५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

फर्जी कामदार देखाएर रकम निकासा गरेको उजुरी, गौरीगंजका एक वडा अध्यक्षकै छोरा संलग्न



गौरीगंज १६, जेठ / प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत गौरीगंजमा फर्जी कामदार देखाएर रकम निकासा गरेको आरोप लगाइएको छ । गौरीगंज गाउँपालिका वार्ड नं. ४ मा प्रधानमन्त्री स्वारोजगार कार्यक्रम अन्तर्गत निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष खुम प्रसाद गिरीलाई फर्जी कामदार देखाएर रकम निकासा गरेको आरोप लगाइएको हो । उनी गौरीगंज गाउँपालिका वार्ड नं. ४ का वार्ड अध्यक्ष कुलप्रसाद गिरीका छोरा हुन् ।

उपभोक्ता समितिमा रहेर प्रधाामन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत काम गरेका ब्रिखलाल ताजपुरिया, पुर्णप्रसाद ताजपुरियालगायतले आज उपभोक्ता समितिका अध्यक्ष गिरीले स्वरोगार कार्यक्रमको रकम निकासा गरी अनियमितता गरेको भन्दै त्यसको छानबीनका लागि गौरीगंज गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिएका छन् । उनीहरुले फर्जी कामदार देखाएर अध्यक्ष गिरीले रकम निकासासमेत गरेको दाबी गरेका छन् ।
आर्थिक वर्ष २०७७/७८ मा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सन्थाल टोल कृष्णेखोला सम्म पुग्ने सडकको दुवै तिर मर्मतका लागि खुम प्रसाद गिरीलाई २०७७ ÷१२ ÷२९ गते अध्यक्ष बनाइएको थियो । उनकै नेतृत्वमा २५ जनाले सडक खन्ने र मर्मतलगायतका काम गरेका थिए ।
स्वरोजगार कार्यक्रममा सहभागी भएका ब्रिख लाल ताजपुरियाले कुनै दिन १६ जना, कुनै दिन १८ जना मानिस काम गरेपनि अध्यक्ष गिरीले २५ जनाले काम गरेको देखाएर रकम निकासा गरेको बताए । उनले भने– ‘जुनदिन कार्यक्रमका संयोजक बेगम राई अनुगमन आउँदा उनलाई देखाउन देखावटी रुपमा गाउँबाट मान्छे बोलाएर अध्यक्ष गिरीले २५ जनाले काम गरेको नक्कल गर्थे ।’ काम गरेको फोटो खिचेर संयोजक राई काम गर्ने स्थानबाट फर्केपछि बोलाइएको मान्छेहरुलाई हटाइदिने गरेको उनले खुलासा गरे ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा सहभागी हुनेहरु सबैको व्यक्तिगत रुपमा बैंकखाता खोलिएपनि अध्यक्ष गिरी आफैले रकम निकासा गरेको ताजपुरियाले आरोप लागए ।
‘३८ दिन काम गरेपनि २३ दिनको मात्र पैसा मैले पाएको छु, अरु रकम माग्दा अध्यक्ष गिरीले आलटाल गर्दै आएको छ ।’ – उनले सुनाए । उनीसंगै उजुरी दिन गएका पुर्ण प्रसाद ताजपुरियाले पनि उपभोक्ता समितिका अध्यक्ष गिरीले प्रधानमन्धी स्वरोजगार कार्यक्रमको रकम अनियमितता गरेको आरोप लगाए । उनले भने – ‘वैंकमा मेरो नामले खाता खोलेपनि अहिलेसम्म चेकबुक हात नपरेको र बैंकमा रकम आए नआएको सोध्न जादा रकम निकासा भइसकेको हुन्थ्यो । ’ ‘वास्तविक काम गर्ने मानिसको हाजिरी हामीसंग छ, उनले भने – फर्जी कामदार देखाएर बढी रकम हिनामिना गर्न पाउँछ हामीले छोड्दैनौ ?’

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत वार्ड नं. ४ मा बनेको उपभाेक्ता समितिहरुले विभिन्न ७ वटा शिर्षकमा १२ लाख ५५ हजार ७ सय ९३ रुपैयाँ निकासा दिइसकेको लेखा अधिकृत हेमचन्द्र नेम्वाङले जानकारी दिएका छन् । उनका अनुसार २ वटा उपभोक्ता समितिले रकम निकासा गरेको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत काम गर्ने प्रत्येक कामदारलाई कम्तीमा १०० दिन काम लगाई ५१७ रुपैयाँका दरले रकम भुक्तानी गर्ने सरकारको निर्णय छ । सोही बमोजिम गौरीगंज गाउँपालिका वार्ड नं. ४ मा ४२ जनालाई १०० दिनलाई प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा सहभागी गराई फर्जी कामदार खडा गरी रकम हिनामिना गरेको आशंका गरिएको छ । उपभोक्ता समितिकिा अध्यक्ष गिरीले आफुले रकम निकासा गरेपनि वास्तविक कामदारलाई रकम भुक्तानी दिएको जिकिर गरेका छन् । उनले दैनिक हाजिरी गरी काम गरे अनुसारको रकम दिएको उनको भनाई छ ।

(यो समाचारसंग सम्बन्धित अडियो र भिडियाे काेचिला न्युजसंग सुरक्षित छ )

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  १० : ५७ बजे