झापा २७, , चैत / नेपाल पत्रकार महासंघ प्रदेश नं. १ को अध्यक्षमा लीलावल्लभ घिमिरे नेतृत्वको प्यानल नै विजय भएको छ । नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल र क्रान्तिकारी पत्रकार महासंघबीच लोकतान्त्रिक व्यवसायिक र श्रमजिवी पत्रकारहरुको साझा प्यानलको रुपमा चुनावी मैदानमा उत्रिएको घिमिरे नेतृत्वको प्यानल नै विजयी भएको हो ।
प्रेस चौतारी नेपाल (ओली समूह) बाट उम्मेद्वार बनेका मोहनकाजी न्यौपानेलाई १९६ मतान्तरले पराजीत गर्दै घिमिरे विजयी भएका हुन् । घिमिरेले ७९३ मत प्राप्त गरे भने उनका प्रत्यासी उम्मेद्वार न्यौपानेले ५९७ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा लवदेव ढुङ्गाना निर्वाचित भएका छन् । उनले ८१० मत प्राप्त गरे । उपाध्यक्षका प्रत्यासी उम्मेद्वार रोहित राईले ५९७ मत प्राप्त गरेका थिए ।
महिला उपाध्यक्षमा हिमदेवी चेम्जोङ निर्वाचित भएकी छिन् । उनले ८३६ मत प्राप्त गर्दा उनको निकटतम प्रतिस्पर्धी कोकिला ढकालले ५७८ मत प्राप्त गरिन् । महासचिवमा विवेक गौतम ८१९ मत ल्याउँदै निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी फिफराज वेघाले ५६२ मत प्राप्त गरेका छन् । सचिवमा देवेन्द्र कार्की ८६२ मतका साथ निर्वाचित भए भने उनका प्रतिष्पर्धी अविजाल विष्ठले ५१३ मत प्राप्त गरेका छन् । समावेशी सह सचिवमा सन्तोष यादव ७६१ मत प्राप्त गर्दै विजयी बने भने उनका निकटतम प्रतिष्पर्धी सन्तवीर लामाले ६२६ मत प्राप्त गरे । कोषाध्यक्षमा झापाका विमल लामिछाने निर्वाचित भएका छन् । उनले ८०६ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी सन्तोष रुचालले ५७२ मत प्राप्त गरे ।
त्यस्तै सदस्य पदमा झापाका सुरेन्द्र भण्डारी ८२९, लीलाराज झापाली ८१७, विजयी भए । ध्रुव भट्टराई ८०४, तोयानाथ भट्टराई ७३९ र गोपालप्रसाद पोखरेलले ७२५ मत प्राप्त गर्दै विजयी भएका छन् । महिला सदस्यमा विनु तिम्सिनाले ८३८, माला पालुङ्वाले ७९० र सुशीला पाठकले ८४२ मत प्राप्त गर्दै विजयी बनेका छन् ।
त्यस्तै दलित सदस्यमा विपी दियाली ८२४ मतका साथ निर्वाचित भएका छन् । जनजाति सदस्यमा झापाकै विष्णु सुव्वाले ८३७ , यमकुमार दनुवारले ६७१ मत प्राप्त गर्दै विजयी बने । मधेशी सदस्यमा प्रमोदकुमार यादवले ७९३,व्रम्हदेव यादव ६७० मतका साथ निर्वाचित भए । अल्पसंख्यक सदस्यमा लीलावहादुर सुनुवार ६५५ मतका साथ निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।