१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

साहित्य चौतारी झापाद्वारा राष्ट्रकवि घिमिरेको सम्झना


१४ भाद्र २०७७, आइतबार  

0
Shares

विर्तामोड १४ , भदौ / साहित्य चौतारी झापाको आयोजनामा राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्मृतिमा श्रद्धाञ्जलि सभा सम्पन्न भएको छ ।
 वि.सं १९७६ साल असोज ७ गते लमजुङ(पहिलेको वाहुनडाँडा गाविस)को भीरपुस्तुन भन्ने ठाउँमा जन्मिएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको २०७७ साल भदौ २ गते मंगलवार एक सय एक वर्षको उमेरमा लैनचौरमा निधन भएको थियो ।  राष्ट्रकवि माधवप्रसाद घिमिरेको १२ औं दिनको पुण्यतिथीमा श्रद्धाञ्जलि सभा गरिएको हो ।
  साहित्य चौतारी झापाका साहित्य उपाध्यक्ष कृष्ण सुवेदी निराकारको अध्यक्षता तथा प्राज्ञ सुभद्रा भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्य चौतारी झापाका कोषाध्यक्ष भवानीप्रसाद गौतमले स्वागत गरेका थिए ।
  राष्ट्रकवि माधवप्रसाद घिमिरेका स्मृतिमा एक मिनेट मौनधारण र सामुहिक राष्ट्रगान गाएर प्रारम्भ गरिएको कार्यक्रममा  साहित्य चौतारी झापाको तर्फबाट राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्मृतिमा तयार गरिएको  समवेदना पत्र साहित्य चौतारी झापाका सदस्य देवीचरण भण्डारीले वाचन गरेका थिए । उक्त समवेदना पत्र राष्ट्रकविका परिवार र नेपाल प्रज्ञा प्रतिष्ठानलाई  हस्तान्तरण गरिने कार्यक्रममा जानकारी दिइयो ।
कार्यक्रममा साहित्य चौतारी झापाकी सहसचिव खगिन्द्रा  खुसीले  राष्ट्रकवि माधवप्रसाद घिमिरेको  परिचय गराएकी थिइन् ।
 कार्यक्रममा प्राज्ञ सुभद्रा भट्टराईले राष्ट्रकवि माधवप्रसाद घिमिरेले नेपाली भाषा  र साहित्यको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै  उनको निधनबाट राष्ट्रले एउटा महान विभुतिलाई गुमाएको  बताइन् । राष्ट्रकवि घिमिरेको भौतिक शरीर नरहेपनि राष्ट्रकवि घिमिरेको योगदान संधै अमर रहने उनले वताइन् ।
कार्यक्रममा साहित्य चौतारी झापाका संस्थापक अध्यक्ष तथा सल्लाहकार संयोजक शिवशंकर थापाले राष्ट्रकवि माधवप्रसाद घिमिरेले नेपाली भाषा  र साहित्यको क्षेत्रमा पुर्याएको बताउँदै राष्ट्रकवि घिमिरेले साहित्य चौतारी झापाको अभिभावकत्व ग्रहण गरेको बताए ।
   कार्यक्रममा साहित्य चौतारी झापाका संस्थापक तथा संरक्षक देवीभक्त श्रेष्ठले साहित्य चौतारी झापाले राष्ट्रकवि घिमिरेले नेपाली साहित्यका साथै साहित्य चौतारी झापाको स्थापनाकालदेखि हालसम्म पुर्याएको योगदानको सम्मान गर्दै राष्ट्रकवि माधवप्रसाद घिमिरे स्मृति सम्मान पुरस्कार स्थापना गरेको बताए ।
उक्त सम्मान पुरस्कारका लागि एक लाख एघार हजार एक सय एघार रुपैयाँको अक्षयकोष स्थापना गरिएको र उक्त अक्षयकोषको व्याजबाट प्रत्येक वर्ष साहित्य चौतारी झापाको वार्षिकोत्सवमा साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने साहित्यकारलार्ई राष्ट्रकवि माधवप्रसाद घिमिरे स्मृति सम्मान पुरस्कार प्रदान गरिने उनले  बताए ।
२०५६ साल असार ३१ गते स्थापना गरिएको साहित्य चौतारी झापाको संस्थापक प्रमुख अतिथि समेत रहेका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई साहित्य चौतारी झापाले २०५९ सालमा झापामा अभिनन्दन गरेको उनले बताए ।
  २०६२ सालमा साहित्य चौतारी झापाको प्रथम स्मारिका विमोचन गरेका राष्ट्रकवि माधवप्रसाद घिमिरेले २०७५ साल असोज १९ गते कोजाग्रत पूर्णिमाको दिन साहित्य चौतारी झापाको दोस्रो स्मारिका विमोचन गरेको र उक्त दिन राष्ट्रकवि माधवप्रसाद घिमिरे सयवर्ष पुगेको अवसरमा उनलाई अभिनन्दन गर्नुका साथै साहित्यिक कार्यक्रम गरी राष्ट्रकवि घिमिरेको हातबाट टिकाजमरा ग्रहण गरी आशीर्वाद लिएको साहित्य चौतारी झापाका संस्थापक तथा संरक्षक श्रेष्ठले बताए ।
  साहित्य चौतारी झापाको प्रत्येक वार्षिकोत्सवमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले शुभकामना दिएर हौसला प्रदान गर्ने गरेको बताउँदै उनले साहित्य चौतारी झापाले राष्ट्रकवि घिमिरेले साहित्य चौतारीको श्रीवृद्धिमा पुर्याएको योगदान अविस्मरणीय रहेको बताए । उनले टेलिफोनमार्फत राष्ट्रकवि माधवप्रसाद घिमिरे प्रति  श्रद्धा सुमन अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना व्यक्त गरेको जानकारी दिए ।
कार्यक्रममा साहित्य चौतारी झापाका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले राष्ट्रकवि घिमिरेका शव्द रहेको  नेपाली हामी रहुँला कहाँ नेपालै नरहे बोलको गीत प्रस्तुत गरेका थिए भने कवयत्री कमला खनाल कोईरालाले राष्ट्रकवि घिमिरेप्रति समर्पित कविता वाचन गरेकी थिइन् ।
 कार्यक्रममा  त्रिभुवन विश्वविद्यालयका कुलपति गंगाप्रसाद उप्रेती ,  प्राज्ञ गणेश रसिक , प्राज्ञ यज्ञराज प्रसाई, प्राज्ञ कोमल निरौला, अग्रज साहित्यकारहरु कोषराज न्यौपाने ,  रमेश खकुरेल, कमल जङ्गली , कोमलप्रसाद पोखरेल , तेजराज खतिवडा ,  भाषविद् चुडामणि रेग्मी , जीवन अधिकारी ,  हरिप्रसाद पौड्याल,  भजन गायिका शिला पन्त , अग्रज पत्रकार नकुल काजी, लोकगायक एलपी जोशी , प्रेमप्रकाश फलाहारी , पूर्व पर्यटन मन्त्री कृपाशुर शेर्पा , साहित्य चौतारी झापाका संस्थापक सह संरक्षक जीतु गौतम लगायतले सामाजिक सञ्जालप्रयोग गरी साहित्य चौतारी परिवार विर्तामोड झापा मार्फत , राष्ट्रकवि माधवप्रसाद घिमिरे प्रति  श्रद्धा सुमन अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना व्यक्त गरेको साहित्य चौतारी झापाका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले बताए ।
कार्यक्रममा सरगम संगीतालय र गुरुकुल संगीत विद्यालयका विद्यार्थीहरुले राष्ट्रकवि घिमिरेद्वारा रचिएका  गीत प्रस्तुत गरेर राष्ट्रकवि घिमिरे प्रति सम्मान दर्शाएका थिए ।
 कार्यक्रममा सरगम संगीतालयका सरगम तिवारी र साथीहरुले गाउँछ गीत नेपाली..  प्रमिश राईले त्यसरी होस मरण, कृपा पौडेलले सारङ्गी त रेटे पनि… अनुजा कडरियाले फूलको थुङ्गा बगेर गयो… सुनिता लेप्चाले आजै र राती के देखेँ सपना मै मरी गएको… र सरगम तिवारीले यो छाँया छवि  बोलका गीतहरु प्रस्तुत गरेका थिए ।
  कार्यक्रममा साहित्य चौतारी झापाका संस्थापक संरक्षिका उर्मिला विमली श्रेष्ठ , गौरव श्रेष्ठ, गर्ग श्रेष्ठ , सल्लाहकारहरु राजेन्द्र संग्रौला , हस्त परियार , कृष्णप्रसाद पौडेल,   सरगम संगीतालयका प्रवन्ध निर्देशक दिपक रायमाझी , लोकनृत्य प्रशिक्षक राजु गिरी लगायतको सहभागिता रहेको थियो ।
 कार्यक्रमको सञ्चालन साहित्य चौतारी झापाका सचिव दिलिप घिमिरेले गरेका थिए । 

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ११ : ५० बजे