१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

भण्डारी दम्पतीको सहयोगमा आरम्भले दियो राहत


१७ जेष्ठ २०७७, शनिबार  

0
Shares

20200530_101511

रतुवामाई १७, जेठ / मोरङको रतुवामाई नगरपालिका वडा नम्बर १० का विपन्न परिवारलाई आरम्भ नाट्य डबली कला साहित्य मञ्चले राहत वितरण गरेको छ ।

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मुलुकमा लकडाउन घोषणा भएपछि दैनिक ज्यालादारी गरेर छाक टार्ने परिवारमा बिहान, वेलुका खान समस्या हुँदै आएको बेला आरम्भले राहत वितरण गरेको हो । आरम्भको यो अभियानलाई विभिन्न दाताहरुले सहयोग गर्दै आएका छन् ।

यसअघि पनि विभिन्न दाताहरुको सहयोगमा आरम्भले रतुवामाईका विपन्न घरपरिवारलाई राहत वितरण गरेको थियो । शुक्रबार अमेरिकाको कान्डुक सहरमा रहेका शोभा भण्डारी र उहाँको पति डिल्ली भण्डारीको सहयोगमा आरम्भले दैनिक ज्यालादारी गरी आफ्नो गुजारा चलाउँदै आएका अति विपन्न परिवारको तथ्याङ्क संकलन गरी राहत वितरण गरेको हो । भण्डारी दम्पतीको सहयोगमा आरम्भले ३३ घरपरिवारलाई प्रति परिवार २० किलो चामल, एक किलो दाल, एक किलो नुन, एक पोका खाने तेल, एक पोका स्वायविन, लुगा धुने र नुहाउने गरी दुई वटा साबुन वितरण गरेको हो । जागरुक युवाहरु संगठित भई संस्थाले विषम परिस्थितिमा स्वतःस्फूर्त सहयोग गर्दै आइरहेको आरम्भका अध्यक्ष समिर सुवेदीले बताउनुभयो ।

कोरोना भाइरस संक्रमितको संख्या वृद्धि भएसँगै जोखिम बढेपछि संस्थाले थप सतर्कता अपनाउँदै दीनदुखीहरुको घरैमा पुगेर खाद्यसामग्री उपलब्ध गराएको पनि अधयक्ष सुवेदीले बताउनुभयो । राहत वितरण कार्य सहज हुन सकोस् भन्ने मान्यताले अहिले दाताहरुबाट उपलब्ध भएको रकम पारदर्शी तवरले खर्च भइरहेको समेत उहाँले बताउनुभयो । संकटको घडीमा विपन्नलाई राहत वितरण गर्दा सामाजिक दूरी र आवश्यक सुरक्षा विधि अपनाइएको समेत अध्यक्ष सुवेदीले बताउनुभयो ।

संस्थाले राहत सामग्री वितरणसँगै कोरोना भाइरसबारे जनचेतना अभिवृद्धि गर्ने तथा लकडाउनलाई पूर्ण रुपमा लागु गर्ने कार्यमा पनि युवाहरुलाई सक्रिय बनाउँदै आइरहेको भन्दै १० नम्बर वडा अध्यक्ष टंक ढकालले संस्थाप्रति कृतज्ञता प्रकट गर्नुभयो । उक्त अवसरमा आरम्भले सहयोग दिने दाताहरुलाई सम्मानसमेत गरेको थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार  ४ : ३२ बजे