
गौरीगंज ८, फागुन / राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष कमल थापाले मुलुक चुनावमा जाने सम्भावना बढेको बताएका छन् ।
पार्टीको झापा क्षेत्र नं. ५ समितिद्वारा गौरीगंजमा आज आयोजित वृहत मोटरसाइकल र्यालीको समापन कार्यक्रममा पार्टी अध्यक्ष थापाले केही दिनमै अदालतले चुनावको पक्षमा फैसला गर्ने बताउदै पार्टी नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन आग्रह गरेका थिए ।
नेपाली जनताले तिरेको कर र विदेशीको ऋण लिएर संघियताको बोझलाई नेपाली जनताले धन्न नसकिने बताउँदै अध्यक्ष थापाले संवैधानिक राजासहित हिन्दुराष्ट्रको विकल्प नरहेको बताए ।
सभामा उनले भने – ‘हामीले राजा आउ देश बचाउ अब भन्ने होइन, हामीले जनता आउ राजा ल्याउ, जनता आउ हिन्दु राष्ट्र ल्याउ भन्ने हो, राजाले मात्र देश बचाउने होइन अब राजा र जनता मिलेर देश बचाउने हो ।’ २००७ सालमा राजा र जनता मिलेर प्रजातन्त्र ल्याएको स्मरण गराउँदै पार्टी अध्यक्ष थापाले राजा र जनताको साझा प्रयासबाट देश बचाउने र बनाउने काम गर्नुे पर्ने बताए ।
राजालाई वनवास पठाउनु भो, हिन्दुराष्ट्रलाई खारेज गरियो त्यसबाट पाठ सिकेर अव नेपाली परिवेशमा सबैले अटाउने मौलिक प्रजातन्त्र विकास गर्न सबै राजनीतिक दलहरुलाई हातेमालो गर्न उनले आग्रह गरे ।
राजसंस्था र हिन्दुराष्ट्रलाई समाप्त पार्दा प्रजातन्त्रको लागि कहिल्यै लडनु नपर्ने बताएका प्रचण्डलगायतका नेताहरु अहिले सडकमा रहेको देख्दा कति दयनिय र निरिह रहेको अध्यक्ष थापाले टिप्पणी गरेका थिए । नेकपा भित्रको झगडाका कारण प्रतिनिधि सभाको विघटन गर्न नहुने बताउदै अध्यक्ष थापाले गणतन्त्रलाई गाईजात्रामा परिणत गरेको आलोचना गरे ।
पार्टीका झापा क्षेत्र नं. ५ का क्षेत्रिय अध्यक्ष विजय बरालको अध्यक्षतामा भएको मोटरसाइकल र्यालीको समापन सभामा प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेन,पार्टीका केन्द्रिय सदस्य टेकनारायण राजवंशी, प्रदेश नं.१ का संयोजक राम थापा, झापा जिल्ला अध्यक्ष अमर विष्टलगायतले बोलेका थिए । जिल्ला सदस्य तथा गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले स्वागत गरेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दर्जनौ कार्यकर्ता राप्रपा प्रवेश गरेका थिए ।









