कार्यथलोबाट फर्किएपछि श्रीमान् कराउँछन्, ‘खै, एक कप चिया बनाऊ त ।’ श्रीमतीले हतार/हतार चिया बनाएर ल्याइदिन्छे । सोफामा ढल्किएर तात्तातो चियाको चुस्की लिदै गर्दा श्रीमान् सोध्छन्, ‘मेरो मोबाइलको चार्जर खोजेर चार्जमा राखिदेऊ ।’ कुनै आज्ञाकारी बालक झैं श्रीमतीले त्यसै गर्छिन् । त्यसपछि उनी बालबच्चाका लागि नास्ता बनाउन थाल्छिन् । श्रीमान् भन्छन्, ‘ए, टिभीको रिमोट कहाँ राख्यौं, एकछिन समाचार हेर्नुपर्यो ।’
श्रीमती जुठो भाँडार्वतन उठाइरहेकी छिन् । उनले श्रीमान्को कुरा सुनेर पनि नसुने झैं गर्छिन् । श्रीमान् कराउँछ, ‘टिभीको रिमोर्ट कहाँ छ भनेको ?’
श्रीमती झर्को मान्दै भन्छे, ‘आफैँ खोज्नुहोस्, म भ्याउँदिन ।’
श्रीमान् अरू चर्को स्वरमा कराउँछ, ‘तिमीले काम चाहि के गर्यौ ?’ श्रीमान्लाई लाग्छ घरव्यवहारको सम्पूर्ण भार आफूले बोकेको छ । घर भाडा, खानेकुरा, बालबालिकाको विद्यालय शुल्क, लुगाफाटो, बिजुली–पानीको शुल्क, चाडपर्व–मनोरञ्जन खर्च सबै आफैँले बन्दोबस्ती गर्नुपरेको छ । उनलाई झोक चल्छ, ‘घरमा बस्ने श्रीमतीसँग मेरो लागि त्यति सानो काम गर्ने फुर्सद् पनि हुँदैन ?’
हाम्रो पारिवारिक संरचनामा धेरैजसो श्रीमती, आमा वा दिदीबहिनीले घरधन्दाको काम सम्हाल्छन् । खासगरी भात–भान्साको सम्पूर्ण जिम्मेवारी श्रीमतीको भागमा छाडिन्छ । अर्थात् उनीहरू ‘गृहणी’ हुन्छन् । हुन त श्रीमतीलाई अवहेलना गरेर यस्तो जिम्मेवारी सुम्पिएको हुँदैन । खासमा महिलाहरू नै खानपानको काममा, घर सजावटको काममा, बालबच्चा हुर्काउने काममा पोख्त र सिपालु हुन्छन् । त्यसैले घर-धन्दाको काम उनीहरूलाई सुम्पिएर घर-व्यवहारको काम पुरुषहरूले सम्हाल्ने गर्छन् । वास्तवमा यो पारिवारिक तालमेल मिलाउनकै लागि गरिएको कामको बाँडफाँट हो ।
त्यसो त कतिपय दम्पती दुवै पेसाव्यवसायमा आबद्ध छन् र उनीहरू घरभित्रको काम पनि मिलिजुली गर्छन् । आखिर जे भए पनि पारिवारिक तालमेल मिलाउनका लागि श्रीमान् र श्रीमतीले आ-आफ्नो जिम्मेवारी, कर्तव्य पूरा गर्नैपर्यो ।
धेरैजसो अवस्थामा के देखिन्छ भने श्रीमान्हरू घर बाहिरको काम गर्छन् । पेसा–व्यवसायबाट राम्रै आयआर्जन गर्छन् । परिवारकै सुख र सम्पन्नताका लागि उनीहरू दिनरात खटिन्छन् । यद्यपि उनीहरू के सोच्छन् भने, परिवारको सम्पूर्ण भार आफूले मात्र थामिएको छ। अर्थात् घरखर्च जुटाउने, घर व्यवहार धान्ने र आयआर्जनको काममा लाग्नु मात्र काम हो ।
जबकि घरभित्रका ती तमाम काम गर्नु आफैँमा सहज हुँदैन । परिवारको स्वादअनुसार सागसब्जी तयार गर्नु, खाना पकाउनु, बालबच्चालाई र परिवारलाई ख्वाउनु, जुठोभाँडा सफा गर्नु, कुचो लगाउनु, लुगाफाटो मिलाउनु, बालबच्चालाई विद्यालयका लागि तयार गर्नु, श्रीमान्को सरसामान तयार गरिदिनु । खासमा गृहिणीले यन्त्र झैं यी सबै काम चुपचाप गरिरहेका हुन्छन् । तर श्रीमान् भन्छन्, ‘आखिर तिमी दिनभर के गर्छौ ?’
जसै लकडाउन भयो, श्रीमान्हरूको कामधन्दा ठप्प भयो । उनीहरू घरभित्रै बसे । बालबच्चा, श्रीमान्-श्रीमती सबै एकसाथ बसे । यस अवधिमा कतिपय श्रीमान्ले त्यही काम गरे, जो अरूबेला श्रीमतीले गर्थिन् । सम्भवत: उनीहरूले बुझे होलान्, घरधन्दाको काम सम्हाल्नु पनि सानो काम होइन ।
एउटी गृहिणीले घरधन्दाको काम कति कुशलतापूर्वक सम्हाल्छिन् ? परिवारको स्वास्थ्य र सुखका खातिर कसरी आफूलाई भुल्छिन् ? भात पकाउनु, भाँडावर्तन माझ्नु, कुचो लगाउनु, लुगा धुनु यी सबै अनुत्पादक झैं लाग्ने कामहरू हुन् ।
एउटी गृहणीको दैनिकी कस्तो हुन्छ ?
बिहान
आफू फ्रेस हुन नपाउँदै हतार–हतार चिया पकाउने । छोराछोरीका लागि नास्ता बनाइदिने । विद्यालयको लुगाफाटो तयार गरिदिनुपर्यो ।
चिया पिउँदै सब्जी केलाउने, काट्ने । खाना पकाउनुपर्यो । सबैलाई खाना पस्कने, ख्वाउने। छोराछोरीलाई स्कुलसम्म पुर्याउने।
दिउँसो
घरमा जुठोभाँडा माझ्न बाँकी नै छ । घरभरि फोहोर छ । ओछ्यान मिलाएकै छैन । सबै सफासुग्घर गर्दागर्दै समय बितेको पत्तो हुन्न । मैला लुगा धुनुपर्नेछ । साँझको लागि सागसब्जी जोहो गर्नुपर्नेछ । कामबाट फुर्सद मिलेमा फूल रोप्ने, स्याहार्ने वा घर सजाउन मन लाग्छ ।
साँझ
बालबच्चा विद्यालयबाट आइपुग्छन् । लुगाफाटो फेरिदिनुपर्छ । नास्ता बनाइदिनुपर्यो । होमवर्क गराउनुपर्यो । त्यसपछि बेलुकीको लागि खाना तयार गर्ने हतारो ।
राति
सबैलाई खाना दिएर जुठो भाँडावर्तन सफा गर्यो । कुचो लगायो । ओछ्यान मिलाइदियो । बालबच्चालाई सुतायो । त्यसपछि पनि कहाँ ढुक्कले बस्न पाउँछन् र ?
झ्याल-ढोका राम्ररी लगाएको छ-छैन ? खानेकुराहरू छोपछाप गरिएको छ-छैन ? धोएर सुकाएको लुगाफोटो बाहिर नै पो छ कि ?
सुत्ने समय भइसक्दा पनि कुनै काम पो बाँकी छ कि भनेर मन शान्त हुँदैन । घरभित्रका स-साना काम देखिँदैन । तर त्यही काम कुशलतापूर्वक सम्पन्न गर्न त्यति सहज छैन । बिहान उठेदेखि राति सुत्ने बेलासम्म पनि घरधन्दाको काम सकिएकै हुँदैन ।
तैपनि श्रीमान् भन्छन्, ‘तिमी काम चाहिँ के गर्छौ ?’
साथीसँगी भन्छन्, ‘घरमै बस्ने मात्र हो, अरू काम गर्दैनौ ?’
आफन्त-इष्टमित्र भन्छन्, ‘घरमा बसिरहँदा दिक्क लाग्दैन, केही काम गर्नु नि ।’