१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

चिया उद्योग आजदेखि सञ्चालनमा


७ बैशाख २०७७, आइतबार  

0
Shares

20200419_180025

गाैरीगंज ७, बैशाख / सरकारले लगाएकाे लकडाउनले ठप्प भएका झापाका सीटीसी चिया उद्योग आज आईतवार देखि खुलेका छन्।

जिल्ला प्रशासन कार्यालय झापामा बिहीबार बसेको बैठकमा चिया उद्योग खुलाउने विभिन्न बुँदामा सहमति पछि जिल्लाका चिया उद्योगहरू खुलेका हुन् ।
झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरको नेतृत्वमा बसेको बैठकमा चिया उद्यमी तथा मजदुर सङ्गठनका प्रतिनिधिहरूको उपस्थितिमा लकडाउन उल्लंघन नगर्ने सर्तमा पाँच बुँदे निर्णय गरिएको थियाे ।

जिल्लाका चिया उद्योगहरू सञ्चालन, व्यवस्थापन तथा नियमनका लागि स्थानीय तहहरूसँग समन्वय गर्ने, सामाजिक दूरी कायम गरी चियाकाे पत्ती टिप्ने, कामदारहरूलाई हात धुने साबुन, स्यानिटाइजर, मास्क अनिवार्य व्यवस्था गरी प्रयोग गराउने, चिया ढुवानी गर्ने गाडीमा ब्यानर राख्ने र चिया बगानमा हरियो पत्ती तौल गर्दा भिडभाड हुन नदिने निर्णय भएको नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेशकुमार मित्तलले जानकारी दिए।

साथै कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि तोकिएको मापदण्डबमोजिम चिया उद्योग सञ्चालन भएको वा नभएको बुझ्न अनुगमन समितिसमेत गठन गरिएको छ। समितिमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड कार्यालय बिर्तामोड, झापा उद्योग संघ, नेपाल चिया उत्पादक संघ र चिया मजदुर ट्रेड युनियनका प्रतिनिधि रहने निर्णय भएको चिया उत्पादक संघका सल्लाहकार जेपी शर्माले जानकारी दिए।

जिल्लामा ३२ वटा निजी, चार वटा सहकारी, एउटा निगम गरी ३७ वटा सीटीसी चिया उद्योग छन्। चैत ११ देखि हालसम्मको लकडाउनले जिल्लामा करिब ३० देखि ३५ लाख तयारी सीटीसी चिया, डेढ करोड किलो हरियो चिया पत्ती नष्ट भएको चिया उत्पादक संघका अध्यक्ष अग्रवालले जानकारी दिए।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  १२ : २३ बजे