१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कांग्रेसकाे नयाँ सदस्य र नविकरण कार्य धमाधम, झापामा पनि चहलपहल शुरू


२ श्रावण २०७७, शुक्रबार  

0
Shares

20200717_120634

दमक २, साउन /  संघीय संरचना अनुसारको संगठन निर्माणका लागि नेपाली कांग्रेसले गर्दै आएको समायोजनको म्याद सकिन अब एक साता मात्रै बाँकी छ ।
आउँदो साउन १० गते भित्र कांग्रेसले पूर्ण रुपमा संघीय संरचना अनुसारको संगठन निर्माण गरिसक्नु पर्ने म्याद केन्द्रिय समिति बैठकले तोकेको छ । सोही अनुसार निर्वाचन समिति आफ्नो काम अघि बढाईरहेको छ ।केन्द्रीय समितिको बैठकले फागुन ७ देखि १० सम्म महाधिवेशन गर्ने निर्णय यस अघिनै गरिसकेको छ ।
केन्द्रीय समितिको बैठकले कोभिड १९ ले प्रभावित बनाएको कार्यतालिकालाई परिवर्तन गर्दै यहि साउन महिना भरी क्रियाशील सदस्यता वितरण र नविकरण गर्ने निर्णय गरेको छ ।
समायोजन भइसकेका ठाउँहरुमा अहिलेनै क्रियाशील सदस्यता वितरण र नविकरणको काम धमाधम भईरहेको छ भने समायोजन भईनसकेका ठाउँमा पनि साउन १० सम्ममा समायोजन सकेर त्यस पछि क्रियाशील सदस्यता नवीकरण र वितरण गर्ने योजनामा कांग्रेस छ ।
वडा, स्थानीय तह, जिल्ला, प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्रको अधिवेशन पुस महिनाभर सक्ने जनाइएको छ । पुस ७ मा देशभरका वडा अधिवेशन, स्थानीय तहका गाउँरनगरको पुस ८ मा अधिवेशन हुने भएको छ । प्रदेश सभा सदस्य निर्वाचन क्षेत्रको पुस ११ मा, प्रतिनिधि सभा सदस्य एक निर्वाचन क्षेत्र रहेका जिल्लामा पुस १३ मा अधिवेशन गर्ने कार्यतालिका बनाइएको छ । एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा निर्वाचन क्षेत्रमा पुस १६ मा अधिवेशन हुँदैछ भने प्रादेशिक अधिवेशन माघ ६ मा हुनेगरी कार्यतालिका बनाइएको छ ।

के हुँदैछ झापामा ?

पार्टीमा शुद्धिकरण र सशक्तिकरण गर्दै आन्तरिक एकतालाई मजबुत बनाउने अपेक्षा गरिएको १४ औं महाधिवेशनको रापले झापालाई पनि छोएको छ ।
झापा जिल्ला कांग्रेसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाको गृह जिल्ला पनि हो । अघिल्लो महाधिवेशनमा पार्टी सभापतिको उम्मेद्वार बनेर सिटौलाले पार्टी भित्र आफ्नो गुटको उपस्थिती जनाईसकेका छन् ।

महाधिवेशन मुख्यत गुट उपगुट निर्माण गर्ने आफ्नो शक्ति प्रदर्शन गर्ने थलो पनि भएकाले यस पटकको महाधिवेशनमा सिटौलाको भुमिका के रहला ? भन्ने झापाबासी कांग्रेसजनमा खुल्दुली जागेको छ । सिटौलासंगै पार्टी केन्द्रिय पहुँच राख्ने प्रवक्ता विश्वप्रकाश शर्माको पनि गृह जिल्ला झापा नै हो । जिल्लामा मुख्यतया सिटौला र शर्मा को बलियो ? भन्ने बहस पनि उत्तिकै हुने गर्छ । सिटौलाले आफ्नै गुट बनाइरहँदा नेता शर्मा भने पार्टी सभापति शेर बहादुर देउवाका नजिकका पात्र भइसकेका छन् । यसर्थ झापामा सिटौला र शर्माको तुलना गरेर पार्टीको केन्द्रीय राजनीतिक भविष्यको आंकलन पनि गर्ने गरिन्छ । त्यसो त पार्टीको जिल्ला नेतृत्वमा सिटौला पक्षकै दबदबा छ । जिल्ला सभापति उद्धव थापा सिटौलाकै विश्वास पात्र मानिन्छन् । पार्टी नेतृत्व आफ्नो पक्षमा भएपछि सिटौलाले भातृ संगठन तथा शुभेच्छुक संगठनहरुमा पनि आफ्नो पकड राखेका छन् । नेपाल विद्यार्थी संघका दुई समानान्तर समिति जिल्लामा क्रियाशील छन् । त्यसबाहेक सबै भातृ संगठनहरुमा सिटौला पक्ष बलियो छ ।
सिटौलालाई आफ्नैको चुनौती
झापामा कांग्रेस नेता सिटौला पक्षलाई आफ्नै गुट व्यवस्थापनको चुनौती छ । जिल्लाको पश्चीम दक्षिण भुभाग ओगट्ने र राजनीतिक रुपमा नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ मा विशेष गरी सिटौला पक्षकै दुई गुट सक्रिय हुने संकेत यस बर्षको महाधिवेशनको सन्मुखमा देखा परेको छ । यस अघिको महाधिवेशनमा पनि सिटौला पक्षका दुई गुट क्षेत्रीय अधिवेशनमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा देखा परेका थिए ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ६ : २९ बजे