१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

‘नीति तथा कार्यक्रम अनुसार बजेट निर्माण भयाे भने सबै समस्याको हल हुन्छ’ – प्रमुख प्रशासकिय अधिकृत ओझा


७ असार २०७७, आइतबार  

0
Shares

gauradha nagar sava
गौरादह ७, असार/ स्थानीय तहको निर्वाचन परिणाम पछि राजनीतिक बेमेल र लामो समय सम्म प्रशासनिक त्रुटीको शिकार बनेको गौरादह नगरपालिका आफ्नो बार्षिक नीति तथा कार्यक्रमको छलफलमा छ ।
हिजोदेखि छैठौं नगर सभामार्फत आर्थिक बर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेर छलफलमा व्यस्त रहेको हो । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीको उपस्थितीमा नगर प्रमुख रोहित कुमार साहले नगरको एक वर्षे नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
नगर प्रमुख साहले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरमा स्वास्थ्य एप्स, पशुपालन, कृषि शिक्षा, नगरका गौरवका आयोजनालगायत पूर्वाधार विकास र अति विपन्न गरिब तथा लक्षित समुहको जीवनस्तर सुधार एवम् युवा स्वरोजगार तथा रोजगारी सिर्जना, विपद् व्यवस्थापन तथा सुशासन, खेलकुद विकास, खानेपानी, सूचना प्रविधि तथा सञ्चार एवम् धर्म संस्कृतिको जगेर्ना लगायतका सर्वाङ्गिण विकास गर्न लिएका नीति तथा कार्यक्रमहरु रहेको बताए ।
नगरसभामा नगर प्रमुख साहले कृषि, पशु र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखी उत्पादनमुखी कार्यक्रम ल्याएको बताए । उनले युवाहरुलाई स्वरोजगारमुलक, व्यवसायिक कृषि प्रणालीमा जोड, नगरमा बाली राहत कोष, घाँसको श्रोत केन्द्र स्थापना, नगरबाट सबै प्रकारका करहरुमा केही वर्षलाई छुट, पशु हित कोष स्थापना, नगर शिक्षा ऐन तयारी गरी लागु गर्ने, सांस्कृतिक सङ्ग्रालय स्थापना गर्ने, नगरमा शव वाहन सञ्चालन गर्ने, प्रत्येक वडामा योग तथा फिटनेश सेन्टर स्थापना गर्ने, आँखा अस्पतालहरुसंग समन्वय गरेर निशुल्क उपचार गर्ने व्यवस्था मिलाउने, सबै स्वास्थ्य चौकीहरुमा वर्थिङ सेन्टर स्थापना गर्ने, विपन्न वर्गलाई निशुल्क टयुवल वितरण गर्नेलगायतका मुख्य योजना तथा नीतिहरु रहेको बताए ।
नगर उपप्रमुख गीता भेटवालले स्वागत गरेको कार्यक्रममा मन्त्री कार्की, नेपाली कांग्रेस महासमिति सदस्य अनिल कृष्ण प्रसाई, नेकपाका जिल्ला नेता मदन अधिकारी, जिल्ला समन्वय समिति सदस्य चन्द्र सुब्बा, नेकपा गौरादह नगर अध्यक्ष मित्रदेव काफ्ले, नेकाका नगर सभापति यादवराज सेढाई, राप्रपाका नगर अध्यक्ष शान्तिराम नेपाल, जसपाका अध्यक्ष नितेश्वर झा, गौरादह उद्योग वाणिज्य संघका अध्यक्ष जेवी कार्कीलगयातले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा प्रशासकिय अधिकृत खेम ओझा, कृषि क्याम्पसका प्रमुख, वर्डा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यहरु, कर्मचारी तथा सुरक्षाकर्मीलगायतको उपस्थिति थियो ।
गौरादह नगरमा नगर प्रमुख नेपाली कांग्रेसले र उपप्रमुखसहित बहुमत वडाध्यक्ष तत्कालिन नेकपा एमालेले निर्वाचन जिते लगत्तैदेखि त्यहाँ राजनीतिक बेमेलका कारण समस्या रहँदै आएको छ । तत्कालिन प्रमुख प्रशासकिय अधिकृतले समेत तटस्थ र जिम्मेवारीपूर्वक भुमिका निर्वाह नगरीदिँदा बर्षेनी गौरादह नगरको बार्षिक नीति कार्यक्रम तथा बजेटनै विवादित बन्दै आएको थियो ।
यस पटकको छैठौं नगर सभा हुँदै गर्दा भने प्रमुख प्रशासकिय अधिकृतका रुपमा झापामा यस अघि स्थानीय विकास अधिकारी ( एलडीओ) समेत भईसकेका खेम ओझा छन् । कार्यकुशलता , दक्षता र अनुभवका आधारमा यस बर्षको नीति कार्यक्रममा ओझाले निक्कै सशक्त भुमिका निर्वाह गरेका कारण यो बर्षको नीति कार्यक्रम अनुसारकै बजेट तय हुने र गौरादहमा प्रशासनिक तथा विकासको गतिबिधि चुस्त र पारदर्शी हुने अपेक्षा नगरबासीले राखेका छन् ।
सञ्चारकर्मीहरुसंगको विशेष कुराकानीमा प्रमुख प्रशासकिय अधिकृत ओझा सबैले इमान्दारपूर्वक आआफ्नो कर्तव्य र जिम्मेवारीको बोध गर्ने र स्वच्छ आत्मा राखेर काम गर्न चाहेमा गौरादहमा रहेका समस्याहरुको हल गर्दै नयाँ स्वरुपमा विकासले गति लिन सक्ने बताउँछन् । यस बर्षको नीति कार्यक्रम अनुसार बजेट बाँडफाँडमा सबैले इमान्दारिता देखाउनुपर्ने उनको सुझाव छ ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ७ : ४१ बजे