२४ माघ २०८१, बिहिबार | Thu Feb 6 2025

अस्पतालको लापरवाहीबाट भद्रपुर ५ का कोरोना संक्रमित एक व्यक्तिको मृत्यु


५ कार्तिक २०७७, बुधबार  

0
Shares

 

भद्रपुर  ५, कात्तिक /  मेची प्रादेशिक अस्पतालको लापरवाहीबाट भद्रपुर ५ का कोरोना संक्रमित लक्ष्मी सिंह राजपुत (नुनिया) को मृत्यु भएको नेपाली कांग्रेसले दावी गरेको छ ।

मृतक राजपुत

भद्रपुर ५ का कांग्रेसका पूर्व सभापति राजपुतको हिजो साँझ कोरोना संक्रमणबाट मेची अस्पतालमा मृत्यु भएको थियो । अस्पतालको चर्को लापरवाही र उदासिनताका कारण उनको मृत्यु भएको नेपाली कांग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेलले दावी गरेका छन् । उनले प्रेस  विज्ञप्ति जारी गरी त्यस घटनाप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

विज्ञप्तिमा न्यूनतम चिकित्सकीय सेवासम्म प्राप्त गर्न नसकी उनको मृत्युु भएको दावी गरिएको हो । ‘राजपुतले चिकित्सकीय रेखदेख प्राप्त गर्न नसक्नु भएको मात्र होइन, उहाँले प्रयोग गर्ने अक्सिजन सक्किदा खाना पुर्याउन खटिएका व्यक्ति र अस्पतालमा भर्ना भएका अन्य संक्रमित व्यक्तिहरुले अक्सिजन परिवर्तन गरिदिनुभएको थियो’ विज्ञप्तिमा भनिएको छ,‘ उहाँको मृत्यु भएको घण्टौंसम्म पनि अस्पताल बेखवर जस्तो थियो ।’

अस्पतालमा पर्याप्त चिकित्सकीय सेवा सुनिश्चित गर्न माग गर्दै अस्पतालमा आउने विरामीको उपचारमा लापरवाही गर्ने प्रवृत्तिमा अविलम्ब सुधार गर्न कांग्रेसले आग्रह गरेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  १ : ५६ बजे