६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

पूर्वाञ्चल दैनिकले गरिदियो झापाका १०१ पत्रकारको कोरोना बीमा


३० जेष्ठ २०७७, शुक्रबार  

0
Shares

20200612_185959

बिर्तामोड ३०, जेठ /
झापाका १०१ जना सञ्चारकर्मीकोे शुक्रबार पूर्वाञ्चल दैनिकले कोरोना उपचार बीमा गरिदिएको छ ।

जिल्लाकै अग्रणी सञ्चार संस्था पूर्वाञ्चल दैनिकले आफ्नो रजत वर्षको उपलक्ष्यमा सञ्चारकर्मीकोे कोरोना बीमा गरिदिएको पत्रिकाका प्रधान सम्पादक एकराज गिरीले जानकारी दिए ।

पेशागत बीमा समाज बिर्तामोड (आइपीएस) संगको सहकार्यमा पूर्वाञ्चल दैनिकले सञ्चारकर्मीकोे बीमा गरेको हो ।

पेशागत बिमा समाज बिर्तामोडका अध्यक्ष सन्तोष उप्रेतीलाई एक कार्यक्रमका वीच पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक गिरी र व्यवस्थापक चन्द्रकान्त ढकालले बीमाका लागि १०१ सञ्चारकर्मीकोे विवरणसहित रकम प्रदान गरेका थिए ।

आईपीएसका अध्यक्ष उप्रेतीका अनुसार बीमा एक लाख रुपैयाँको हुने छ । बीमा गरिएका सञ्चारकर्मीमा कोरोना संक्रमण देखिए एक लाख रुपैयाँ बीमा कम्पनीले उपलब्ध गराउने छ । बीमा भएको १४ दिन पछि मात्र दाबी लागू हुने बताइएको छ ।

जिल्लाका अग्रज तथा पछिल्लो पुस्ताका सक्रिय सञ्चारकर्मीहरुको बीमा गरिएको हो । जिल्लाको अग्रणी र ठूलो सञ्चार संस्था पूर्वाञ्चल दैनिकले कोरोना महामारीका वीच सामाजिक उत्तरदायित्व बहन गर्दै जिल्लाका सञ्चारकर्मीको सुरक्षालाई मध्यनजर गरी बीमा गरिएको बताइन्छ ।

नेपाल पत्रकार महासंघ झापा शाखालाई समेत यो कार्यमा सहयोग पुर्याउन आफ्नो रजत वर्षको उपलक्ष्यमा पूर्वाञ्चल दैनिकले १०१ सञ्चारकर्मीको कोरोना बीमाको दायित्व वहन गरेको प्रधान सम्पादक गिरीले बताए ।

सेवालाई नै प्राथमिकता दिएको आईपीइसले पूर्वाञ्चलसंग यस कार्यमा सहकार्य गरेकोमा अध्यक्ष उप्रेतीसहित सिंगो टिमलाई कार्यकारी व्यवस्थापक होमप्रकाश अधिकारीले धन्यवाद ज्ञापन गरे । केही समय अघिमात्र स्थापित आईपीएस सामाजिक उत्तरदायित्व वहनका साथ अघि बढेको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश समिति सदस्य रेजीना रोदनले महामारीका बेला सञ्चार माध्यम आफै संकटमा परेको बेला पूर्वाञ्चल दैनिकले पत्रकारको संभावित आर्थिक भार बहनका लागि गरेको योगदान प्रशंसनीय रहेको बताइन् ।

पत्रकार महासंघ झापाका सहसचिव केशव भट्टराईले १०१ पत्रकारको कोरोना बीमा गरिदिएर पूर्वाञ्चलले स्तुत्य कार्य गरेको बताए ।

आइपीएसका अध्यक्ष उप्रेतीले अकडाउनको साता अघि जन्मिएको संस्था सेवामुखी भावनाले अघि बढेको बताए ।

बिर्तामोड उद्योग वाणिज्य संघको कार्यालयमा भएको कार्यक्रममा पत्रकार महासंघ झापाका कार्यसमिति सदस्य रमेश तिवारी, सन्तोष शर्मा, पत्रकार अनिल ढुंगाना,पूर्वाञ्चल दैनिकका सह सम्पादक सुरेन्द्र भण्डारी, पूर्वाञ्चल डेली डटकमका संयोजक नरेन्द्र ढकाल, उपसम्पादक तुलसीप्रसाद निरौलाको सहभागिता थियो ।

त्यस्तै आईपीएसको तर्फबाट अध्यक्ष उप्रेती, सचिव चन्द्रप्रकाश बाँस्कोटा, कोषध्यक्ष गणेश मगर, सदस्यहरु दीपक पोख्रेल, प्रशान्त राजवंशी, सुमन विष्ट, सुशील थापाको सहभागिता थियो ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार  १ : १६ बजे