिदीबहिनीहरुलाई रोजगार दिलाएको छ । यही रोजगारले धेरैको भान्सामा आगो बलेको छ । प्रितीको पनि यस्तै थियो समस्या, जेहेनतेहेन घरपरिवार चल्दै थियो । अचानक आमा विरामी भइन् । ज्वरो र खोकीले ग्रस्त थिइन् । उनलाई उपचार गर्ने पैसा थिएन । नजिकैको साहुसँग ऋण काढेर उपचार गर्न हस्पिटल लगियो । २ दिन बेडमा राख्दा पनि उनको विराम बिसेक हुन सकेन । ऋण काढेको पैसा सकेर घर ल्याइयो । प्रितीलाई टेन्सन भयो । नजिकैको स्वास्थ्यकर्मीको सल्लाहमा भोलिपल्ट प्रिती र उनका काकाको छोरा बिकेले एम्बुलेन्स बोलाएर मेची हस्पिटल लगे । मेची हस्पिटलमा लगेर भर्ना गरियो ।
त्यहाँ उनको स्वाब टेष्ट गरियो । विश्वभर फैलिएको यो कालरुपी कोरोनाले प्रितीको आमालाई पनि अछुतो रहन दिएन । उनलाई कोभिड वार्डमा राखियो । स्वासप्रश्वासमा समस्या देखिएकाले अक्सिजन लगाउनु पर्ने । तपाई हामी सबैलाई थाहा छ यो समयमा हस्पिटलमा एड्मिटदेखि अक्सिजनसम्मको सुविधा पाउन त्यति सजिलो छैन ।
अस्पतालको बेडमा आमालाई स्याहार्दै थिइन् प्रिती । उनलाई पूरा बिश्वास थियो आमालाई चाँडै निको पारेर घर लानेछु । सफल पनि हुँदै थियो । साथमा दाजु भएकाले उसलाई हिम्मत र भरोसा थियो । तर, त्यो हिम्मत र भरोसा धेरै टिक्न सकेन । चार दिनमा बिकेको स्वास्थ्य अबस्था पनि ठीक नभएकाले ऊ घर फर्कियो । हस्पिटल नजिकै घर भएकाले दिदीभिनाजुले सहयोग गर्नुहुन्छ भनेर आशा गरेकी थिइन् । तर, प्रितीको आशा र भरोसा सबै टुट्यो । जब भिनाजुले दिदीलाई ‘अब हस्पिटल जाने काम छैन’ भनेपछि बिचरी दिदी पनि दुविधामा परिन् र बहिनीलाई साथ दिन सकिनन् । प्रिती एक्लै भईन् हस्पिटलमा आमालाई स्याहार्ने । उनलाई हिम्मत दिने कोही भएन । त्यो बेला प्रितीलाई लाग्थ्यो कि यो दुनियाँमा मेरो कोही छैन । आमाको अबस्था र बाहिरी संसार देखेर उनको आँखामा आँशु आयो । उनी रोइन् ,कराइन् । तर, उनको वेदना सुनिदिने कोही भएन ।आँशु झार्दै आमाको स्याहार सुसार गरिरहिन् । त्यो आँशु र वेदना मनमा नै लिएर पिएर बसिन् ।
आखिरमा हुँदो रहेछ त ? छोरीले पनि गर्न सक्दो रहेछ । फेरि किन हामी छोरीलाई कमजोर संझिन्छौं ? तैले गर्न सक्दिनस् ,तैले यो गर्नु हुँदैन , त्यो गर्नु हुँदैन भन्छौं । कतै हामीले नै छोरीहरुलाई कमजोर बनाएर त राखेका छैनौं ? हो अब सोच बदल्ने बेला भयो , आफ्नो सोच परिवर्तन गरे अनि मात्र परिवर्तन हुन्छ समाज ।
नारीको मनभित्र सागर हुन्छ भनेको यही हो । यो मनले धेरै कुरा अटाउँछ । दिदीभिनाजुको सहयोग नपाएपछि प्रितीको घर यानिकी काकाकाकीले खाना पठाईदिन्थे । बाटो टाढा भएकाले कहिलो ढिलो कहिले छिटो हुन्थ्यो । यता आमाको खाने इच्छाशक्ति सकिन थाल्यो । खान मन नलागेर उनको स्वास्थ्य स्थिति झन् बिग्रन थाल्यो । दिनदिनै अक्सिजनको लेभल घट्दै गयो । जीउ पूरै छोडिसकेकी थिइन् । उनीमा अब हलचल गर्न सक्ने शक्ति पनि थिएन । तर, ‘म घर जान्छु मलाई घर लैजाऊ’ भन्थिन् । आमाको अन्तिम इच्छा पुरा गर्न पाइनँ भनेर प्रिती दुखेसो गर्छिन् । आमाको अबस्था बिग्रदै गइरहेको थियो ।
आफूलाई जन्म दिने आमाको अबस्था बिग्रदै गएको देख्दा प्रितीको आँखामा धरधरी आँशु झर्यो । उनले आफूलाई त्यतिबेला एकदमै एक्लो महसुस गरिन् । घरमा बाबु रोइरहेका थिए । उता हस्पिटलमा आमा अन्तिम अबस्थामा पुगेपछि प्रिती भक्कानिदै थिइन् । यो सुनेर म छट्पटिदै थिएँ । तड्पिदै थिएँ । उफ १ प्रितीलाई कति गाह्रो, कति धेरै पीडा भयो होला । अन्ततः यो कोरोना कालले बसन्तीलाई लिएरै गयो । दुख गरेरै भएपनि खुशीका साथ बाँचिरहेको बसन्तीको परिवारलाई छिन्नभिन्नै गराएरै छोड्यो । आमाको देहान्तपछि खानेलाउने यो उमेरमा प्रिती अभिभावकबिहीन भएकी छन् । बेसहारा भएकी छन् । के पाप गर्नुभएको थियो आमाले र यति छिट्टै चुँडिस् दैव रु कोरामा बसेकी प्रिती शिकायत गर्छिन् । आमा गुमाउनु पर्दा प्रितीलाई कति चोट प¥यो होला रु आज प्रिती यो समाजमा उदाहरणीय बनेकी छन् । उनको आँट , साहस र आमाप्रतिको कर्तव्य पुरा गरेको देख्दा म पनि गर्व गर्छु – छोरी हुनु त प्रितीजस्तो । आज बसन्तीको आत्माले पनि शान्ति पायो होला छोराको कमी छोरीले पुरा गरिन् भनेर ।
आखिरमा हुँदो रहेछ त ? छोरीले पनि गर्न सक्दो रहेछ । फेरि किन हामी छोरीलाई कमजोर संझिन्छौं ? तैले गर्न सक्दिनस् ,तैले यो गर्नु हुँदैन , त्यो गर्नु हुँदैन भन्छौं । कतै हामीले नै छोरीहरुलाई कमजोर बनाएर त राखेका छैनौं ? हो अब सोच बदल्ने बेला भयो , आफ्नो सोच परिवर्तन गरे अनि मात्र परिवर्तन हुन्छ समाज । कोरोना महामारीका कारण प्रितीजस्तै धेरैले आफन्त गुमाएका छन् । धेरैको परिवार उजाडिएको छ । ती दुखियाँँहरुले कति धेरै दुःख सहेका होलान् । आफन्तको वियोगमा शोकमा डुबेका होलान् । कतिको त कठैवरी भन्ने पनि कोही नहोलान् । उनीहरुको दुख देखेर यो मन साह्रै रोएको छ , दुखेको छ । शोकाकुल सम्पूर्णमा मेरो तर्फबाट हार्दिक समवेदना ।