१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

‘संसद विघटनको यो अवस्थामा पहिलो माग संसद पुर्नस्थापना नै हो’- कांग्रेस नेता डा. रिजाल


१३ पुस २०७७, सोमबार  

0
Shares

दमक/नेपाली कांग्रेसले कम्युनिष्ट पार्टीको सर्वसत्तावाद विरुद्ध आयोजना गरेको देशव्यापी विरोध प्रदर्शनका क्रममा आज देशभरका १६५ वटै निर्वाचन क्षेत्रहरुमा प्रदर्शनसहित विरोध सभाहरु गरिएका छन ।
सो क्रममा प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचित झापा क्षेत्र नं ५ को क्षेत्रीय विरोध सभा दमक चोकमा सम्पन्न भएको छ । सभालाई कांग्रेस केन्द्रिय सदस्य तथा पूर्व मन्त्री डा. मिनेन्द्र रिजालले सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद विघटन गरेर कम्युनिष्ट पार्टीलाई जनताले देश चलाउन दिएको पाँच बर्षको म्याण्डेडको अपमान गरेको टिप्पणी गरे । उनले संविधान र लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेस संघर्षका कार्यक्रमहरु लिएर सडकमा आएको बताए । उनले भने – अहिलेको संविधान र राज्य व्यवस्था आम नेपाली जनताको लामो संघर्ष र बलिदानीको उपलब्धि हो , यो उपलब्धीमाथिको कुठाराघात नेपाली कांग्रेस र आम नेपाली जनतालाई मान्य छैन, कांग्रेस चुनावबाट भाग्ने पार्टी होइन तर संविधानलाई कुल्चिएर गरिएको संसद विघटनको यो अवस्थामा पहिलो माग संसद पुर्नस्थापना नै हो । अब संसद पुनस्र्थापना नगरिए संविधानको हत्या भएको ठहर हुने भन्दै सम्मानित सर्वोच्च अदालतले त्यो अवस्था आउन नदिनेमा आफूहरु विश्वस्त रहेको नेता रिजालको निष्कर्ष थियो ।
डा. रिजालले केपी ओली मात्रै नभएर कम्युनिष्ट पार्टीका प्रचण्ड, माधवकुमार कोही पनि अहिलेको यो दुर्भाग्यपूर्ण , अलोकतान्त्रिक कदमको साक्षी भएको तर्क गर्दै भने – उहाँहरुको पदीय लोलुप्ताको शिकार आम नेपाली जनता हुन सक्दैनन ।

कांग्रेस झापा क्षेत्र नं ५ का सभापति ढुण्डीराज भण्डारीको सभापतित्वमा भएको सो सभालाई कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य दिलिप राईले कम्युनिष्ट पार्टीका नेताहरुको स्वार्थका कारण मुलुकमा भएको उपलब्धि गुम्न दिन नहुने कुरामा आम नेपाली जनता सचेत रहनुपर्ने औंल्याए । कांग्रेसले आयोजना गरेको सो विरोध सभामा सहभागी हुन गौरीगञ्ज, गौरादह, कमल लगायतका ठाउँबाट सयौं कार्यकर्ताहरु संसद पुनस्र्थापनाको मागसहित कम्युनिष्ट पार्टीको सर्वसत्तावादका विरुद्ध चर्को नाराबाजी गर्दै आएका थिए ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ३ : ५६ बजे