१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मुसहर समुदायकाे पक्कीको घर चिटिक्क


१७ बैशाख २०७७, बुधबार  

0
Shares

20200429_223124

लक्ष्मी उप्रेती

मेचीनगर, १७ मंसिर / झापा मेचीनगर ११—का मुसहर समुदाय जनता आवास कार्यक्रम अन्तर्गत घर पाएपछि निक्कै खुशी छन् । फुस्को घर उजारेर सरकारले पक्की घर बनाइदिएपछि उनीहरु सधैको घाम पानीबाट जोगिएको बताउँछन् ।

नीलो जस्ताको छानो, वरिपरी इटाको गारो, झ्याल ढोका मजवुत काठको हेदैं चिटिक्क देखिने र एकै खालका घर । अनि त्यही घर वरिपरि खेलिरहेका छन् मुसहर समुदायका स साना केटाकटी । हिजो सम्म खर र परालको छानो, वरिपरी सुन्ठीको वेरा, घामपानी बाहिरै जान नसक्ने घरैमा बडो दुःख कष्टका साथ जीवन गुजार्दैं आएका मेचीनगरका दलित मुसहर समुदाय यस्तो घर पाउदा अहिले निक्कै दङ्ग छन र भन्छन— ‘दशकपछि पक्कीको घरमा बस्ने सपना बल्ल पुरा भयो ।’

१ नम्बर प्रदेश सरकारको जनता आवास कार्यक्रम अन्तर्गत झापाको मेचीनगरमा ६ महिनाअघि घर निर्माण गर्ने कार्य शुरु भएकोे थियो । अघिल्लो वर्षको मंसिर २ गते मेचीनगर—११ स्थित गोजावस्तीमा संघीय सांसद सुरेन्द्रकुमार कार्कीले आवास निर्माण कार्यक्रमको शिलान्यास गरेका थिए ।

नेपाल सरकारले सुचिकृत गरेको दलित, अल्पसंख्यक लोपोन्मुख जातिमध्येको घर बनाएर आवास उपलव्ध गराउन जनता आवास कार्यक्रम शुरु गरे पछि निर्माण कार्य धमाधम अघि बढेको थियो । निर्माण शुरु भएको ६ महिनामा सम्पन्न भए पश्चात घर पाउँदा अहिले त्यहाँका मुसहर समुदायमा खुशीको सीमा नै छैैन ।

सांसद कार्कीले त्यसबेला स्थानीय ढाक्रु मुसहरको घरको शिलान्यास गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । उसवेला र अहिलेको घरका बारेमा बताउदैं ढाक्रुकी श्रीमती सञ्जा मुसहर भन्छिन् —‘हाम्रो सवै घर लडी सकेको थियो । आठ आठजनाको परिवार बसन पनि गाह्रो थियो । पानी आएका बेला घर नै पोखरी हुन्थयो घर भित्र पानी जमेर । बस्न सुत्न ज्यादैं समस्या थियो । सरकारले घर बनाइदिएर यो दुःखकष्टबाट पार गरेको छ । हामी धेरै खुशी छौ । यो देशमा पनि सरकार रहेछ भन्ने बल्ल भएको छ । ’

४५ वर्षीया सञ्जाको आठ जनाको परिवारले चुहिने छानो र भत्केको टाटी बेराभित्र नै धेरै हिउद र वर्खा विताएको दुखेसो व्यक्त गरिन् । पानी आउदा पनि समस्या थियो, घाम लाग्दा पनि उनले भनिन् —‘पानी परेका बखत त रातभरि सुत्न पाईदैनथ्यो चुहिएर यी नै भएका ओढने ओछ्याउन समेत भिज्थे अनि रातभर घरमै भएका छाता र घुम ओढेर घरभित्रै रात कटाउनु पर्ने बाँध्या उनको थियो ।’

स्थानीय ६० वर्षीया हिलो मुसहरकोे पीडा पनि सञ्जाको भन्दा कम थिएन् । आफ्ना ५ जना सन्तानका साथ निक्कै दुःख गरेर झुुप्रो घरमा बस्दै आएकी हिलोका श्रीमान १० वर्ष अघि नै मृत्यु भएको थियो । श्रीमानको मृत्युपछि स साना केटाकेटी हुर्काउनु बढाउनु उनको काँधमा थियो । अहिले सरकारले घर बनाएर हस्तानतरण गरेपछि उनको परिवार घामपानीबाट जोगिएको छ ।

‘श्रीमान पहिलयै विते घर पनि झुप्रो थियो यस्तो घर बनाउन सकिन्छ भन्ने त कल्पना नै गरेको थिईन—‘अहिले सरकारले विना पैसामा बनाइदियो कति खुशी लोगके छ भनेर साध्यै छैन् । ’

आफ्नो घर तयार नहुँदा निक्कै सास्ती व्यहोर्नु परेको ३७ वर्षीय वाङ्ठु मुसहरको भनाई छ । धेरै हिउद वर्खा फुस्को र पानी चुहिने घरमै विताउदै आएपनि अहिले पक्कीको घर पाएपछि यी सवै समस्याबाट मुक्त रहेको उनले बताए । उनी भन्छन —‘ हावाहुण्डरी आयो भने घरनै उडाएर लैजान्थयो, घरभित्र भएका सामान सवै भिज्थे, दैनिक ज्यालामजदुरी गरेर ल्याएको पैसाले थोरै अन्तपात किनेर राखिन्थयो तर, पानी आएपछि सवै भिज्थे, कति दिन त भोकै पनि बसेका थियौं । घर पाएपछि यो सवै संकट टरेको छ यो सरकार त हामी जस्ता दीनदुःखीका लागि त भगवन नै भएर प्रकट भयो । ’

१ नम्बर प्रदेश सरकारले झापाकोे निर्वाचन क्षेत्र १ को विभिन्न स्थानमा जनता आवस कार्यक्रम अन्तर्गत विपन्न परिवारलाई घर बनाईदिने बाचा गरेर निर्माण कार्य शुरु गरेको थियो । निर्माण कार्य शुरु भएको ६ महिनामा ती परिवारले भने जस्तै घर पाउदा त्यहाका दलित समुदायका सदस्यहरुले खुशी व्यक्त गरेका छन् । ६ महिनाअघिसम्म दुःख कष्टका साथ सानो र झुप्रो घरमा बडो दुःखकष्टका साथ जीवन गुजार्दै आएका मुसहर समुदायले ६ महिनापछि ५ फुट वरण्डा, दुइवटा कोठासहित जस्तापाताको छानो भएको घर प्राप्त गरेका छन् ।

कार्यक्रम अन्तर्गत १ नम्बर प्रदेशभरि ५५ वटा र मेचीनगरको वडानम्बर ११ मा ५ वटा घर निर्माण गर्ने योजनासहित आवस कार्यक्रम शुरु गरिएको थियो । मेचीनगरका ३, ७, ९, ११, १३ र १५ नम्बर वडामा गरेर ३३ वटा घर निर्माण गरिएको छ ।

एक घर बराबर झण्डै साढे तीनलाख रुपैयाँको लागत खर्च भएको छ । शुरुमा एउटा घरको लागत ३ लाख ३२ हजार ५ सय अनुमान गरिएपनि निर्माण कार्य सम्पन्न हुदाँ साढे तीनलाख सम्म खर्च पुगेको शहरी विकास डिभिजन कार्यालय इलामका ओभरसियर प्रज्वल साहले जानकारी दिए ।

सवै वडामा ६० दिनभित्रमा निर्माण कार्य सम्पन्न गरिने लक्ष्यसहित काम थालनी गरिएको थियो । कार्यक्रम अन्तर्गत नगरपालिकामा ३३ वटा तथा गाउँपालिकामा ३० वटा यस्ता घर निर्माण योजना अघि सारिएको थियो । क्षेत्र नम्बर १ अन्तर्गत भद्रपुर नगरपालिकाको ९ र १० नम्बर वडामा ६ वटा बुद्घशान्ति गाउँपालिकाको ४, ६ र ७ नम्बर वडामा १६ वटा गरी कुल ५५ वटा घर निर्माण हुने तथा त्यस्ता घर निर्माणका लागि विवादरहित जग्गा उपलब्ध हुनुपर्ने उद्घाटनका क्रममा सांसद कार्कीले बताएका थिए ।

‘वेघरवारलाई घर घडेरी, बेराजगारलाई काम, अन्यायको विरोध गछौं नेकपा हो नाम ’ भन्दै अब हरेकले सुरक्षितरुपमा बास बस्न पाउनु उस्को नैसर्गिक अधिकार रहेको भन्दैं यहि नारा साकार पार्न समेत तोकिएकै समयमा काम सम्पन्न भएको उनको भनाई छ । मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेतीले सरकारको आफ्ना हरेक नागरिकलाई गास, वास र कपासको उचित व्यवस्था गर्नु मुख्य दायित्व भएकाले आफ्ना नागरिकलाई बस्ने घर निर्माणमा १ नम्बर प्रदेश सरकार जुटेको प्रतिक्रिया दिईन् । उनले स्थानीय सरकारको हैसियतले नगरक्षेत्रभित्र वेघरवार भएकालाई बस्ने उचित व्यवस्था नगरपालिकाले मिलाउने समेत जानकारी दिईन् ।

सरकारको आफ्ना हरेक नागरिकलाई स्वास्थ्य शिक्षा र गास, वास र कपासको उचित व्यवस्था गर्नु मुख्य दायित्व हो । यो दायित्व पुरा गर्न समेत सरकार लागि परेको जनता आवास कार्यक्रमले समेत पुष्टि गर्दछ । सरकारले यस्ता रचनात्मक कामलाई अघि बढाएर सरकारप्रति विश्वास गर्ने आधारहरु अझै खडा गर्नुपर्ने र सरकार छ भन्ने अनुभूत गराउन सक्नुपर्छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ४ : ५० बजे