३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

सिरुवा नमनाऔँ : महामारीमा ज्यान जोगाऔँ, अनिकालमा बीउ जोगाऔँ


१९ चैत्र २०७६, बुधबार  

0
Shares

indrasingh
इन्द्रसिंह राजवंशी
चैत , १९ /
आदिवासीहरुको महान पर्व सिरुवा नजिकिदैँ गर्दा राजवंशी समाज विकास समितिका अध्यक्ष पुकार राजवंशीले सामाजिक सञ्जालमा पोष्ट गरेका रहेछन् —यस वर्ष सिरुवा मनाउने कि नमनाउने ? वैश्विक रुपमा कोरोना भाइरसले सिंगो मानव सभ्यतालाई आक्रान्त बनाइरहेको बेला यो प्रस्ताव राखिरहनु म उचित देख्दिनँ । सांस्कृतिक सम्पदाको रुपमा रहेको सिरुवा यस वर्ष नमनाउँदा चाडपर्व नै समाप्त भएर जाने होइन र जाँदैन पनि । यतिखेर अहम् सवाल छ — कोरोनाको महामारीबाट आफू कसरी बाँच्ने अनि घरपरिवार, समाज, देश र विश्वलाई कसरी बचाउँने ? अहिले हामी कोरोना महामारीको तीब्र चपेटमा छौं । कोरोनाको महामारीबाट ज्यान गुमाउनेको आँकडा बढेको बढ्यै छ । यसको रोकथामको लागि अचुक उपाय खोज्न सकिएको छैन । कोरोनाबाट लुक्नु र भाग्नुको विकल्प छैन । विश्वको महाशक्ति राष्ट्र अमेरिका र अन्य शक्ति राष्ट्रले समेत कोरोनासामु घुँडा टेकिसकेका छन् । जताततै भयावह र त्राहिमाम छ । यो अबस्थामा सिरुवा कार्यक्रम गर्ने दुस्साहस गर्नु आफ्नो खुट्टामा आफै बन्चरो हान्नुसरह हो ।
दिल्लीस्थित मुस्लिम संस्था तबलिगी जमातको मुख्यालय रहेको निजामुद्धिनमा धार्मिक भेलाकोे यतिबेला सिंगो भारतभरि ब्यापक आलोचना भइरहेको छ । त्यस भेलाले निम्त्याएको दुस्परिणामबाट हामीले पाठ सिक्न सक्नु पर्छ । कोरोना संक्रमणको जोखिम कम गर्न भारत सरकारले देशभरि लकडाउन लागु गरिरहँदा निजामुद्धिनमा २ हजारभन्दा बढी मुस्लिम भेला भएका थिए । त्यस भेलामा २ सय ५०जना बिदेशी पनि आए । भेलामा आएकामध्ये ७ जनाको कोरोनाको संक्रमणबाट मृत्यु भइसकेको छ । अन्य धेरै संक्रमित छन् । धर्म परम्परा ,संस्कार, संस्कृति मान्ने हँुदा त्यस्तो अप्रिय घटना हामीकहाँ घट्दैन भनेर भन्न सकिन्न ।
नेपालसहित विश्वमा पटकपटक यस्ता महामारीको सामना मानव जातिले गर्दै आएका छन् । अहिलेसम्मका सबै महामारीमाथि हामीले विजय हासिल गरेका छौं । यो कोरोनाको महाब्याधीमाथि पनि मानव जातिको जित अवस्य हुनेछ ।तर, धैर्य र संयम गर्न सक्नुपर्छ ।
यो परिस्थितिमा म रामायणकी एक पात्र ताडकाको छोटो प्रसंग राख्ने अनुमति चाहन्छु ।सुकेतु यक्षकी पुत्री र सुड नामक राक्षसकी पत्नी ताडकाले मानव जीवनलाई तहसनहस पार्न खोजेकी थिईन् । अयोध्याकोे नजिक रहेको सुन्दर वनमा आफ्नो पति र दुई पुत्र सुबाहु र मारीचका साथ उनी बस्दै आएकी थिइन् । उनको शरीरमा हजार हात्तीको शक्ति थियो । त्यही वनमा विश्वमित्रसहित अनेक ऋषि—मुनि पनि बस्ने गर्थे । उनीहरुको जप, तप र यज्ञमा ती राक्षसगणले सधैँ बाधा दिन्थे । विश्वमित्रले राजा दशरथसँग अनुरोध गरी राम र लक्ष्मणलाई आफूसँग सुन्दर वन ल्याए । रामले ताड़कालाई संहार गरी विश्वमित्रको यज्ञको पूर्णाहुतिको दिन सुबाहुको पनि बध गरिदिए । मारीच उनकोे बाणले घाइते भएर टाढा दक्षिणी समुद्र तटमा गएर खसे । ताडकाले जसरी यतिखेर कोरोनाले आतंक सिर्जना गरिरहेको छ । रामले ताडकाको बध गरेजस्तै मानव जातिले पनि कोरोनाको संक्रमणलाई रोकथाम र नियन्त्रण पक्कै गर्छन् ।
पूर्वी नेपालमा बसोबास गर्ने राजवंशी, ताजपुरिया, धिमाल, गन्गाई,चौधरीलगायतका आदिवासी समुदायका जातिले महान पर्व सिरुवा धुमधामले मनाउने गर्छन् । नयाँ वर्षको बैशाख १, २ र ३ गते उनीहरुले पानी, हिलो र रङ खेलेर यो पर्व मनाउने चलन छ । सिरुवा पर्व हर्षोल्लासले मनाउने क्रममा झापा र मोरङमा विभिन्न सांस्कृतिक र सांगीतिक कार्यक्रम हुँदै आएको छ । गत वर्ष झापा र मोरङका करिव २० ठाउँमा सिरुवा कार्यक्रम आयोजना गरियो । त्योसँगै विभिन्न ठाउँमा सिरुवा मेला पनि वर्षौदेखि लाग्ने गरेको छ । मोरङको सुनवर्षी, काँटा, दलेली, पटियापराजस्ता ठाउँमा बैशाख १ देखि ७ गतेसम्म लगातार सिरुवा मेला लाग्ने गरेको हो । सयौंको संख्यामा त्यस्ता मेलामा जमघट हुन्छ । झापाका आदिवासीहरुले मेला घुमेर दशैं पर्वलाई मनाएजसरी मोरङकाहरुले त्यसरी नै सिरुवा मान्ने गरेका छन् ।
सरकारले कोरोनाको जोखिम न्यूनीकरण गर्न ८ दिने लकडाउनलाई बढाएर १६ दिन पु¥याएको छ । चैत्र २६ गते सकिने लकडाउन फेरि पनि थप्नु पर्ने आबश्यकता पर्न सक्छ । यदि लकडाउन नथपिएपनि कृपया यस वर्ष कसैले पनि सिरुवा पर्व नमनाऔँ । घरमै बसौँ, सुरक्षित बसौँ । सिरुवा खेल्ने, मेला घुम्ने , रमाइलो गर्ने गर्दै नगरौँ । प्रहरी प्रशासनलाई छलेर गाउँतिर सिरुवा खेल्ने, घाटोसरी मनाउने प्रयास कदापि नगरौँ । बरु उनीहरुसँग सहयोग मागेर कसैले सिरुवा कार्यक्रम गर्न लागेको छ भने, सिरुवा मेला लगाउन आँटेको छ भने त्यसलाई बन्देज गरौँ । मेजमानी नजाऔँ । पार्टी खाने बानी बन्द गरौँ । यस वर्ष होली मनाएनौँ । चैते छठ, चैते दशैं, रामनवमीजस्ता पर्व पनि अर्को वर्षको लागि थाँती राखे । हामीले पनि सिरुवा पर्वलाई आगामी वर्षका लागि साँचौँ । कोरोनाबाट ज्यान जोगाउन सक्यौँ भने आगामी वर्ष परिवार र आफन्तसँग बसेर सिरुवा भब्य मनाउँला । त्यसमै म, तपाई , हामी सबैको भलो हुनेछ । मानव जगतको कल्याण हुनेछ ।
लामो लकडाउनले निम्नदेखि मध्यम वर्गलाई अभाव भएको छ । खाद्यान्न अभाव भएर भोकमरी हुन सक्छ । यस्तो बेला सिरुवा पर्वमा खर्च नगरौँ । नयाँ वर्ष २०७७ र सिरुवा पर्वको अवसर पारेर घरमै बसी शुभकामनासहित कोरोनाबाट बच्ने उपायका बारे साथीभाइ, इष्टमित्र, शुभचिन्तकलाई सन्देश प्रवाह गरौँ । एउटा भनाइ छ —महामारीमा ज्यान जोगाऔँ, अनिकालमा बीउ जोगाऔँ । अहिले दुवै विषम परिस्थिति छ ।त्यसकारण सजग र सतर्क बनौँ । अन्त्यमा, नयाँ वर्ष २०७७ र सिरुवा पर्वले सम्पूर्ण मानव जगतलाई अहिलेको महामारीबाट मुक्त दिलाउँदै स्वस्थ र निरोगी बनाओस् भन्ने हार्दिक शुभकामना !

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ६ : ०६ बजे