४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरीगंजबाट अबैधरूपमा भित्रिएकाे माछा र खैनी प्रहरीकाे नियन्त्रणमा, सीमानाका बन्द हुदाँ पनि राेकिएन तस्करी



भद्रपुर ३१, वैशाख / दोस्रो लहरको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञासहित नेपाल–भारतको खुला नाका सिल गरिएको छ । 
खुला नाका सिल भए पनि सीमामा अवैध कारोबार भने अझै रोकिएको छैन । यसैक्रममा सशस्त्र प्रहरीले भन्सार छलेर अवैध रुपमा नेपाल भित्राएको प्रतिबन्धित माछाको भुरा, चिनी र खैनी (सुर्ती)सहित दुई वटा छोटा हात्ती गाडी नियन्त्रणमा लिएको छ । 

सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण हेडक्वार्टर झापाबाट खटिएका सप्रसनि रमेश कुवार नेतृत्वको टोलीले शुक्रवार बिहान ३ बजे गौरीगञ्ज गाउँपालिका ५ बाट मे १ ज १९०८ नम्बरको छोटा हात्ती गाडीमा राखेर दमकतर्फ लैजाँदै गरेको ठुलो परिमाणको पंगास माछाको भुरासहित गाडी नियन्त्रण लिएको गणका एसपी रमेशकुमार पाण्डेले जानकारी दिए । 

गाडीमा अढाई क्विन्टल पंगास माछाको भुरा थियो । पंगास माछाको भुरा नेपालमा प्रतिबन्धित मानिन्छ । सो माछाको भुरा गौरीगञ्जका कारोबारी सुनिल सनहीले भारतबाट अवैध रुपमा नेपाल भित्राएका हुन् ।
बरामद माछाको भुरालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट भद्रपुरका प्रहरी निरीक्षक विभुराज दाहालको नेतृत्वमा अस्थायी पशु क्वारेनटाइन चेक पोस्ट भद्रपुर र स्थानीयको रोहबरमा नष्ट गरिएको छ । बरामद माछाको भुराको नेपाली बजार मूल्य साढे पाँच लाख रहेको जनाइएको छ । 

यसअघि वैशाख १७ गतेका दिन पनि कारोबारी सनहीले दुई क्विन्टल पंगास माछाको भुरा भित्राएका थिए । माछाको भुरालाई मे १ ज ३०१६ नम्बरको पिकअप गाडीमा लोड गरी पठाउन लाग्दा सशस्त्र प्रहरीले विशेष सूचनाको आधारमा गौरीगञ्ज गाउँपालिका–६ स्थित खजुरगाछीबाट गाडीसहित माछाको भुरा नियन्त्रणमा लिएका थिए । 
त्यस्तै सशस्त्र प्रहरीले शुक्रवार बिहान ५ बजे ठुलो परिमाणको चिनी र सुर्ती समेत बरामद गरेको छ । मे १ च ५३२९ नम्बरको छोटा हात्ती गाडीबाट ४६ बोरा चिनी र १५ बोरा बादसाह खैनी (सुर्ती) सशस्त्र प्रहरीले बरामद गरेको एसपी पाण्डेले बताए ।

मोरङको सिजुवाबाट चोरी निकासी गरी भित्राइएको सो परिमाणको चिनी र खैनी झापाको बाटो प्रयोग गरी दमकतर्फ लैजाँदै गरेको अवस्था विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीले बरामद गरेको हो ।

सो सामान कसले भित्राइएको भन्ने कारोबारीको नाम खुलेको छैन । बरामद गरिएको चिनी १ लाख ३८ हजार, खैनी ४५ हजार र गाडी ८ लाख गरी ९ लाख ८३ हजार मूल्याङ्कन तोकेर शुक्रवार दिउँसो भद्रपुर भन्सार कार्यालय बुझाइसकेको जनाइएको छ । त्यस्तै माछाको भुरा ल्याउने गाडीलाई ४ लाख ३३ हजार मूल्याङ्कन तोकेर भन्सार बुझाइसकेको सशस्त्र प्रहरीले जनाएको छ ।
( पत्रकार पार्थ मण्डलले टाईम्स अफ प्रदेशमा लेखेका छन् ।)

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  १० : ५४ बजे